अपडेट 
२०८० श्रावण ७, आईतवार ०७:१८

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नम्बर– २ मा एकजना महिलालाई शनिबार राति गोली हानी हत्या गरिएको छ ।

नेपालको सर्वाधिक होँचो जमिन रहेको मुखियापट्टी मुसहरनियाको वडा नम्बर –२ को बेल्ही टोलमा बस्ती भन्दा करीब ५० मिटर उत्तर पूर्वको सडकमा महिलालाई गोली हानिएको स्थानीय वासिन्दाहरुले जनाएका छन् । मृतक महिलाको पहिचान खुल्न सकेको छैन् । बेल्ही टोलकी महिला नभएको स्थानीयहरुको दाबी छ । घटनास्थलमा पुगेका धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जनाए अनुसार घटनास्थलमा २ वटा गोलीको खोका फेला परेको छ । स्थानीयहरुका अनुसार राति करीब सवा ८ बजे गोली चलेको आवाज आएको थियो । महिलाको शव नेपाल र भारतको सीमा स्तम्भकै सामुने रहेको स्थानीय प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

घटनास्थलमा भारतीय प्रहरी पनि पुगेका छन् । प्रहरीका अनुसार घटनामा २ वटा मोटरसाइकल प्रयोग भएको छ । स्थानीय वासिन्दाहरुले एउटा मोटरसाइकलमा २ जना सवार रहेको र भारततर्फ जाने बाटोबारे सोधेका थिए । महिलाको पहिचान भारतीय नागरिकको रुपमा खुले शव भारतीय प्रहरीलाई जिम्मा दिने र नेपालीको रुपमा पहिचान भए पोष्टमार्टमका लागि जनकपुरधाम ल्याइने प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News