अपडेट 
२०८० श्रावण ८, सोमबार ०६:०२

भारतमा अत्यन्त चर्चित बनेका सीमा हैदर र सचिन मिणाको जोडीको कारण भारतसित सीमा जोडिएको धनुषा र महोत्तरीको सीमामा कडाइ गरिएको छ ।

पाकिस्तानी नागरिक सीमा हैदर चार जना छोराछोरीसहित काठमाण्डुबाट भिठ्ठामोड भन्सार हुँदै सहज रुपमा भारत प्रवेश गरेपछि सीमामा कडाइ गरिएको छ । सीमा क्षेत्रमा दिएको ‘लाइन’पनि पूर्णरुपमा बन्द गरिएको छ । आलु र प्याजमासमेत रोक लगाइएको छ । झोलामा ल्याइने आलु,प्याजसमेत जफ्त गर्न थालिएको स्थानीय बासिन्दाहरुले जनाएका छन् ।

भारतीय सीमावर्ती बजारबाट नेपालीहरुले दैनिक उपभोग्यका वस्तुहरु ल्याउने गरेका छन् । सर्वसाधारणले ल्याउने मालसामानको मात्र जाँच नभइ मानिसहरुको समेत कडाइका साथ जाच गर्न थालिएको छ । भारतीय सीमामा जाने नेपालीहरुलाई अनिवार्य रुपमा परिचयपत्र र भारतीय नागरिकको आधार कार्ड देखाउन भनिएको छ । पहिचान प्रष्ट नहुनेलाई नेपाली भूभागबाट भारतमा र भारतबाट नेपालमा आउजाउ गर्न रोक लगाइएको छ ।

सीमावर्ती भारतीय बजार सुरसण्डस्थित टुडे सहकर्मी राजु सोनीका अनुसार पाकिस्तानी नागरिक सीमा हैदरलाई चार बच्चासहित सचिन मिणाले भिठ्ठामोड नाका हुँदै सहजै उत्तरप्रदेशको नोयडा पु¥याएपछि सीमामा तैनाथ अधिकारीहरुलाई कारबाही हुने संकेत आएपछि कडाइ गरिएको छ । सीमा हैदरले ‘पबजी’ गेम खेल्ने क्रममा सचिनसित मायाप्रीति बसेको र बिवाह गरी भारत आएको बताउने गरेकी छन् । पाकिस्तानी नागरिकलाई भारतमा प्रवेश निषेध छ । पाकिस्तानी नागरिकलाई सीमामा प्रवेश गर्न रोके पनि नेपाली सीमा नाकाबाट निर्वाध प्रवेश गरिरहेकाले भारतको गृह र रक्षा मन्त्रालय गम्भीर देखिएका छन् । सीमा हैदर आइएसआइका लागि काम गर्ने जासुस रहेको भारतका कयौं अधिकारीहरुको आशंका छ ।भारतको विभिन्न सुरक्षा एजेन्सीहरुले पटक/पटक सीमा हैदर र सचिनसित वयान लिइरहेका छन् । यद्यपि सीमाबारे हाल भारत सरकारले कुनै निर्णय गरेको छैन् । सीमा हैदरले सचिनसित भारतमा बस्न नदिए पाकिस्तान फर्किन नसक्ने बताउँदै आत्महत्या गर्ने धम्की समेत दिने गरेकी छन् । चार जना छोराछोरीसहित अर्का युवकसित बिवाह गरेको दाबी गरिरहे पनि जाच एजेन्सीहरुले उनको विश्वास गर्न सकेका छैनन् ।

सीमा क्षेत्रमा नेपाली र भारतीय नागरिकलाई समेत अनिवार्य रुपमा परिचय खुल्ने प्रमाणपत्र देखाउन अधिकारीहरुले कर गर्न थालेका छन् । परिचयपत्र नभएका नागरिकलाई सीमा क्षेत्रमा आउजाउ गर्न रोकिएको सोनीले जनाएका छन् । काठमाण्डु विमानस्थलबाट आइरहेको तस्करीको सुन भीठ्ठामोडलगायतका नाकाहरुबाट भारत जाने गरेको छ । तस्करहरुले देशका प्रायःअधिकांश प्रवेशमार्गलाई सुन तस्करीका लागि प्रयोग गरे पनि मधेश प्रदेश र लुम्बिनी प्रदेशलाई बढी सुरक्षित मानिन्छ ।

सीमा हैदरको प्रकरणकै बेला तस्करीको सुन भारीमात्रामा बरामद भएपछि सीमा क्षेत्रमा झन कडाइ गरिएको छ । स्रोतहरुका अनुसार दुबै देशका सुरक्षा अधिकारीहरुको संलग्नतामा नै सुनको तस्करी भइरहेको छ । भारतले नेपालसित जोडिएको सीमा क्षेत्रमा गृहमन्त्रालय मातहतको सशस्त्र सीमा सुरक्षा बलएसएसबी) भारी संख्यामा तैनाथ गरेको छ । तर उनीहरुले पनि प्रलोभनमा परेर सुन, लागूऔषध, मदिरा लगायतको तस्करीलाई सुरक्षित रुपमा गन्तव्यसम्म पु¥याउन सघाउने गरेको आरोप लाग्दै आएको छ ।

केही महिना पूर्व भिठ्ठामोड भन्सारबाट भारत प्रवेश गरेका चिनिया नागरिक पक्राउ परेका थिए । त्यसपछि सीमा हैदर चार जना बच्चासहित सुरक्षित रुपमा दिल्ली पुगेपछि नाकामा सुरक्षा जाँच अत्यन्त फितलो रहेको अधिकारीहरुले मूल्यांकन गरेका छन् । सीमा क्षेत्रमा कडाइ गरिएपछि सर्वसाधारणलाई सास्ती भइरहेको सोनीले जनाएका छन् । सीमावर्ती क्षेत्रमा हाल मदिरा, सुन र लागूऔषधको तस्करी अत्यन्त फस्टाएको छ । सुन तस्करी भारी मात्रामा हुन थालेको कारण भारतीय रुपैयाको सीमावर्ती क्षेत्रमा अवमूल्यन भएको छ । सयकडा १० रुपैयाँ कममा भारतीय रुपैयाँको कारोबार हुन थालेको छ । सीमामा सरकारले तस्करी लगायतका अवैध धन्धाहरु रोक्न गरेको भारी लगानी सार्थक हुन सकेको छैन् ।

Comment


Related News

Latest News

Trending News