
सरकारले स्थानीय तहमा रिक्त रहेको जनप्रतिनिधिको विवरण उपलब्ध गराउने जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको निर्वाचनपछि केहि जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख उपप्रमुख एवं वडा अध्यक्षको पद रिक्त भएको भन्दै ७७ वटै जिल्ला समन्वय समिति र ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा तीनको उपदफा दुईमा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै उसको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ।