अपडेट 
२०८० श्रावण ९, मंगलवार ०७:२३

रौतहटको गौरस्थित विवादित राइस मिलमा २७ जना माओवादी वाइसीएलको हत्या भएको घटनालाई उछालेर दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्न थालेका आम जनता पार्टी(आजपा)का केन्द्रीय अध्यक्ष एवं स्वतन्त्र सांसद प्रभु साहलाई जिल्लामै घेराबन्दी गरिएको छ ।

साहले १७ वर्ष पुरानो हिंसात्मक घटनाको नाममा राजनीति गर्न खोजेको आरोप लगाउँदै रौतहट जिल्लाका आधा दर्जन राजनीतिक दलहरुले साह विरुद्ध मोर्चाबन्दी गरेका छन् । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको २०६३ सालको चैत ७ गते राइस मिलमा आयोजित सभालाई विथोल्न तत्कालीन मधेशी मोर्चाका संयोजक प्रभु साहले चितवनबाट वाइसीएल बोलाएर आक्रमण गर्ने प्रयास गरेका थिए । स्थानीय प्रशासनले समेत माओवादीलाई राइस मिलमा कार्यक्रम गर्न रोक लगाए पनि बसमा आएका वाइसीएलका कार्यकर्ताहरुलाई मिलको परिसरमा प्रवेश गराएको आरोप साहमाथि लाग्दै आएको छ । तत्कालीन समयमा साहले माओवादी पार्टीका नेताहरुलाई जानकारी नै नदिइ फोरमका नेताहरुलाई सिध्याउने योजना बनाएको आरोप उनीमाथि तत्कालीन समयमा लागेको थियो । साहले सो घटनामा जनता समाजवादी पार्टी(जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई मुछेर विवादमा ल्याउन खोजेको आरोप मोर्चाले लगाएको छ ।

पूर्व प्रदेश सभासद रामकिशोर यादवको संयोजकत्वमा गठित २१ सदस्यीय संघर्ष समितिले साहलाई कारबाही गर्न माग गर्दै मंगलबार स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउने भएको छ । मोर्चाले प्रभु साहलाई नै गौर घटनाको मुख्य योजनाकार ठहर गर्दै कारबाहीका लागि माग गर्ने भएको छ । साहमाथि विश्वहिन्दू परिषद् वीरगञ्जका अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मुद्दा दर्ता गरिए पनि महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिएको थियो । सरकारको दबाबलाई झेल्दै पर्साका तत्कालीन एसपी रमेश खरेलले साह विरुद्ध मुद्दा दर्ता गरेका थिए । मोर्चाले जुलुससहित जिल्ला प्रशासन कार्यालय दिउँसो ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । साहले समाजमा फेरि द्वन्द्व फैलाउन लागेको आरोप लगाउँदै उनले गरेका हत्याहरुको फाइल समेत खोल्नुपर्ने माग मोर्चाको छ । राइस मिल घटनामा मारिएका २७ जना मध्ये २० जना भन्दा बढी बाहिरका वाइसीएल थिए । उनीहरुले बोकेका हतियारसमेत चलाउन नपाउँदै स्थानीयहरुको आक्रोशमा परेका थिए । देशमा नै द्वन्द्व समाधान भइसकेको अवस्थामा साहले गौर राइस मिल काण्डलाई ब्यूताएर चर्चा बटुल्न चाहेको आरोप मोर्चाले लगाएको छ । गत चैत महिनामा निर्वाचन आयोगमा दर्ता गरिएको आजपामा असन्तुष्ट माओवादीलाई जोड्नसमेत उनले गौर राइस मिलको घटनालाई लिएर विरोध प्रदर्शन थालेको आरोप छ ।

गत हप्ता आजपाले जसपाका अध्यक्ष उपेन्द्र यादवको विरोध गर्दै गौर नगर क्षेत्रमा सशक्त प्रदर्शन गरेका थिए । त्यसको काउण्टरमा ६ दलीय गठबन्धनले पनि प्रदर्शन गर्ने तयारी गरेको छ । यादवको नेतृत्वमा गठित संघर्ष समितिमा नेकपा एमाले सहभागी छैन् । नेपाली कांग्रेस, जसपा, नेकपा एस, लोसपा, जनमत र माओवादी रहेका छन् । साहले थालेको अभियानलाई विराम लगाउन मोर्चाले ‘काउण्टर’ प्रदर्शन गर्न लागेको छ । प्रशासनिक निकायमाथि बढेको साहको दबाबलाई कम गर्न ६ दलले संयुक्त कार्यक्रम गर्न लागेको छ । साह आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय रहे पनि सदरमुकाम गौरमा खासै पकड छैन् । माओवादी द्वन्द्वको बेला गौरमा माओवादीले गरेका अघिकांश हत्यामा साहको प्रत्यक्ष संलग्नता रहेको धेरैको कथन छ । साहले गौर राइस मिलको घटनालाई नचर्काउने प्रतिबद्धता सार्वजनिक रुपमा व्यक्त नगरेसम्म संघर्षको कार्यक्रमहरु जारी रहने संयोजक यादवले जनाए । मोर्चाका संयोजक यादवले भने, पहिलो चरणमा शान्तिपूर्ण ढंगले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाइनेछ । प्रशासनले साहमाथिको हत्या अभियोगका फाइलहरु नखोले अझ बढी सशक्त हुनुपर्ने बताइएको छ ।

संघर्ष समितिमा सुनील कुमार यादव सभापति नेपाली कांग्रेस , रामचंद्र गिरी सचिव नेपाली कांग्रेस , वीरेन्द्र पान्डेय प्रदेश सदस्य नेकपा माओवादी केन्द्र , श्याम बिहारी यादव जिल्ला अध्यक्ष जसपा , योगेन्द्र यादव केन्द्रीय सदस्य जसपा , अशोक कुमारी सिंह केन्द्रीय सदस्य जनमत पार्टी , कमल प्रसाद यादव जिल्ला अध्यक्ष नेकपा एस, अवधेश प्रसाद यादव नेकपा एस ,वृज किशोर यादव नेकपा एस ,रेवन्त झा नेकपा एस , रामेश्वर प्रसाद यादव , बाबुलाल साह कानु पूर्व प्रदेश सांसद लोसपा , अनिल कुमार सिंह लोसपा , शेष जमशैद लोसपा , अमर प्रसाद यादव , मोहन कुमार यादव नगर सभापति नेपाली कांग्रेस गौर , जगरनाथ प्रसाद केसरी नागरिक समाज , धर्मेन्द्र प्रसाद यादव नगर अध्यक्ष नेपली कांग्रेस राजदेवी नपा , शंकर राय यादव समितिमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News