अपडेट 
२०८० श्रावण १०, बुधबार १०:५७

जिल्ला प्रहरी कार्यालय बारा परिसरमा नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका जिल्ला उपसचिव ध्रुव प्रसाद यादवमाथि भएको कुटपिटको विरोधमा आज कलैया बजार बन्दको आह्वान गरिएको छ ।

कुटपिटमा संलग्न प्रहरी अधिकारीलाई कारबाही नगरिएको भन्दै काँग्रेस र नेकपा एसले कलैया बजार बन्दको आह्वान गरेको हो ।

पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार अहिले काँग्रेस र नेकपा एसका कार्यकर्ता कलैया बजार बन्द गराउँदै हिँडेका छन् । सडकमा टायर बालेर उनीहरू यातायात र पसलहरू बन्द गराएका हुन् । मोटरसाइकल समेत चल्न दिइएको छैन ।

यता, जिल्ला प्रहरी कार्यालयले बजार र यातायात बन्द गराउन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच कलैया बजारमा तनावको अवस्था सृजना भएको छ ।
सवारी दुर्घटनाको विषयलाई लिएर साउन २ गते भइरहेको छलफलका क्रममा काँग्रेस जिल्ला सचिव भैयाराम र नेकपा एसका जिल्ला उपसचिव ध्रुवमाथि प्रहरी अधिकारीले कुटपिट गरेको आरोप लागेको थियो ।

कुटपिटको आरोप लागेका प्रहरी नायब निरीक्षक पुरुषोत्तम प्रसाद पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई जिम्मेवारीवाट हटाई अन्यत्र पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण पोखेलको संयोजकत्वमा साउन ५ गते छानबिन समिति बनाएको थियो । उक्त समितिले समेत छानबिन गरिरहेको छ ।

घटनाको छानबिन भइरहेको र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पटक पटक सर्वदलीय बैठक बसेर सहमतिको प्रयास गरिरहेको भन्दै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेर बजार बन्द नगराउन मंगलवार आन्दोलनरत पक्षसँग आग्रह गरेको थियो ।

Comment


Related News

Latest News

Trending News