अपडेट 
२०८० श्रावण ११, बिहीबार ०६:४१

बारामा सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

भारत बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ का ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीया आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रवक्ता जयकृष्णप्रसाद कुर्मीले जनाएका छन् । बुधबार बिहान ४ बजे हत्या भएको प्रहरीले जनाएको छ । घटना भए लगतै स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए । बिहानै श्रीमान श्रीमतीबीचको झगडाले उग्र रुप लिएपछि अमिनुल्लाले घाँटी रेटेर नै हत्या गरेको स्थानीयले जनाए ।

प्रहरीले हत्यामा संलग्न रहेका अमिनुल्लालाई सबुद प्रमाणसहित नियन्त्रणमा लिएको छ । सिम्रौनगढ नगरपालिका–६ बजारमा ससुरा जाहिर मियाँको घरमा तीन बच्चा र श्रीमतीसहित बस्दै आएका अमिनुल्लाले श्रीमतीलाई निर्ममतापूर्वक घाँटी रेटेर हत्या गरेका छन् । अमिनुल्लाले ससुरालीमा रहेको सम्पत्ति बिक्री गरी भारतमा जान श्रीमतीलाई दबाब दिँदै आएको तर श्रीमती भारत जान नमानेपछि झै–झगडा हुने गरेको प्रहरीले जनाएको छ । ससुराको छोरा नभएको हुनाले त्यो सम्पत्ति सबै आफ्नै होस् भने नियतका साथ अमिनुल्ल्लाले श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाका बारेमा सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जनाएका छन् । ‘घटनामा सम्पत्ति नै प्रमुख कारण देखिएको छ ’ उनले भने, स्थानीयहरुले पनि मृतक र उनका पतिबीच सम्पत्ति बेच्ने विषयमा विवाद हुने गरेको बताएका छन् । हत्या गर्ने अमिनुल्लालाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए । मृतक आसमिन खातुनका २ छोरा र १ छोरी छन् । तीनै जना नाबालिग रहेको स्थानीयहरुले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News