अपडेट 
२०८० श्रावण ११, बिहीबार ०७:५८

वर्तमान युगमा समाजवाद शब्द यति लोकप्रिय भइसकेको छ जसलाई प्रत्येक देशले आ–आफ्नो देशमा जो सुकै प्रणाली भएपनि समाजवाद जोड्ने गर्छन । त्यसै समाजवाद बारे बुझ्न निकै अन्यौलता आएको देखिन्छ । कसको समाजवाद ठीक र कसको समाजवाद बेठीक, छुट्याउन गाह्रो भएको छ । समाजवादलाई बुझ्न केही दार्शनिकका विचारतिर जानु पर्ने हुन्छ । यस बारे ब्रेडले, अलेक्जेण्डर ग्रे, ब्रट्रेण्ड रसेल, बर्नार्ड शाँ, जी.डी. एच.कोल, रैमजे मैक्डोनाल्ड, आचार्य नरेन्द्रदेव आदिले यसबारे आ–आफ्ना तरिकाले परिभाषित गरे पनि निम्न कुरामा सबै सहमत देखिन्छन् ।

ती तात्विक कुराहरूः वैयक्तिक सम्पत्तिको अन्त, सम्पत्तिको उत्पादन तथा बितरणको साधनमाथि सामाजिक नियन्त्रण र पूँजीपतिहरूद्वारा समाजमा शोषण व्यवस्थाको अन्त । समाजवादीहरूका उद्देश्य प्राय समान भएपनि उद्देश्य प्राप्तिको साधनका सम्बन्धमा मतभिन्नता देखिन्छ । केही मानिसहरू हिंसात्मक क्रान्तिद्वारा यसलाई ल्याउन चाहन्छन् भने केही मानिसहरू वैधानिक तरिकाहरू अपनाएर समाजवाद स्थापना गर्न चाहन्छन् । “समाजवाद” शब्दको प्रयोग पहिलो चोटी १८३३ ई.मा. ‘पुअर मैन्स गार्जियन’ मा भयो तर यसको आधुनिक तथा वैज्ञानिक रूप दिने काम जर्मन दार्शनिक कार्ल माक्र्सलाई जान्छ । आधुनिक युगमा कार्ल माक्र्सभन्दा पूर्व समाजवादको रूप प्रायः कल्पनावादी थियो । अठारऔं शताब्दीमा फ्रान्सले यसलाई शुरुआत गरेको थियो । यसपछि इंगलैण्ड, अमेरिकाले यसलाई अगाडि बढाउने काम गरेका थिए । कल्पनावादी समाजवादीहरूमा बैवूफ, गौडविन, अलबर्ट ब्रिसबेन कैवेट, होरेस–ग्रीले, बर्ड् सवर्थ, सेन्टसाइमन, विल्हम वीटलिंग, फोरियर, पूधाँ, ओवन, एच जी बेल्स आदिका नाम उल्लेखनीय छन् । माक्र्सदेखि पूर्वका समाजवादको सम्बन्ध प्रायः कल्पनामा आधारित थियो । माक्र्सले समाजवादलाई वैज्ञानिक आधार दिएका कुरालाई आफ्नो मेनिफेस्टोद्वारा प्रमाणित गरेर देखाए ।

उनले समाजवादलाई इतिहासको अध्ययनमाथि आधार बनाएर प्रमाणित गरे । जसलाई संसारका दार्शनिकहरूले मान्न तयार भए । उहाँले समाजवादी विचारलाई मुख्यतः चार प्रमुख भागमा राखेर वर्णन गर्नुभएको थियो जो आज पनि कुनै विद्वानले त्यसलाई गलत सावित गर्न सकेका छैनन् । केही विद्वानहरूले आलोचना गरेपनि त्यसमा भरपूर आधारहरू प्रस्तुत गर्न सकेनन् । चार स्तम्भहरूमा क्रमशः द्वन्द्वात्मक भौतिकवाद, इतिहासको आर्थिक व्याख्या, वर्गसंघर्षका सिद्धान्त एवं अतिरिक्त मूल्यका सिद्धान्त छन् । जसमा समाजवादीहरूले राजनीतिक सत्तामाथि सर्वहारा वर्गको अधिनायकत्वलाई स्थापित गर्न एवं हिंसक साधनद्वारा पूँजीवादलाई खत्म गरेर एउटा वर्गविहीन एवं रज्यविहीन समाज निर्माण गर्ने विचार दिए । उनीहरू साम्यवादी नामले प्रख्यात भए । वर्तमान समयमा लोकतान्त्रिक समाजवादलाई धेरै देशले अपनाएका छन् । यसले उदार समाजवादी लोकतन्त्र एवं समाजवाद दुबैलाई जोड्ने काम गर्दछ । यसले दक्षिण र वाम दुबैमा सामञ्जस्य स्थापनाको प्रयासलाई अगाडि बढाउँछ । हाम्रो देशका केही पार्टीहरू समेत यसै सिद्धान्तलाई अपनाएर अगाडि बढन चाहन्छन् ।

यसका सबैभन्दा ठूलो उदाहरण नेपाली काँग्रेसलाई लिन सकिन्छ । नेपाली काँग्रेसलाई मूर्त रूप दिन विश्वेश्वरप्रसाद कोइरालाको प्रमुख हात रहेछ । विपी कोइराला फ्रान्सका सेन्ट साइमनको विचारलाई आत्मसात गरेर नेपालमा पनि त्यस्तै समाजवादलाई स्थापित गर्न चाहन्थे । यस्ता समाजवादी संगठन विश्वका पूँजीवादी देशहरू आ–आफ्ना देशमा खोल्न शुरू गरे । उदाहरणको रूपमा जर्मनीको समाजवादी संगठन अफ जर्मनी, समाजवादी संगठन अफ रसिया, समाजवादी संगठन अफ फ्रान्स, समाजवादी संगठन अफ इंगलैण्ड, समाजवादी संगठन अफ अमेरिका लगायत अन्य विकसित देशहरू पनि आ–आफ्ना देशभित्र यस्ता संगठन खोली राजनीतिमा स्थान लिन लागे । भारतमा पनि यस्ता समाजवादी संगठनहरू खुल्दै गए । भारतमा समाजवादी प्रवत्र्तकहरूमा जयप्रकाश नारायण, अशोक मेहता, अच्युत पटबर्धन आदि सर्बप्रमुख थिए । यिनीहरू काँग्रेस पार्टीबाट अलग भएर सोसलिष्ट पार्टीको स्थापना गरेका थिए । कुनै पनि समाजवादी पार्टी आफ्ना उद्देश्यहीन कुराहरूलाई अगाडि बढाउँछ भने टिकाउ हुँदैन । कुनै पनि समाजवादी संगठनको उद्देश्यहरूमा व्यक्तिगत सम्पत्तिको उन्मूलन, वर्गभेदको अन्त, समाजिक विकास, श्रमिक अवस्थामा सुधार, आर्थिक विकासमा समानता, सहयोगको स्थापना, सकारात्मक स्वतन्त्रता, र निर्धारित उद्देश्य रहेका छन् । यस्ता कुराहरू बिना समाजवाद कहिले पनि अगाडि बढ्न सकिँदैन ।

माक्र्सवादी समाजवाद बाहेकका साम्यवादी सिद्धान्तहरू वैज्ञानिक भौतिकवादको स्थान लिन सकेको देखिँदैन । उहाँको के नारा थियो कि दुनियाँका मजदूरहरू एक हौऔं । भोलि राज्यको शासन तिम्रो हातमा निश्चित छ । माक्र्स दशौँदेखि विसौं शताब्दीसम्म सर्वश्रेष्ठ व्यक्ति रहेको कुरा बीबीसी ले सन् २००१ मा गरेको सर्वेक्षणबाट पुष्टि गरेको छ । कार्ल माक्र्सको विचार विकासमा फ्रेडरिक एंगेल्सले बढी सहयोग गरेका थिए । माक्र्स एउटा यस्तो व्यक्ति हुनुहुन्थ्यो जसले मानव जातिलाई सम्मानित एवं मानवोचित जीवन व्यतीत गर्नका लागि संसारलाई दिएको संदेश आज विश्वका लगभग आधा आवादी यस सिद्धान्तलाई सम्मान गरिरहेका छन् । उहाँले पूँजीवादको विकल्पमा वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने कुरालाई विश्वलाई बताउने पहिलो गुरु उहाँलाई नै मानेका छन् । माक्र्सको माक्र्सवादलाई लेनिनले सोभियत रूसमा अक्टोवर क्रान्तिद्वारा प्रयोग गरी यसको सच्चाइलाई स्थापित गरे । नेपालमा विपी को लोकतान्त्रिक समाजवाद र पुष्पलालको व्रmान्तिकारी समाजवाद लगभग एउटै दशकभित्र शुरू भएको देखिन्छ ।

नेपालमा प्रजातन्त्र बहाल गर्न विपी कोइराला र पुष्पलाल श्रेष्ठ एकैचोटी लडाइमा होभिएका थिए । यसरी २००७ सालको आन्दोलन सफल भएपछि २०१५ सालमा संसदीय निर्वाचन भएको थियो । जो पहिलो प्रजातान्त्रिक निर्वाचन थियो । त्यसबेला नेपाल कम्युनिष्ट पार्टी चारवटा सिटमा मात्र जित हासिल गर्न सकेको थियो । विपी कोइरालाले नेतृत्व गरेको नेपाली काँग्रेस पार्टी दुईतिहाइभन्दा बढी सिटमा जित हासिल गरेको थियो । त्यसपछि राजा र पार्टीहरूका बीचमा जुहारी चल्न थाल्यो । राजा महेन्द्रले २०१७ सालमा आएको शिशु प्रजातन्त्रलाई हत्या गरी पुनः निर्दलीयताको नाममा आफ्नो हातमा पूर्ण शासनभार लिएका थिए । यसमा नेपाली काँग्रेसको के मान्यता थियो भने राजालाई हामीले बचाइ राख्नु पर्छ र संवैधानिक राजतन्त्रको रूपमा हामीले राजालाई सम्मान दिनु पर्छ । यसपछि नेपालमा वि.ए.२००७, २०४६ र २०६२।०६३ मा भएको संघर्ष र आन्दोलनमा नेपालका वाम पार्टीहरूसहितको संयुक्त जनआन्दोलनबाट राजनीतिक परिवर्तन भयो । २०६३ साल जहानियाँ राजतन्त्रलाई अन्त गरी हाल नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई आत्मसात गरेका छन् । हुनत २०६२।०६३ को जनआन्दोलनमा माओवादीलाई शान्ति सम्झौता मार्फत ल्याइ सकेको हुनाले राजालाई पद्च्यूत गर्न सजिलो भयो । अहिले नेपाली जनता सार्वभौम छन् । नेपालमा अब कसको पार्टी लोकतान्त्रिक समाजवादतिर छन् कि माक्र्सवादी समाजवादतिर, पतै लगाउन गाह्रो छ । सबै पार्टीहरू शान्तिपूर्वक २०७२ मा निर्मित संविधान अनुसार लोकतान्त्रिक संसदीय व्यवस्थामा समावेश भैसकेका छन् ।

जिवन बिताएका वामपन्थीहरू एकैछिनमा काँग्रेस लगायत अन्य लोकतान्त्रिक समाजवादीहरूमा तथा जीवनका अधिकांश उमेर नेपाली काँग्रेस लगायत पार्टीहरूमा बिताए पनि एकै छिनमा वामपन्थी बन्न बेर लाग्दैन । यसरी सबै पार्टीहरूका खिचडीमिचडी जस्ता चालले के देखाउँछ भने नेपालका तमाम पार्टीहरू सिद्धान्तहीन अवस्थाबाट त गुज्रीरहेका त छैनन् । खास गरी २०१७ सालदेखि २०५३ सम्म आउँदा यस देशमा वामपन्थीको संख्यामा निकै बृद्धि भयो । यस बृद्धिलाई वामपन्थीहरूले बचाएर राख्न सकेनन् । आफै विभिन्न चिरामा विभक्त वामपन्थीहरू आफ्नै साथीहरूसँग गाली गलौजमा समय फाल्न थाले । वर्तमान समयमा कम्युनिष्टहरू मिलेर गएको भए माक्र्सवादी समाजवाद ल्याउन अलिकति पनि कठित थिएन । यसैका लागि २०७४ को निर्वाचनमा वामपन्थीले झन्डै दुईतिहाइको बहुमतले सरकार निर्माण गर्ने अवसर प्राप्त गरेको थियो तर सरकारको नेतृत्व गर्ने केपी ओलीले वामपन्थी चरित्र छाडेर व्यक्तिवादी, दक्षिणपन्थी अवसरवादी र विसर्जनवादी सोच, चिन्तन र प्रवृतिका कारणले दुई तिहाइ जनमत प्राप्त गरेको सरकारलाई विघटन गर्न पुगे । पार्टीका केही इमान्दार तथा सिद्धान्तवादी नेताहरू आफ्ना कुरा राख्दा कारवाहीको धाक धम्कीले डराउन थाले । यसै कारणले पार्टी समेत फुटेर दुई टुक्रा भए । अहिले पनि कम्युनिष्टहरूले आफ्ना छबीलाई सुधार्दै अगाडि बढ्ने हो भने नेपालका वामपन्थी जनता कही गएका छैनन् । वरू नेताहरू नै भ्यागुतो जस्तै एक पार्टीबाट अर्को पार्टीमा कुद्दै वाम शब्दलाई समेत अर्थविहीन बनाएका छन् ।

अहिलेको निर्वाचन पैसाबालले मात्र लडन पाउँछ । वामपन्थी पार्टी त मजदूर, गरिब, किसान, सर्वहारावर्गको पार्टी भएकोले यिनीहरू चुनावमा पैसाको कारणले प्रतिस्पर्धा गर्न नसकेर धेरै पैसावालहरू वामपन्थीको टिकटबाट संसदमा पुगीरहेका छन् । कट्टर वामपन्थी कार्यकर्ताहरू संसदमा जान्न सकिरहेका छैनन् । अहिले दिनदहारै स्थानीय निर्वाचनमा समेत करोडका करोड खर्च गरेर मेयर÷उपमेयरमा जितेका छन् । सांसदका त कुरै छाडौं । यस्ता पदमा बसेका व्यक्तिहरूलाई वामपन्थी के हो ? समाजवाद कसलाई भनिन्छ ? के थाहा ? पार्टीका केन्द्रमा बस्ने नेताहरू कुनै पुँजीवादीभन्दा कम छैन । उनीहरूलाई निर्वाचन जित्न कुनै समस्या छैन । पार्टीबाट जितेर गएकाहरू पनि आफ्ना समयको प्रतिक्षामा बसेका हुन्छन् । पार्टीको असल÷खराबसँग उनीहरूलाई कुनै मतलब छैन । कट्टर कार्यकर्ताको अवस्था हेरेर उनीहरूले आफूलाई टाढै राख्न खोज्छन् । उनीहरू सरकारमा बस्दा पनि कुनै काम गराउन आउँदा बिना पैसा गर्दैनन् । काम गराउन पैसा चाहिन्छ वा नजिकको आफन्त हुनुपर्दछ । यदि त्यस्तो छैन भने काम भनेको त कता हो, कता ! भेट पनि गर्न चाहँदैनन् । हिजो सँगै धानको परालको चट्टाइमा सुतेका, घरमा आँउदा सँगै खाएका नेताहरू यति चाँडै आफ्ना कुरालाई विर्सिन्छ सपनामा पनि सोचेका थिएनौं । निष्कर्षतिर लागौं । निष्कर्षमा के भन्न सकिन्छ भने समाजवाद ल्याउन कुनै ठूलो कुरै छैन किनभने लगभग सबै पार्टीको सोच समाजवादैतिर रहेको देखिन्छ । अब रह्यो कुरो यसलाई ल्याउन यसको अगुवाइ कसले र कुन पार्टीले गर्ने ? समस्या यहाँ पो छ ।

एकपार्टीले अरुमाथि विना स्वार्थले अर्काको नजिकमा आउँदैन । त्यति मात्र कहाँ हो र ! सबै साम्यवादी पार्टीहरू एक ठाउँमा मिलेर निर्वाचन लड्दा अहिले पनि दुईतिहाइ आउन कठिन छैन । सिद्धान्तमा झगडा नभए मिल्न किन हिचकिचाहट ? अब त नेपाल समाजवादको निकै नजिक आइसकेको छ । पार्टीहरूमध्ये वामपन्थी पार्टीहरूलाई सोच्ने समय आएको छ कि कसरी यसलाई अगाडि बढाउने ? सबैभन्दा पहिले पार्टीभित्र वामपन्थीको नाममा प्रवेश गरेका पूजीवादी दलालबाट पार्टीलाई शुद्ध बनाउन सक्नुपर्छ । राजतंत्र भएको भए, काँग्रेस पूँजीवादलाई सहयोग गरेको भए, दलाल, अवसरवादको संख्या बढी भएको भए समाजवाद ल्याउन गाह्रो हुन्थ्यो होला । तर अब त राजतन्त्र पनि छैन । काँग्रेस पनि मिलेर काम गर्न तयार छ, गर्ने हो भने समाजवाद निकै नजिक छ । यदि यस्तै फुटफाट भएर देशलाई लुटिरहने हो भने समाजवाद के ? अहिलेको लोकतान्त्रिक गणतन्त्र पनि भोलि रहने हो कि होइन् के ठेगान ? अस्तु ।

Comment


Related News