अपडेट 
२०८० श्रावण १२, शुक्रबार ०७:३७

सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी बनाइएको घर टहराहरू डिभिजन वन कार्यालय धनुषाले हटाएको छ ।

धनुषाको राष्ट्रिय वन क्षेत्रका करीब ३० हेक्टर क्षेत्रफलमा गरिइएको अतिक्रमण हटाउने काम सम्पन्न भएको डिभिजन वन प्रमुख बेचन चौधरीले जानकारी दिएका छन् । सो क्रममा धनुषाको मिथिला नगरपालिका वडा नं ११ मा रहेको सुन्दरी सामुदायिक वनको करीब १० हेक्टर क्षेत्रफलको अतिक्रमित वनलाई खाली गराइएको छ भने सो ठाउँमा व्यक्तिले लगाइएको मकैबालीसहितको अन्य बालीहरू नष्ट गरी अतिक्रमण मुक्त भएको वन क्षेत्रमा वनमा आधारित जातका वृक्षहरू लगाउने काम भएको जनाइएको छ ।

यसैगरी, धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं ६ का पञ्चपौरी सातपतरेको १७ हेक्टर अतिक्रमित बनक्षेत्रलाई अतिक्रमणमुक्त गर्ने काम भएको छ । वन क्षेत्रको अतिक्रमण खाली गराएर सो ठाउँमा विभिन्न जातको जङ्गली बिरुवा लगाउनुका साथै तारवार गरिने काम भएको छ । वर्षा नभएका कारणले विरुवाको संरक्षणमा समस्या रहेको वन अधिकृत चौधरीले जानकारी दिए ।

वन क्षेत्र खाली गराउने क्रममा उल्लेख्य संख्यामा वन रक्षक परिचालन गर्नुका साथै धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसंग समन्वय गरेर थप सुरक्षा मद्दत माग गरिएको कारणले कुनै प्रकारको अप्रिय घटना नभएको बताइएको छ । वन क्षेत्रमा सिन्धुली, पोखरा तथा रामेछापसम्मका मान्छेहरू आएर बसोबास गर्दै आएका थिए ।

वन क्षेत्रमा बढेको अतिक्रमण तथा चुरे विनाशका कारणले तराई मधेशको चापाकल तथा पम्पिंगसेटहरु सुक्न थालेको छ । वर्षा नभएर अहिले खेती हुन सकेको छैन । वनको संरक्षण तथा चुरेको विनासका लागि आफूहरूको अभियान निरन्तर रुपमा जारी रहने जिल्ला वन अधिकृत चौधरीले बताए । गलत नियतले वन क्षेत्र अतिक्रमण गर्ने काम हुने गरेको छ । वन अतिक्रमणले केहीलाई लाभ पुगे पनि बहुसंख्यक व्यक्ति तथा देशलाई नै समस्या निम्त्याउने गरेको कारणले थप अतिक्रमित ठाउँको वन क्षेत्र खाली गराउनुपर्ने माग हुन थालेको छ ।

Comment


Related News

Latest News

Trending News