अपडेट 
२०८० श्रावण १३, शनिबार ०८:३२

तराई मधेशका जिल्लाहरुमा इस्लाम धर्मावलम्बीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेलाको रौनक देखिएको छ ।

इस्लाम धर्मका लागि ज्यानको आहुति (बलिदानी) दिने हजरत इमामे हसन र हजरत इमामे हुसेनको सम्झनामा मुस्लिम समुदायहरु इस्लामिक महिना मोहरममा ताजिया (दाहा) मेलाको आयोजना गर्दै आएका छन् । दाहा मेला मुस्लिम समुदायले लगाए पनि त्यसमा हिन्दू समुदायका व्यक्तिहरु उल्लेखनीय संख्यामा सहभागी हुने गर्छन् ।

जनकपुरधाम उपमहागरपालिका बन्धी, लक्ष्मीनियाँ गाउँपालिकाको सपही, महोत्तरीको विजलपुरा लगायतका ,स्थानमा ठूला दाहा मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल,भारत, पाकिस्तान, बगंलादेशसहितका मुलुकहरुमा रहेको छ । दाहा मेलामा मुस्लिम समुदायका युवाहरुले विभिन्न प्रकारका कलात्मक खेलहरु प्रदर्शन गर्छन् भने महिलाहरुले इमामे हसन हुसेनको सम्झनामा गीत गाउने गर्छन । तर पछिल्लो समय महिलाहरुले गीत गाउने चलन हराउँदै गएको छ । मेलाको अन्तिम राम्रो खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई तगमा(शिल्ड) वितरण गर्ने चलन रहेको छ ।

मोहरम महिनाको नौ औँ दिन (शुक्रबार) पहिलो दिन मेलाको अन्य गाउँमा गएर खेलाडीहरुले खेल प्रदर्शन गरेका छन् भने दोस्रो दिन आफ्नै गाँउकै मैदानमा गइ खेलतमासा गर्छन् । सो स्थानलाई मुस्लिमहरुले करवला भन्ने गर्छन् । करवलामा दुई वा दुई भन्दा बढी ताजियाको मिलान अर्थात जोडा लगाइने चलन रहेको छ ।

इस्लामिक क्यालेण्डर अनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेण्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेडर अनुसार नयाँ वर्षको पहिलो महिना पनि हो । यो महिनामा नै इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद पैगम्बरका नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्ना ज्यानका आहुति (बलिदानी)दिएका थिए । हजरत हसन र हुसैनले यहुदीहरुबाट धर्म संरक्षणको लडाइमा शहिद भएका कारण उनीहरुकै सम्झनामा मुस्लिम समुदायले मोहरममा महिनामा तजिया बनाएर गम अर्थात दुःख मनाउने गर्छन । खेलतमासा वा दाहा नै बनाए हसन हुसेनलाई सम्झनु गलत रहेको भन्दै इस्लामिक धर्मगुरु अहमद हुसेनले भने,‘ खेलतमासा उचित होइन । इस्लामले मोहरममा खेलतमासाको अनुमति दिदैन् । बरु यो महिनामा बढी भन्दा बढी धार्मिक तथा पुण्यको काम जस्तै रोजा बस्ने, फातिहा गर्ने, मिलादसहितको आयोजना गर्दा झन राम्रो मानिन्छ ।’

Comment


Related News

Latest News

Trending News