अपडेट 
२०८० श्रावण १३, शनिबार ०८:३८

जनकपुरधाम उपमहानगरपालिकामा एशियाली विकास बैंकको सहयोगमा दोस्रो चरणको परियोजना शुरु भएको छ ।

करीब ३ अर्बको लागतमा सुरु भएको अर्बन रजिलेन्स एण्ड लाइभेवलिटि ईम्प्रुभमेन्ट प्रोजेक्ट अन्तर्गत २८ किलोमिटरमा फुटपाथसहितको सडक र ढलनालाको निर्माण हुने उपमहानगरपालिकाले जनाएको छ । यसका साथै जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको रत्नसागर पोखरीसहित सो क्षेत्रको पर्यटकीय स्थलको रुपमा सौन्दर्यकरणमा खर्च गरिने उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र कुमार यादवले जानकारी दिए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधाम–ढल्केवर सडक खण्डको पश्चिमको भागमा निर्माण हुन बाँकी रहेको परिक्रमा सडक, रामानन्द चोकदेखि कुर्था जाने परिक्रमा सडक, बजरङ्ग चोकदेखि वाल्मीकि चोक हुँदै सीताकुण्ड भएर परिक्रमा सडक, आँखा अस्पतालदेखि वाल्मीकि प्रहरी चौकीको सडकको पुर्ननिर्माण तथा सौन्दर्यकरण गरिने बताए ।

परियोजनामा एशियाली विकास बैंकले प्रदान गरेको रकम नेपाल सरकारमार्फत ७५ प्रतिशत, जनकपुरधाम उपमहानगरपालिकाको म्याजिक फन्ड ७ प्रतिशत र १८ प्रतिशत नागरिक लगानी कोष मार्फतको सफ्ट लोनबाट पाँच वर्षमा परियोजनाको काम सम्पन्न हुने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले जानकारी दिए ।

सफ्ट लोन योजना सम्पन्न भएको १५ वर्षमा फिर्ता हुने गरी त्रिपक्षीय सम्झौता भएको जनाइएको छ । परियोजनाको म्याद २०२३ देखि २०२८ सम्म तोकिएको छ । उपमहानगरपालिकाले चार अर्ब प्रस्ताव गरेकोमा सडक, ढलनाला र तालतलैया सौन्दर्यकरणदेखि पर्यटन विकास र सरसफाइमा पनि खर्च हुने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News