अपडेट 
२०८० श्रावण १४, आईतवार ०७:१५

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले न्यायको माग गर्दै रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिएको छ ।

गौर राइस मिलमा १७ वर्ष पूर्व भएको हिंसात्मक घटनामा तत्कालीन माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए । गौर हत्याकाण्डको फाइल खोल्न र मुख्य आरोपि तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्नुपर्ने माग राख्दै उनीहरुले धर्ना दिएका छन् । उनीहरूले उपेन्द्र यादवलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, दोषीलाई उन्मुक्ति दिन नहुने, घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग अघि सारेका छन् । गौर हत्याकाण्डका मुख्य दोषीसहित अन्य दोषीलाई कारबाहीको माग गर्दै धर्नामा बसेको गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक तथा शहीद परिवारकी अगुवा रूपसागर देवीले बताइन्

। आम जनता पार्टी(आजपा)का अध्यक्षसमेत रहेका सांसद प्रभु साहको नेतृत्वमा पीडितहरुले गौरबाट सुरु गरेको संघर्षलाई पूर्वपश्चिम राजमार्गमा पर्ने चपुरमा ल्याएका छन् । गौर राइस मिलको मुद्दालाई सांसद साहले उठाएपछि मधेश प्रदेशका सत्तासीन ६ दलले हिन्दू परिषद्का अध्यक्ष काशीनाथ तिवारीलगायतका हत्यामा संलग्न रहेकाहरुलाई कारबाहीको माग गर्दै गत हप्ता गौरमा सशक्त प्रदर्शन गरेका थिए । उनीहरुले साहलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । मधेशी जनअधिकार फोरमले राइस मिलमा गर्न लागेको सभालाई विथोल्न माओवादीको भातृ संगठन मधेशी राष्ट्रिय मुक्ती मोर्चाका संयोजकसाहले नारायणघाटबाट वाईसीएललाई मगाएको आरोप छ । सभा विथोल्ने क्रममा माओवादीबाट आक्रोशित स्थानीयहरुले लखेटेर हत्या गरेको बताइएको छ ।

रौतहट जिल्ला प्रहरी कार्यालयमा २०६४ चैत २८ मा जाहेरी दर्ता भएको १७ वर्ष वितिसक्दा पनि कारबाहीको प्रारम्भिक चरणको काम पनि नभएको बताउँदै पीडितहरुले कारबाही नभए अझ सशक्त विरोधमा उत्रिने चेतावनी दिएका छन् । २०६३ चैत ७ गते गौरको राइस मिल्सको चौरमा तत्कालीन नेकपा माओवादी र स्थानीय सहितको फोरमका कार्यकर्ताबीच झडप हुँदा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए । ५० जनाभन्दा बढी घाइते भएका थिए । माओवादीको कुनै निकायको निर्णय बिना नै साहले फोरमको कार्यक्रम विथोल्न खोजेपछि भूगोलबारे अनभिज्ञ रहेका माओवादी लडाकुहरुतर्फ ठूलो क्षती भएको थियो । मृत्यु भएका अधिकांश माओवादी गौरको भूगोलबारे अनभिज्ञ रहेका थिए ।

संघर्ष समितिले माग पूरा नभए साउन १४ गते मोटरसाइकल ¥याली गर्ने र साउन १५ गतेदेखि अनिश्चितकालीन रौतहट बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । न्यायका लागि सर्वोच्च अदालतमा प्रक्रिया अघि बढाउन परमादेशको मागसहितको निवेदन दर्ता केही दिनअघि भएको घाइते एवम् जाहेरीकर्ता अमर साहले बताए । माओवादीको जनयुद्धको क्रममा १७ हजार भन्दा बढी मानिस मारिएका थिए । प्रभु साहले रौतहटमा नै १० जना भन्दा बढीको हत्या गराएको ६ दलका नेताहरुले आरोप लगाएका छन् । तिवारी हत्या काण्डमा दर्ता भइसकेको मुद्दालाई फिर्ता लिएर तत्कालीन सरकारले न्यायको हत्या गरेको आरोप ६ दलका नेताहरुले लगाएका छन् । साह र ६ दलबीचको राजनीतिक द्वन्द्व चर्किने देखिएको छ । दुबै पक्षले एकअर्कामाथि आरोप लगाउँदै कारबाही गराउन थालेको विरोध प्रदर्शनले शान्तिसुरक्षामा खलल पुग्न सक्ने सुरक्षा अधिकारीहरुको आकलन छ ।

Comment


Related News

Latest News

Trending News