अपडेट 
२०८० श्रावण १४, आईतवार ०८:४२

शान्तिपूर्ण रुपमा इस्लामिक पर्व मुहर्रम मनाइएको छ । यो हिजरी माह मुहर्रमको पहिलो दश दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा मुहर्रम आपसी भाइचारा र धार्मिक सद्भावको पर्व बन्दै गएको छ । मुहर्रमको बढी महत्वपूर्ण दिन ‘ आशूरा’ हो, जो मुहर्रमको दशौँ दिन पर्दछ । विभिन्न मुस्लिम समुदायका लागि यसको धार्मिक महत्व अलग–अलग हुनसक्छ । अधिकांश मुस्लिम समुदाय आशूरालाई अत्यन्त महत्वका साथ मान्ने भएकाले यसलाई विशेषरूपमा मनाउने गरेका छन् । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने जनविश्वास छ । “हिन्दूहरूसमेतले मनाउने भएकाले पछिल्लो समयमा मुहर्रमको रौनकता बढ्दै गएको छ । यो पर्व मान्नेहरूले ताजिया बनाइ ढोल, मजिरा, तासा बजाउँदै झर्रा आदि गीत गाउने चलन छ ।

तर, केही दिन यता मुस्लिम समुदाय र हिन्दू समुदायबीच बढ्दै गएको तिक्ताका कारण जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा तनाव हुन सक्ने आशंका गरिएको थियो । तर, प्रशासनको बाक्लो उपस्थिति र दुवै समुदायबीचको धैर्यताले कुनै अप्रिय घटना भने हुन सकेन् । आशूराका दिन ताजिया यात्रा गर्दै मुहर्रमका शहीदहरूको यादमा मातम मनाइएको छ र उहाँहरूलाई श्रद्धाञ्जलि दिइन्छ । यसको अतिरिक्त, सामाजिक तथा धार्मिक कार्यक्रम आयोजना गरिएको थियो । हिन्दूहरूले पनि यो पर्वलाई निराहार व्रत बसी शोक समारोहका साथ, ताजिया यात्रा गर्दै मनाउने गरेका छन् । इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’का साथै ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्षको यो महिना पैगम्बर महोमदको नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा हिन्दू र मुस्लिम समुदाय एकसाथ मनाउने गरेका छन् ।

सन् २०२३ मा मुहर्रम २० जुलाईबाट सुरू भएको छ, त्यसैले यो वर्ष २९ जुलाइमा मुहर्रम मनाइँदैछ । इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्व र इतिहास बोकेको छ । यही महिनामा हजरत इमाम हुसैनले कर्बलाको लडाइँमा सहादत प्राप्त गरेका थिए । मुहर्रम महिनाको पहिलो दश दिन इमाम हुसेनको शोकका रूपमा मनाइन्छ । यसलाई आशूरा पनि भनिन्छ । हजरत इमाम हुसैन अफ्ना ७२ साथीसहित मोहर्रम महिनाको दशौँ दिन कर्बलाको मैदानमा शहीद भएकाले उनको सहादत र बलिदानीका लागि यो दिनलाई विशेषरूपमा सम्झिने गरिएको छ । “हजरत इमाम हुसैन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह याजिदविरुद्धको लडाइँमा उनको सेनाबाट परिवारका सदस्य र अन्य साथीसहित कर्बलाको मैदानमा सहिद भएका थिए । उनी समानता, न्याय र दयालुताको लागि लड्ने गर्थे । तत्कालीन सल्तनतमा त्यहाँका नागरिकले अत्यधिक अन्याय भोग्नुपरेको थियो । अब्दुल्ला अलिगलका अनुसार विशेषगरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकलाई भयमुक्त हुन र आत्मनिर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो ।

को थिए हजरत इमाम हुसैन ?

हजरत इमाम हुसैन पैगम्बर ए इस्लाम हजरत मुहम्मद साहबका नाति थिए । इमाम हुसैनका वालिद अर्थात् पिताको नाम हजरत ‘शेरेखुदा’ अली थियो, उनी पैगम्बर साहबको ज्वाइँ थिए । त्यसैगरी इमाम हुसैनको आमाको नाम बिबी फातिमा थियो । हजरत अली धार्मिक तथा सामाजिक मुखिया थिए । उनलाई चौथो खलिफा बनाइएको थियो । हजरत अलीको सहादतपछि मानिसहरू इमाम हसन (हुसैनका दाजु)लाई खलिफा बनाउने पक्षमा थिए, तर विद्रोह गरेर हजरत अमीर मुआविया खलिफा थिए । “सन् ६० हिजरीमा तत्कालीन शासक याजिद इस्लाम धर्मको सम्राट बन्न चाहे । उनी सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहन्थे । त्यसैले इन्सानियत बचाउन याजिदको विरोधका इमाम हुसैनले कर्बलाको लडाइँमा शहीद भए।

कसरी मनमाइन्छ, मोहर्रम ?

मोहर्रमको दशौँ दिन अर्थात् आशूराका दिन ताजियादारी गरिन्छ । इमाम हुसैनको इराकमा दरगाह छ, जसको हुबहु नक्कल गरी ताजिया बनाइन्छ । शिया उलेमाका अनुसार मोहर्रमको चाँद निस्किने पहिलो तारिखमा ताजिया राखिन्छ । यो दिन इमाम हुसैनको सहादतको सम्झनामा ताजियासहित जुलुस निकालिन्छ । जब कि ताजिया निकाल्ने परम्परामात्र शिया समुदायमा छ, उत्तरी भारत र नेपालको अधिकांश ठाउँमा हिन्दूहरूले पनि ताजियासहित जुलुस निकाल्ने गरेका छन् । यो वर्ष नेपाल र भारतमा मुहर्रमको सुरुआत २० जुलाइबाट भएको छ । त्यसैले भारतमा आशूरा २९ अगस्तमा मनाइँदैछ । पाकिस्तान र बङ्गलादेशमा पनि आशूरा २९ अगस्त २०२३ मै मनाइँदैछ । जबकि सउदी अरब, ओमान, कतार, इराक, बहराइन, संयुक्त अरब अमिरातसमेत अन्य अरब देशमा मुहर्रम १९ जुलाईबाट प्रारम्भ भएकाले मातमको दिन २८ जुलाइमै मनाइएको छ ।

Comment


Related News

Latest News

Trending News