अपडेट 
२०८० श्रावण १४, आईतवार ०८:४८

लामो समयदेखि वर्षा नभएपछि पानी माग्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दूध चढाइएको छ ।

शनिबार दूध अर्पण कार्यक्रमको आयोजना गरी साधुसन्त र पूजारीले धनुष मन्दिरमा दूध अर्पण गरेका छन् । मन्दिरमा दूध चढाउन स्थानीयले दूध संकलन गरेका थिए । ती सबै दूध मन्दिरमा चढाइएको छ । आकाशे वर्षा नभएकाले खडेरी पर्ने चिन्ताले सर्वसाधारणलाई सताएको छ । किसान धान रोप्न पाएका छैनन् । मधेशको उत्तरी क्षेत्रको खानेपानीको हाहाकार भएको छ । हाते कल (चापाकल), पोखरी र इनारहरुसमेत सुक्न थालेको छ । त्रेतायुगमा भगवान रामले माता सीतासँग विवाह गर्नका लागि धनुष तोडेका थिए । तोडिएको धनुषको एउटा टुक्रा आकाश, एउटा पाताल (धर्ती) र एउटा टुक्रा धनुषाधाममा खसेको धार्मिक विश्वास छ । अहिले पनि धनुषाधाममा धनुषाको टुक्रा देख्न सकिन्छ । भगवान रामले तोडेकै धनुषको टुक्राको अवशेष अहिले पनि रहेकाले त्यस ठाउँको नामकरण धनुषाधाम गरिएको छ र त्यहाँ धनुष मन्दिर पनि निर्माण गरिएको छ । उक्त मन्दिरमा दूध अर्पण गरेपछि वर्षा हुने र खडेरी नपर्ने मान्यता छ ।सोही मान्यताको आधारमा धनुष मन्दिरमा दूध चढाइएको स्थानीयले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News