अपडेट 
२०८० श्रावण १५, सोमबार ०७:१३

मधेश प्रदेश सरकारले सोमबार पूर्णता पाउने बलियो सम्भावना छ । मुख्यमन्त्री सरोज कुमार यादवले सोमबार मन्त्रीमण्डललाई पूर्णता दिने बताइएको छ । हालसम्म चौथो पटक मन्त्रीमण्डल पुनर्गठन भइसकेको छ । पाँचौ पटकमा सरकारले पूर्णता पाउने भएको छ ।

मधेश प्रदेशमा हाल गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयको कार्यभार समेत मुख्यमन्त्री यादवले सम्हालेका छन् । तर दुई जना मन्त्री बिना विभागीय रहेका छन् । मन्त्रीमण्डलमा नेपाली कांग्रेसबाट सप्तरी जिल्लाका मो.समिम मन्त्री हुने निश्चित भइसकेको छ । उनी सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित सभासद हुन् । कांग्रेसले भूगोल र जातीय सन्तुलन कायम गर्न मो.समिमलाई मन्त्री बनाउन लागेको बताइएको छ । सत्ता गठबन्धन दलहरुको शीर्ष तहमा भएको सहमति अनुसार कांग्रेसले एकजना मन्त्री र एकजना राज्यमन्त्री पाएको छ ।

उच्चस्रोतका अनुसार कांग्रेसलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय दिने सहमति भएको छ । राज्यमन्त्री पनि सोही मन्त्रालयमा रहने कांग्रेस स्रोतले जनाएका छन् । तर राज्यमन्त्रीको टुंगो लागि नसकेको स्रोतले जनाएका छन् । सरकारमा हाल कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री दलका नेता कृष्णा यादव छन् । वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । उनी दोस्रो पटक मन्त्री बनेका हुन् । मधेश प्रदेशको पहिलो सरकारमा उनी महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री रहेका थिए । जनता समाजवादी पार्टी(जसपा)की बिना विभागीय मन्त्री रहेकी सुरिता साहले श्रम तथा यातायात मन्त्रालय पाउने पक्का छ ।

चौथो पटक मन्त्रीमण्डल पुनर्गठन हुँदा उनको मन्त्रालय खोसिएको थियो ।स्वतन्त्र रुपमा चुनाव जितेकी साह जसपामा प्रवेश गरे लगतै मन्त्री बनेकी छन् । उनीसँगै सामाजिक विकास मन्त्रालयमा राज्यमन्त्री रहेका मो.अबुलकलाम आजाद(फूलबाबु)लाई श्रम तथा यातायात राज्यमन्त्री बनाइने छ । आजाद पनि बिना विभागीय राज्यमन्त्री छन् । ज

नमत पार्टीबाट दुई जना सरकारमा छन् । जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादव शिक्षा मन्त्री रहेका छन् । वसन्त कुशवाहा बिना विभागीय मन्त्री छन् । उनी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए । सो मन्त्रालयमा राज्यमन्त्री रहेका सञ्जय कुमार यादव पनि बिना विभागीय भएका छन् । उच्च स्रोतका अनुसार यादवलाई शिक्षा मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिने छ । तर वसन्त कुशवाहालाई पदमुक्त गरिने स्रोतले जनाएका छन् । स्रोतका अनुसार कुशवाहालाई हटाएर जनमतबाट चन्दन सिंहलाई मन्त्री बनाइने तयारी भएको छ । कुशवाहा(कोइरी)को स्थानमा सिंहकोइरी)लाई जनमतले पठाएर जातीय सन्तुलनलाई कायम राख्ने प्रयास गरेको बताइन्छ । सिंह मन्त्री हुने पक्का भए पनि उनको विभाग बारे खुलाइएको छैन् । सरकारले एउटा मन्त्रालयलाई टुक्रयाएर उनलाई दिने तयारी गरेको उच्चस्रोतले जनाएका छन् । यस सम्बन्धमा मुख्यमन्त्री यादवसित पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सफल हुन सकेन् ।

Comment


Related News

Latest News

Trending News