अपडेट 
२०८० श्रावण १६, मंगलवार ०७:५१

महोत्तरीको जलेश्वर नगरपालिका – ५ चौरिया गाउँमा रहेको हनुमान मन्दिरमा अवस्थित हनुमान भगवानको मूर्ति अगाडि नेताको शालिक बनाइएको विरोधमा स्थानीय युवाहरुको एक समूहले सोमबार जलेश्वरमा प्रदर्शन गरेका छन् ।

आर्थिक वर्ष ०७९/८० मा मधेश प्रदेश सरकारको ६५ लाख रुपैयाँको लागतमा चौरिया गाउँमा रहेको हनुमान मन्दिरकै प्राङ्गनमा स्वर्गीय नेता गणेश नेपालीको शालिक तथा पार्क निर्माण योजना अन्तर्गत मन्दिरभित्र रहेको हनुमान भगवानको ठिक पहिले नेता नेपालीको शालिक बनाएर भगवानलाई ओझेलमा पारेको र नेतालाई भगवान भन्दा ठूलो बनाएको भन्दै स्थानीय करीब ५० जना युवाहरुले जलेश्वरमा प्रदर्शन गरेका छन् । स्व.नेता गणेश नेपालीका छोरा नेपाली कांग्रेसका नेता बजरंग नेपालीले मधेश प्रदेश सरकारबाट आफ्नो पहुँचको आधारमा बजेट ल्याएर मन्दिरभित्रै शालिक निर्माण गरेर सांस्कृतिक अपराध गर्नुका साथै बजेटको दुरुपयोग गरेर लाखौँ अनियमिततासमेत गरेको आरोप लगाउँदै युवाहरुले महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

हिन्दू बाहुल्यता रहेको नेपालको आराध्यदेव पशुपतिनाथ, माता सीता, गौतम बुद्धसहित देशमा विभिन्न गाउँठाउँमा रहेको विभिन्न देवी देवताका मन्दिरमा कही,कतै पनि कुनै नेता वा शहीदको शालिक बनाएको छैन् । तर चौरिया गाउँमा भगवान हनुमानको मूर्ति अगाडि हनुमानको मूर्ति भन्दा पनि ठूलो आकारमा बनाइएको यस शालिकले हिन्दूहरुको धार्मिक आस्थामाथि ठूलो प्रहार गरेको भन्दै स्थानीयहरुले प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित सरोकारवाला निकायसमक्ष ज्ञापनपत्र पठाइदिन आग्रह गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

मधेश प्रदेशको ६५ लाख बजेटलाई बजरंग नेपालीले आफ् नो खल्तीको मान्छे स्थानीय मदन कापरलाई अध्यक्ष बनाएर १५ लाख र उनका छोरा रविन कापरलाई अध्यक्ष बनाएर ५० लाखको लागतमा शालिक र पार्क निर्माण सम्पन्न भएको देखाएर ठूलो आर्थिक अनियमितता समेत गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

हनुमान मन्दिरमा पूजा अर्चना गर्न जाने जोकोहीलाई पनि भगवान भन्दा पहिले स्व.नेता गणेश नेपालीको शालिकको दर्शन गर्नुपर्ने अवस्था सिर्जना गरेर बजरंग नेपालीले नियतवस हिन्दू धर्ममाथि खेलबाड गरेको समेत ज्ञापनपत्रमा उल्लेख छ । मन्दिरभित्र शालिक निर्माण गर्न पाउँदैन,भ्रष्टाचारी बन्द गर,भ्रष्टाचारीलाई कारबाही गर,भगवानको मूर्ति अगाडि नेताको शालिक राख्न पाउँदैन भन्ने नाराका साथ लगायतका नाराहरु लगाउँदै स्थानीयहरुले जलेश्वर नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला प्रहरी कार्यालय महोत्तरी र जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारलाईसमेत ज्ञापनपत्र बुझाएका छन् ।

प्रदर्शनकारीहरुले मन्दिर प्राङ्गनबाट नेताको शालिक तुरुन्त हटाइनुपर्ने, योजनामा २५÷३० लाख खर्च भएकोलाई ६५ लाख खर्च देखाएर गरिएको भ्रष्टाचारलाई सरोकारवाला निकायहरुले स्थलगत अनुगमन निरीक्षण गरेर अनियमितता भएको रकमा बाँकी सरह असुल उपर गर्नुपर्ने र दोषी देखिएकाहरुलाई नेपालको कानुन बमोजिम हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News