अपडेट 
२०८० श्रावण १६, मंगलवार ०८:०७

केही वर्ष पहिलासम्म मन्दिर, मस्जिद र गुरुद्वारा जस्ता धर्मस्थलहरु तथा धार्मिक उत्सवहरु शान्ति, सहिष्णुता र सौहाद्र्रताका प्रतीक हुनेगर्थे । इतिहासमा कयौँ राजा महाराजा र बादशाहहरु तथा हिंसक व्यक्तित्वहरु धार्मिक पन्थ ग्रहण गरेका कथाहरु विभिन्न धर्मग्रन्थ र पौराणिक कथाहरुमा पढन पाइन्छ । संसार जित्न हिँडेका युनानका सिकन्दरले कुनै साधुका सामू घुँडा टेकेका थिए । मगधका विश्वप्रतापी ‘देवानाम् पियदस्सी’ मौर्य सम्राट अशोकभयावह हिंसायुक्त कलिंग युद्धपछि द्रवित र ग्लानीयुक्त भएर बौद्धधर्म ग्रहण गरेका थिए । शान्ति र ज्ञानको खोजीमा गौतम बुद्धको शरणमा आएको युनानी शासक मिलिन्द (मिनान्डर)को धम्म (धर्म) जिज्ञासाहरुबाट ‘मिलन्ह पन्ह’ (मिलन्द प्रश्न) नामक दार्शनिक ग्रन्थ नै छ ।

नारदको भक्ति उपदेश सुनेर रत्नाकर जस्तो निर्ममडाँका बाल्मिकिमा परिणत भएर विश्वप्रसिद्ध ग्रन्थ रामायणको रचना गरेको कथा विश्वप्रसिद्ध छ । भोग र विलासमा हमेशा रत् रहने राजा भतृहरि (भरथरी) दिक्क भएर नाथ सम्प्रदायका गुरु गोरखनाथका शिष्य भएका थिए । ज्ञान र वैराग्यबाट प्रभावितभएर शान्तिको अभिलाषामा धर्मको शरणमा जाने गरेका कथाहरु प्रायः सबै धर्ममा पाइन्छ । अरबीभाषाको ‘सलाम’ शब्दबाट रुपान्तरित भएर अँग्रेजीको ‘सोलेम’ शब्द बनेको हो, जसको अर्थ स्निग्ध, पवित्र र शान्ति हुन्छ । अरबीभाषामा पनि सलाम गर्नुका अभिप्रायः शान्ति, पवित्र र समृद्धिको कामना गर्नु नै हुन्छ । यसरी नै सबै धर्ममा धार्मिक उत्सवहरु एक अर्कामा सौहार्द्रता, भातृत्व र हार्दिकताको भावना बाँडनु तथा संसारभरीका मानिसहरुको निम्ति शान्तिकामना गर्नु हुने व्याख्या धर्माचार्यहरुले गर्ने गरेका छन् । तात्पर्य के हो भने अधिभूतवादी दार्शनिक दृष्टिले धार्मिक स्थलहरु तथा धार्मिक उत्सवहरु समुदायहरु बीच हार्दिकता, सहिष्णुता तथा भातृत्वमा वृद्धि गर्ने स्थल र अवसरको रुपमा व्याख्यायित हुने गरेको छ ।

प्रायः सामाजिकस्तरमा विकसित भएका सन्त, सुफी तथा साधुहरुले यस मानवीय आदर्श भावलाई बढी प्रोत्साहित गर्ने गरेका छन् । अझ एकल राष्ट्र राज्यको ठाउँमा बहुसाँस्कृतिक र बहुधार्मिक राज्यहरुको विकास भएपछि तथा फरक धर्मावलम्बी शासकहरु तथा धर्माचार्यहरुको वर्षौको अन्तहीन युद्ध र संघर्षबाट थाकेपछि सर्वधर्म समभावको विचार विकसित भएको हो । ‘सबका मालिक एक’को सुफी मत होस, वा कबीरको ‘ कबीरा कुआँ एक है, पनिहारी हैँ अनेक, बर्तन सबके न्यारे न्यारे, पानी सब मे एक’ जस्तो विश्व भातृत्वको कबीरवचन होस वा ‘बधुधैव कुटुम्बकम्’ (विश्व एउटा परिवार हो) जस्तोऔपनिषदीय आदर्श वाक्य होस, सबैले, धर्म विशेषको संकीर्ण घेराभन्दा बाहिर गएर सबैलाई समान दृष्टिले एउटै अलौकिक शक्तिबाट विकसित मानव समुदायको रुपमा देखे र व्याख्या गरे । शासकहरु तथा शासकहरुबाट आश्रित धर्माचार्य र धर्मस्थलहरु भन्दा भिन्न समाजबाट संरक्षित यी सुफी, सन्त, मलंग र साधुहरुस्थानीय र सामाजिकस्तरमा समाजको बीचबाट जन्मेका थिए, त्यसैले उनिहरुको ज्ञानमा सामाजिकता तथा मानवीय सोहाद्र्रता बढी थियो ।

यसै कारेण एकातिर, राज्य र शासकको निम्ती शासनको साधन बनेको संहिता, स्मृति, हदिस आदि धार्मिक कानून र धर्माचार्यहरु विपरीत धर्महरुप्रति कटु र युद्ध भावमा प्रतिस्पद्र्धी र फरक देखिए भने, अर्कोतिरसामाजिकस्तरमा जनसमुदायबीचका चलनहरुमा फरक फरक धर्मका चलनहरु, साँस्कृतिकताहरु तथा मतहरु एक अर्काले अपनाएको तथा एक अर्काको धार्मिक उत्सवहरुमा सामेल हुने गरेको पाइन्छ । हिन्दु श्रमजीवि समुदायको लोकगाथाहरुमा मिरसुल्तान र पल्टा खाँलाई लोकदेवको रुपमा स्वीकृति होस वा मुस्लिमसमुदायको ताजियादाहा) र इदजस्ता उत्सवहरुमा हिन्दुहरुले ‘चढौना’ चढाउनु होस वा लोकगीतहरुमा उनिहरुको हार्दिक र सौहाद्र्रपूर्ण उपस्थिति होस वा दर्जी, धोबी, राजमिस्त्री, चुरा र लहठी (लाहाको चुरा) बिक्रेता, बैन्डबाजा, अत्तरबिक्रेता आदि व्यक्तिगत र सामाजिक आवश्यकतामा साझा सहभागिको रुपमा स्वीकृति होस ; त्यसरी नै हिन्दुमहिलाले जस्तै मुस्लिम महिलाले सिन्दुर लगाउनु र बिहामा कोहबरगीत गाउनु, आफूले मन्दिरभित्र प्रवेश नगरेपनि कुनै हिन्दुलाई नै पैसा दिएर हिन्दु देवी देउतालाई चढौना चढाउन लगाउनु, हिन्दु सन्त र दार्शनिकहरुको विचार र चलन, रीति रिवाज तथा सामाजिकतामा घुलमिल हुनु आदि दुबै धर्मावलम्बीहरुबीच ऐतिहासिकरुपमा विकसित यस्तै सहअस्तित्व र सामाजिक अन्तर्घुलनका परिणामहरु हुन् । कबीर र गोरखनाथका शिष्यहरुमा हिन्दु र मुसलमान दुबै समुदायबाट हुनु तथा मुस्लिम समुदायबाट विकसित मलंग तथा सुफीहरु हिन्दु समुदायभित्रपनि आदरभाव र श्रद्धा पाउनु यसैको परिणाम हो ।नेपालमै, पहाडमा शताब्दियौँ पहिले पसेका मुसलमानहरु यसरी अन्तर्घुलित भए कि मध्य र पश्चिम पहाडमा अलिमियाँ नेपाली लोकगीतका सबैभन्दा लोकप्रिय रचनाकार र गायक मध्येका एकबन्न सफल भए ।

सर्लाही जिल्लाको सदरमुकाम मलंगवा यस्तै मलंगकै नाउँमा राखिएको हो । शुरुमा मलंगबाबा भनिने यो ठाउँ पछि मलंगवा हुन गएको हो । यो धार्मिक अन्तर्घुलन हिन्दु र मुस्लिम बीच मात्रै भएको हो भन्ने होइन, यो बौद्ध र हिन्दु, बौद्ध र मुस्लिम, हिन्दु र जैन, यस क्षेत्रमा रहेका प्रायः सबै धर्मबचि पाइन्छ । अझ वर्गचेतना तथा शोषणबाट मुक्तिको मानवीय आकांक्षा, मानवीयता, धर्मनिरपेक्षता, समानता, स्वतन्त्रताका आधुनिक चेतनामा आधारित राजनीतिक संघर्षहरुले त झन् विविध धर्मावलम्बी र समुदायबीच निकटता बढाउँदै लगेको हो । भारतमा महात्मा गान्धीलाई सबैभन्दा प्रिय भजनहरु ‘वैष्णवजन तो तेने कहिए, पीर पराई जाने रे’, वा ‘ अल्लाह ईश्वर तेरे नाम, सबको सन्मति दे भगवान’, वा कबीरको मन्दिरमा होइन, सबै मानिसको हृदयमा भगवान छ भन्ने भावको ‘मोको कहाँ ढुँढे र बन्दे, मैँ तो तेरे पास मे, ना मै कावा, ना मै काशी, ना मै कैलाश मे’ जस्ता कबीरबानी होस, वा नेपालीभाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दिरमा जान्छौँ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो’ जस्ता मानिसभित्र नै ईश्वर बस्छ भन्ने भावको कविताहरु यस्तै आधुनिक चेतना तथा रहस्यवादी उदार मानवीय आध्यात्मिक सन्त कविहरुको मानवीय चेतनाको परिणाम थियो । यस धार्मिक, साम्प्रदायिक र साँस्कृतिक अन्तर्घुलन र सहअस्तित्वको एउटा प्रमुख कारण अर्थ राजनीतिकपनि थियो ।

यस्को कारण, एकातिर सामन्तवादी राज्यसत्ता र शासकवर्ग सबैको निम्ति दुःखदायी तथा शोषक भएकोले त्यसको विरुद्ध एकजुट भएर संघर्षको आवश्यकता थियो भने राज्यको लगान, पोत, जुर्माना, दण्ड र शोषणको रुपमा सबै समानरुपमा रैती हुनुपनि थियो । तात्पर्य के हो भने विगतमा इतिहासले विविध कारण र आवश्यकतावश आ–आफ्ना विशिष्टता सहित फरक धार्मिक र साँस्कृतिक समुदायहरु अन्तर्घुलित र एकजुट हुने अवसर सृजना गरेको थियो । यसै अनुरुप समाजमा राजनीतिक नेतृत्वहरु, समाजसुधारकहरु र सुफी समुदायहरु तथा नयाँ धार्मिक पन्थहरु जन्मेक हुन्, जस्ले विविध धार्मिक समुदायबीच मानवीय सूत्र जन्माएका थिए । म सानो छँदा जनकपुरमा ताजिया (दाहा)को जुलूस निस्कँदा हिन्दुयुवाहरुपनि ‘हुसेन–हुसेन’ भन्दै मुस्लिमयुवा जस्तै लठ्ठी नचाउँथे र सबै रमाउने गर्थे । त्यसरी नै विवाहपञ्चमीको मेलामा जानकीमन्दिरबाट जानकीको डोला बाहिर निस्कँदा मुस्लिम वडाअध्यक्ष सबैभन्दा अगाडी अगाडी हिँडने गथ्र्यो । विगतमा यस्तो दृश्य जनकपुरमा मात्रै होइन, अन्यत्रपनि देखिने गथ्र्यो ।

तर समयसंगै यो धार्मिक र साम्प्रदायिक सदभाव र सहिष्णुतामा कमी आउन थालेको छ । अब मन्दिर र मस्जिद जस्ता धर्मस्थलहरु तथा धार्मिक उत्सवहरु धार्मिक वर्चस्व तथा श्रेष्ठता प्रदर्शनगर्ने तनावपूर्ण अवसरको रुपमा देखिन थालेका छन् । विगतमा धर्म व्यक्तिको निजी आस्थाको विषय थियो, यसैकारण धार्मिक उत्सवहरुमा धर्मभीडू समुदायहरु समान उत्साह र हार्दिकताका साथ उपस्थित हुनेगर्थे । अब केही राजनीति प्रेरित धार्मिक संगठनहरु विकसित भएका छन् । यी संस्थाहरुको विशिष्टता के हो भने यस्मा सामेल मानिसहरुको जीवनशैली अधिकांशतः मध्यवर्गीय कारोबारी चरित्रको हुने गर्छ । यिनीहरु मध्ये अधिकांश धार्मिक ज्ञानबाट अनभिज्ञ हुने गर्छन् । तर यिनीहरु उदार धार्मिक चेतनालाई संकीर्ण बनाउँछन् र धार्मिक उत्सवहरुलाई जड धार्मिक उत्तेजनाको नाममा आफू अनुकूल नियन्त्रण गर्न खोज्छन् । स्थिति कतिसम्म जटिल हुँदैगएको छ भने यी धार्मिक राजनीतिक संगठनहरुले मन्दिर र मस्जिदहरुलाई समेत प्रभावित र नियन्त्रण गर्न खोजेको जस्तो देखिन्छ ।नेपाली समाजमा यो रोग प्रायः अत्यन्त न्यून थियो, तर केही वर्षदेखी यो आयातित रोग बढी नै देखिन थालेको छ । यो रोग कुनै एउटाको होइन, प्रायः सबै धर्म समुदायभित्र यो संकीर्णता, जडता र आक्रामकता समानरुपमा देखिन थालेको छ । हुन त यस वर्षको मोहर्रम वा ताजिया (दाहा) मा अधिकांशतः सौहार्द्रपुर्ण नै रह्यो, तर कतै कतै झडपको स्थितिपनि देखियो । यस पटक काठमाँडौमा बोलबमको नाममा केही मानिसहरु तरवार सहित देखिएको तस्वीर मिडिया र सामाजिक सञ्जालमा देखियो । केही ठाउँमा मोहर्रमको जुलूसलाई अराजक हुन नदिन प्रशासनले नियन्त्रण गर्न खोज्दा झडपको स्थिति समेत सिर्जना भएको समाचार आयो ।

सामाजिक हार्दिकता तथा अग्रगामी चेतनाको दृष्टिले यस स्थितिप्रति सचेत भइएन भने आगामी दिनहरु जटिल हुनसक्ने देखिन्छ । हाम्रो समाज अधिकांशतः धर्मभीडू समाज हो । समाजमा एकातिर धार्मिक सौहार्द्रताको इतिहास छ, भने अर्कोतिर धार्मिक संकीर्ण चेतना तथा कटु संघर्षका इतिहासपनि छन्, जो साम्प्रदायिक संकीर्ण भाष्यको रुपमा समाजमा स्थापित छ । सकीर्ण राजनीति र अन्य स्वार्थको निम्ति राजनीतिक प्रेरित आधुनिक धार्मिक संगठनहरुले यी संकीर्ण भाष्यहरु धर्मभीडू समाजमा प्रसारित गर्छन् र र यस्ले समाजमा साम्प्रदायिक कटुता निर्माण गर्छ । यसले धर्मभीडू समुदायको मनोविज्ञानलाई प्रभावित गर्छ र विविध माध्यमबाट यसैको फाइदा उठाएर गैर सामाजिक तत्वहरुले कटुता फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न चाहन्छन् । वर्तमान गणतन्त्रको एउटा विशेषता धर्मनिरपेक्षतापनि हो, जो मधेश, पहाड र हिमाल सबैतिरका जनताहरुले दिएको शहादत, त्याग र तपस्याबाट प्राप्त भएको हो । यस व्यवस्थाले सबै धर्म र समुदायलाई समान दृष्टिले हेर्छ । यस गणतन्त्र र धर्मनिरपेक्षताबाट प्रभावित तथा सत्ताच्युत भएको राजनीतिक तथा प्रतिगामी गैरसामाजिकशक्तिहरु यस संकीर्णता तथा तनावपूर्ण स्थितिको फाइदा उठाएर आफ्नो गुमेको शक्ति पुनः प्राप्त गर्न चाहन्छ । अफसोस त के छ भने यस विषयमा राजनीतिक दलहरु र बौद्धिक समुदायपनि प्रायः मौन नै बस्न चाहन्छन् । नेपाली समाजको स्वाभाविक सौहार्द्रता तथा साँस्कृतिक सहिष्णुता कायम राख्नका निम्ति समाज, राजनीति तथा सँस्कृतिको सबै हिस्साबाट सकारात्मक स्वर सुनिनु पर्छ, प्रयत्न गरिनु पर्छ ।

समाजलाई गैरसामाजिक तत्वको जिम्मा लगाएर ढुक्क हुनुको अर्थ सामाजिक विखण्डनलाई प्रोत्साहित गर्नु हुनेछ । के बुझ्नु जरुरी छ भने रोग, भोक, अशिक्षा, जातपात, अन्धविश्वास तथा गरिबी जस्ता विषयमा शोषकवर्गसंग लडनुको साटो धार्मिकताको नाममा आफैमा लडनुको अर्थ शोषकवर्ग र धूर्त राजनीति र राजनीति प्रेरित धर्मलाई थप शोषणको निम्ती मौका दिनु हो । मुस्लिम होस, हिन्दु होस वा कुनै अन्य धर्मावलम्बी, सचेत भएर सोच्ने हो कि ? धार्मिक होइन, मानवीय हुनुमा गर्व गरौँ, तथा यसको निम्ती सद्प्रयत्न गरौँ !

Comment


Related News

Latest News

Trending News