अपडेट 
२०८० श्रावण १७, बुधबार ०७:३५

मधेश प्रदेशका नवनियुक्त गृह सञ्चार तथा कानुन मन्त्री मो. समिमले आफूले प्राप्त गरेको जिम्मेवारी चुनौती र अवसर दुबै रहेको बताएका छन् ।

मंगलबार सप्तरीको राजविराजमा नेपाली कांग्रेस सप्तरीद्वारा आयोजित सम्मान कार्यक्रममा उनले सो कुरा बताएका छन् । ‘यो मन्त्रालय अन्य मन्त्रालयको तुलनामा धेरै संवेदनशील र महत्वपूर्ण हो, उनले भने, ‘त्यसैले आफूले प्राप्त गरेको जिम्मेवारी चुनौती र अवसरको रुपमा लिएको छु ।’ आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने तथा अरुलाई पनि गर्न नदिने दाबीका साथ उनले यो मन्त्रालयबाट हुने सबै खालको गतिविधि र सेवा प्रवाह पारदर्शी र जनहितमा अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

सप्तरीको क्षेत्र नं. ३ को क बाट प्रदेशसभा सदस्यमा कांग्रेसबाट निर्वाचित उनले संगठन बलियो बनाउन कुनै गुट– उपगुटमा नलागि एक्तावद्ध भइ अघि बढ्न पार्टीका स्थानीय नेता कार्यकर्तालाई आग्रह समेत गरे । प्रदेश प्रहरी परिचालन मेरोलाई आफ्नो विशेष प्राथमिकतामा रहने बताउँदै उनले संघीय सरकारको कानुनसँग नबाझिने गरी कानुन निर्माण र संशोधन गरी प्रदेश सरकारले आफ्नै प्रहरी परिचालन गर्ने जानकारी दिए । प्रदेशको विकासका सम्भावनाहरुलाई अध्ययन गरी जनताका आवश्यकता अनुसार प्रदेशको शासनसत्ता संचालन गर्न कानुन निर्माण गर्ने उनको भनाइ थियो ।

सम्मान कार्यक्रममा सप्तरीका कांग्रेस सभापति रामदेव साह, सचिव सनत मण्डललगायतले शुभकामना दिँदै पार्टीबाट प्रतिनिधित्व गरेका मधेश प्रदेशका मन्त्रीहरुले जनहितमा नयाँ नयाँ नीति र कार्यक्रम ल्याउने विश्वास व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News