अपडेट 
२०८० श्रावण १७, बुधबार ०७:३८

बाराको जितपुर सिमरा–१६ टाङीयाबस्तीमा स्थानीय र प्रहरीबीच भीडन्त भएको छ ।

इलाका प्रहरी कार्यालय निजगढबाट मंगलबार बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी गरी पक्राउ गरेका ३५ वर्षीय सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भीडन्त भएको छ । करीब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको संख्यामा रहेका प्रहरीटोलीमाथि ढुंगा मुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडीसहित उम्काएका छन् । दोहोरो भीडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बाँया हातमा चोट लागेर घाइते बनेका छन् भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाइते भएका छन् ।

स्थानीय प्रहरी विरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाइ फायरसमेत गरेको थियो । ठूला हतियार रहेको सूचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो । छापामारीपछि लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुचुल्का बनाएर लैजाने क्रममा जंगल छेउ बाटोमा दोहोरो भीडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र नग्रा ३ वटा बरामद गरेको बोगटीले जानकारी दिए । लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउँदै खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News