अपडेट 
२०८० श्रावण १८, बिहीबार ०७:२८

नेपाल रेडक्रस सोसाइटी धनुषाद्वारा सञ्चालित जनकपुरधामको जानकी आँखा अस्पतालमा लाखौंको अनियमितता भएको खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका –८ मा अवस्थित आँखा अस्पताल भित्र रहेको चश्मा तथा औषधि सेवा विभाग(चश्मा पसल) मा बैशाख २ गते ९ लाख ९७ हजार ७ सय ५६ रुपैयाँको सामान आएको अस्पतालका सूचना अधिकारी रुदलप्रसाद साहले बताएका छन् । त्यसपछि, जेठ २३ गते स्टोरका कर्मचारी शशीकान्त झाले माग फारम भरेका थिए । त्यो माग फारममा अस्पतालका मेडिकल सुपरिडेन्ट आशिष बोहराले हस्ताक्षर गरी स्टोरमा पठाइएको बुझिएको छ । बैशाख २ गते नै खरिद भइसकेको सामान जेठ २३ गते मात्र स्टोरमा बुझाइएको भनिएको छ । अस्पतालमा रहेको चश्मा पसलमा सामान ल्याउने काम टेन्डरमार्फत हुने गरेको थियो । तर पछिल्लो पटक अस्पतालकै कर्मचारीको स्वामित्वमा भएको भुटनदेवी अप्टिकललाई टेन्डर पारिएको छ । खरिद प्रक्रिया पूरा नै नगरी अस्पतालका मेसु बोहराले व्यापकरुपमा रकमको हिनामिना गरेको स्रोतले जनाएका छन् ।

यसैबीच, आँखा अस्पताल संचालक समितिका कोषाध्यक्ष तथा खरिद समितिका प्रमुख धीरेन्द्र कुमार झाले भने यस घट्नालाई संचालक समितिको बैठकबाट व्यवस्थापन समितिमार्फत छानबिन गरिने निर्णय गरिएको बताएका छन् । झाले ७ सदस्यीय खरिद समितिको बैठकबाट चश्मा तथा औषधि सेवा विभाग बाट खरिद भएको फ्रेम तथा सिसा खरिदमा भएको त्रुटिलाई संचालक समितिमा पेश गर्ने निर्णय सर्वसम्मतबाट गरिएको बताए । ‘खरिद प्रक्रिया अस्पतालको नियमसंगत भएको देखिएन्’ उनले भने, छानबिन समितिले दिएको प्रतिवेदन सञ्चालक समितिको बैठकमा पेश गरिनेछ ।

अस्पतालमा भएको आर्थिक अनियमितताबारे जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष दिनेश सिंहले चासो लिएका छन् ।उनले अस्पताललाई पत्राचार गरी खरिद प्रक्रिया सम्बन्धी आवश्यक कागजातहरु माग गरेका छन् । जानकी आँखा अस्पतालमा धनुषा, महोत्तरीलगायत सीमावर्ती भारतीय मधुबनी, सीतामढी र दरभंगालगायत जिल्लाका आँखाका रोगीहरु उपचारका लागि आउने गरेका छन् । आँखाका रोगीहरुको अत्यधिक चाप रहने र अप्रेशनसमेत हुने गरेको जानकी आँखा अस्पतालमा आर्थिक कारोबार पारदर्शी नरहेको आरोप लागेको छ । अस्पतालले खरिद गर्ने, औषधि,चश्मालगायतका उपकरणहरु प्रतिस्पर्धात्मक प्रणालीबाट नभइ मिलेमतोबाट गरेको देखिन्छ । झण्डै १० लाखको चश्मा घस्ने सिसा खरिद गरेको भनिए पनि बिल मात्र अस्पतालमा आएको देखिन्छ । अस्पतालले खरिद गरेको घस्ने सिसाका लागि स्टोरसित पूर्व स्वीकृति लिएको देखिदैन् । खरिद गरिएको सामानको स्टोर दाखिला र खर्चको माग फार मसमेत नभरिएको अवस्थामा सोझै बिल भुक्तानीका लागि लेखामा पुगेको स्रोतले जनाएका छन् । स्रोतका अनुसार करीब १० लाखको सामान खरिद नै नगरी खर्च भएको देखाएर भुक्तानी लिन बोहराले चलखेल गरेका छन् ।

आँखा रोगीहरुको लागि विश्वसनीय अस्पतालको रुपमा रहेको जानकी आँखा अस्पतालमा आर्थिक अनियमितता हुने गरेको र बिरामीहरुलाई दिने सेवा सुविधामासमेत कमी आएको गुनासो आउन थालेको वडा अध्यक्ष सिंहले बताए । वडा अध्यक्ष सिंहले पत्रमार्फत अस्पतालमा भएको सामान खरिदमा अपनाइएको प्रक्रिया सम्बन्धी कागजातहरुको प्रमाणित प्रतिलिपि माग गरेका छन् । वर्षदेखि अस्पताल भित्र संचालनमा रहेको औषधि तथा चश्मा पसलको खरिद प्रक्रियामा व्यापक आर्थिक अनियमितता भइरहेको गुनासो पटक पटक आउने गरेको उल्लेख गर्दै अध्यक्ष सिंहले भने,लिखित रुपमा नै सबै कागजातहरु माग गरिएकोले कागजात प्राप्त भएपछि छानबिन गरी आवश्यक प्रक्रिया अगाडि बढाइने छ । चश्माको फ्रेम सिसा तथा औषधि खरिदको टेन्डर प्रक्रियामा अस्पतालका मेडिकल डाइरेक्टर तथा प्रसासनको मिलेमतोमा लाखौँ रकमको चलखेल भइरहेको बताइएको छ । ‘आर्थिक अनियमिततालाई न्यून गर्न कागजातका लागि पत्राचार गरिएको छ ’ अध्यक्ष सिंहले भने, सामाजिक संस्थाले सञ्चालन गरेको आँखा अस्पताललाई पारदर्शी र प्रभावकारी बनाउन लागेको छु ।

Comment


Related News

Latest News

Trending News