अपडेट 
२०८० श्रावण १८, बिहीबार ०७:४९

बारा र रौतहटको सिमानामा पर्ने धन्सार पुल नजिकको सडकबाट बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई पनि प्रहरीले बुधबार बिहान बेवारिसे अवस्थामा फेला पारेको छ ।

बच्चा फेला परेको स्थान नजिक रोएर हिँडिरहेको अवस्थामा प्रहरीले चार महिने शिशुको आमालाई उद्धार गरेको छ । जङ्गलको बीचमा पर्ने सडकमा महिला रोएर हिँडिरहेको खबर पाएपछि पुगेको इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोलीले महिलालाई उद्धार गरी कार्यालय ल्याएको छ । प्रहरीका अनुसार उद्धार गरिएकी महिला भारत मोतिहारीकी छन् । महिलाले आफ्नो घर मोतिहारी रहेको र श्रीमानले आफूसहित शिशुलाई ल्याएर जङ्गलमा छाडेको बयान दिएकी छन् । श्रीमानले आफूलाई र शिशुलाई छुट्टाछुट्टै स्थानमा छोडेर भागेको उनले जानकारी दिएकी छन् । पानीले भिजेको अवस्थामा फेला परेकी महिलाको शारीरिक र मानसिक अवस्था कमजोर देखिएको प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

श्रीमानले जङ्गलको बिचमा छाडेर हिँडेपछि महिला आफ्नो सन्तान खोज्दै हिँडेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । महिलाले दिएको जानकारी अनुसार प्रहरीले उनको माइती पक्षलाई खबर गरेको छ । उद्धार गरिएकी महिलालाई प्रहरीले मङ्गलबार फेला परेको शिशुको तस्विर देखाएपछि उनी रुन थालेकी थिइन् । उनले आफ्नो छोरालाई भेटाइदिन प्रहरीलाई आग्रह गरेकी थिइन् । प्रहरी निरीक्षक श्रेष्ठले महिलाको माइती पक्ष आएपछि बच्चाको आधिकारिकता पुष्टि हुने र परिवारको जिम्मा लगाइने बताए । पुल नजिकको सडकबाट उद्धार गरिएको शिशुलाई कलैयास्थित प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ । सडकबाट उद्धार गरे लगत्तै अस्पताल लगिएको शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Comment


Related News

Latest News

Trending News