
सरकारले पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त बैठकले राष्ट्रिय बीउ बिजन समितिको सदस्यमा बीउ बिजन उद्यमी अग्नीप्रसाद अर्याल र शारदा निरौलालाई नियुक्त गर्ने निर्णय भएको पनि जानकारी गराइन् ।
उनका अनुसार बैठकले समितिकै सदस्यमा बीउ बिजन उत्पादक तथा कृषक रामजीप्रसाद सापकोटा र प्रेमाकुमारी अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको छ ।
बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गर्ने र सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्रा.डा.लोना श्रेष्ठलाई तोक्ने निर्णय गरेको छ ।