अपडेट 
२०८० श्रावण १९, शुक्रबार ०७:५०

जिल्ला प्रशासन कार्यालय सर्लाहीले नागरिकता दिने प्रक्रिया झन्झटिलो बनाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध जनाएका छन् ।

नागरिकता लिन आउने सेवाग्राहीलाई अनावश्यक दुख दिएको आरोप लगाउँदै जसपाले बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका थिए । नागरिकता लिनका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पूरा भए पनि कर्मचारीले सेवाग्राहीलाई दुख दिने गरेको जसपाका पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साहले आरोप लगाएका छन् । जनतालाई सेवा दिनुको सट्टा दुख दिने गरेको साहको आरोप छ । आगामी दिनमा सेवा प्रवाहमा सुधार नभए जिल्लामा आन्दोलन गर्ने साहले चेतावनीसमेत दिएका छन् । कागजात पुगेका सेवाग्राहीले सरल र सहज रुपमा सेवा पाउनुपर्ने उनको कथन छ । ऐनले तोकेबमोजिमको प्रक्रिया पूरा गर्नेलाई सहज रुपमा नागरिकता उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘जिप्रकाले कसैसित कुनै विभेद नगरी सरल रुपमा पारदर्शी ढंगले सेवा प्रवाह गरिरहेको छ ’ उनले भने, आवश्यक कागजात संलग्न नरहेकाहरुलाई नागरिकता दिन सकिदैन् ।

नागरिकताको विषयलाई लिएर जसपाका नेता कर्याकर्ताले केहीबेर जिप्रका कार्यालय अगाडि धर्ना दिएका थिए । धर्नाको क्रममा प्रअिज यादव विरुद्ध नाराबाजीसमेत गरिएको थियो । सुरक्षाको कडा व्यवस्था गरिएकाले कुनै अप्रिय घटना हुन सकेन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने कानुन बनिसके पनि बिचौलियामार्फत अतिरिक्त रकम असुल गरी नागरिकता दिने गरिएको सेवाग्राहीहरुको आरोप छ । बिचौलियामार्फत जानेको नागरिकता एकै दिनमा बन्ने गरेको तर प्रक्रिया पूरा गरी सोझै जिप्रकामा जानेलाई कयौं दिन फर्काउने गरिएको आरोप उनीहरुले लगाएका छन् । जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन सरकारले संघीय संसदबाट कानुन नै बनाएको छ । तर त्यसको कार्यान्वयनमा बिचौलियाहरु प्रभावकारी बनेका छन् । उनीहरुले नागरिकता बनाइदिन मोटो रकम असुल गरिरहेको आरोप लाग्ने गरेको छ ।

Comment


Related News

Latest News

Trending News