अपडेट 
२०८० श्रावण १९, शुक्रबार ०७:५९

सामान्यतथा एउटा निश्चित भूभागमा बसोवास गर्ने मानिसहरूका सम्पूर्ण सङ्ख्यालाई जनसङ्ख्या मानिन्छ । सबै देशका लागि जनसङ्ख्या अपरिहार्य छ । कुनै पनि मुलुकमा जनसङ्ख्या भएन भने प्राकृतिक स्रोत र साधनहरूको समुचित उपयोग हुन सक्दैन । अर्कोतिर मुलुकले धान्न नसक्ने खालको जनसङ्ख्या भएमा यसले मुलुकलाई बढी शोषण गर्न थाल्छ । त्यसैले जनसङ्ख्या नियन्त्रित÷उपयुक्त आकारको भएमा नागरिकहरूको जीवन गुणस्तरीय हुन जान्छ । हाम्रा चारैतिर देखिने सम्पूर्ण कुराहरूको समष्टिगत रूपलाई वातावरण भनिन्छ । यसलाई अर्को रूपमा लिँदा पृथ्वीमा विद्यमान सम्पूर्ण भू– जल र वायुमण्डलका सम्पूर्ण भौतिक, रासायनिक, जैविक र अजैविक तत्वहरूका समष्टि रूप नैं वातावरण हो । मानिस वातावरणको एउटा अंग मात्र छ ।

मानिस अन्य जीवजन्तुभन्दा विकसित जीवको नाताले प्राकृतिक स्रोतसाधनमाथि बढी कब्जा गरेको छ । वातावरण माथिको प्रभावलाई हरहमेशा ध्यानमा राखेर वातावरणीय स्रोतसाधनको प्रयोग गर्दै गयौं भने मानिस र वातावरण बीचको मित्रता भंग हुँदैन । यदि हामी वातावरणलाई ख्याल नगरेर जथाभावी प्रयोग गर्दै गयौं भने वातावरणले हामीसँग रहेको मित्रता भंग गरी हामीलाई हानी नोक्सानी गर्न पछि पर्दैन । हामी कहिले पनि भुल्नु हुँदैन कि हामी वातावरणभन्दा शक्तिशाली छौं । वातावरण विग्रिन्छ वा सुध्रिन्छ यसको असर मानिस मात्र थाहा पाउन सक्छ । वातावरण सन्तुलित हुनका लागि प्राकृतिक स्रोत र साधनहरूको समुचित रूपले उपयुक्त मात्रामा उपयोग हुनु अति आवश्यक हुन्छ । प्रारम्भमा पृथ्वीमा बस्ती पातलो थियो र प्राकृतिक स्रोत र साधनहरूको अनियन्त्रित उपभोग भएको थिएन तर औद्योगिक विकास र जनसङ्ख्या तीब्र बृद्धिले गर्दा प्राकृतिक स्रोत र साधनहरूमा बढी असर पर्न थाल्यो, जसले गर्दा मानवहरूमाथि अनेकौं नकारात्मक असर पर्न थाले । अहिले विश्वकै वातावरणीय अवस्था कमजोर हुँदै गएको देखिन्छ ।

यसरी दिनप्रतिदिन वातावरणीय ह्रासले गर्दा मानिसहरू छट्पटाउन थालेका छन् । वातावरण र जैविक प्राणीहरूबीच घनिष्ट सम्बन्ध छ । कतिपय वातावरणविद्हरूले वातावरण र मानिसलाई ‘एउटै सिक्काका दुई पाटा’ वा ‘एउटै रथका दुई पाङ्ग्रा’ मानेका छन् किनभने एउटाको अभावमा अर्कोको अस्तित्व रहँदैन । जीवित प्राणीबिना वातावरण र वातावरणविना जीवित प्राणीहरूको कुनै अस्तित्व रहँदैन । आधुनिकीकरण, औद्योगिकीकरण, सामाजिक, सांस्कृतिक क्रियाकलापहरूका सञ्चालनले गर्दा वातावरणमा असर पर्न गएको पाइन्छ । जनसङ्ख्या र वातावरणीय स्रोतहरू बीचमा ऋणात्मक सम्बन्ध छ । जनसङ्ख्या बढ्दै गयो भने स्रोतसाधनहरू घट्दै जान्छ भने जनसङ्ख्या घट्दै गयो भने स्रोतसाधनमा बृद्धि हुन जान्छ । यसलाई नियन्त्रण गर्नु आवश्यक छ । विश्वका सबै जीवजन्तु मध्ये मानिस सबैभन्दा विवेकशील प्राणी रहेको हुनाले यसको जिम्मेवारी पनि बढी छ । यसलाई सन्तुलनमा राख्नु भन्दा अझ असन्तुलन बनाउन नै उद्दत छन् । विश्वमा देखिएका हातहतियारको होडवाजीले गर्दा विश्वका वातावरणीय अवस्था नै आक्रान्त देखिन्छ । विश्वका शक्तिशाली राष्ट्रहरू आफ्ना शक्ति प्रदर्शनमा स्थल, जल, आकास, जलवायु लगायत सबै क्षेत्रलाई आक्रान्त पारेका छन्

। भोलि यदि पृथ्वी नै घायल भयो भने मानिसको जीवन कहाँ जान्छ, विचारणीय कुरो रहेछ । पृथ्वी सन्तुलनमा बाँचेको छ । यदि हामी पृथ्वीको वर्तमान स्वरूपलाई हेर्दा ज्ञात हुन्छ कि पृथ्वीको धरातलमाथि पर्वत, पठार, मैदान, झील, सागर, महासागर एवं द्वीप आदि अनेक भू–रूप विद्यमान छन् । यी सबै भू–रूप भिन्न भिन्न भएपनि यी सबै आकृतिहरू कुनै न कुनै व्यवस्था अनुसार सन्तुलित छन् । जुन नियम अनुसार यी सबै भू–रूप स्थिर छन् । यसैलाई भू–सन्तुलन नामले जान्न थालियो । पृथ्वीको धरातलमाथि जहाँ कहीँ पनि सन्तुलन विद्यमान छ । यसमा पर्वत कम घनत्व भएको पदार्थबाट निर्मित छ भने समुद्रको घनत्व बढी हुन्छ । त्यसैले दुबै ठाउँको बीचमा सन्तुलनता देखिन्छ । यिनीहरूका बीचमा जब कुनै प्रकारको असन्तुलता हुन आउँछ भने विभिन्न किसिमका प्राकृतिक प्रकोपहरू जस्ता घटनाहरू छर्लग देखिन आउँछन् । उदाहरणको रूपमा भुँइचालो, भूस्खलन, भूक्षय, सुनामी, बढी, जस्ता घटनाहरूलाई लिन सकिन्छ । यसै सम्बन्धमा यहाँ जंगल सन्तुलनताको एउटा उदाहरण प्रस्तुत गरिन्छ । जंगललाई प्रकृतिले स्वयं नियन्त्रण गरेर सन्तुलनमा राखेको हुन्छ । जंगलमा विभिन्न किसिमका जीवजन्तु, वनस्पति, चराचुरूँगी जस्ता जन्तुहरू एकअर्कामाथि निर्भर हुन्छन् ।

बाघको संख्या बढ्दा हरिण जस्ता जनावरहरूका सङ्ख्या घट्न थाल्छ । तब ठीक उल्टो प्रक्रिया शुरू हुन्छ । हरिण जस्ता जनावर सङ्ख्या कम हुँदा वाघलाई खानाको अभाव हुन थाल्छ अनि वाघको संख्या घट्न थाल्छ । यसरी जंगलमा जीवजन्तुहरूका बीचमा यस्ता घट्ने/बढ्ने प्रक्रिया निरन्तर रूपमा संचालित रहन्छ । त्यहाँ प्रवृतिले स्वतः सन्तुलनमा ल्याउँछ । यस्तै प्रक्रिया वातावरणमा जीवन बिताइ रहेका जीवजन्तुसँग पनि हुन्छ । मानिसको सङ्ख्या बढ्दा प्राकृतिक स्रोतसाधनमा कमी शुरू हुन्छ । मानिसले प्राकृतिक नियमलाई तोडेर अगाडी बढ्न खोज्छ । तर प्रकृतिको सामुने कसैको केही चल्दैन । मानिसले भौतिक रूपमा धेरै विकास गरिरहेछ भने सोचले खुशी भएपनि विकासको साथसाथै विनास पनि लखेटिरहेको हुन्छ । अहिले पृथ्वीको भार बहन गर्न सक्ने जनसङ्ख्याभन्दा बढी जनसङ्ख्या भएका छन् । यसै कारणले मौसममा परिवर्तन देखिन्छ भने वर्षामा अल्पबृष्टि÷अतिवृष्टि जस्ता घटनाहरू ठाढै देख्न पाइन्छ । अहिले नेपाल मात्र होइन विश्वका तमाम देशहरू चाहे विकसित देशहरू हुन् वा अल्पविकसित देशहरू प्राकृतिक घटनाहरूबाट कोही छुटेका छैनन् । जनसङ्ख्या बृद्धिकै कारणले जंगल फडानी, कृषि खेतीको विस्तार, नदीनाला कृत्रिम रूपले नियन्त्रण, वर्षाको अभाव, सुखा, पैरो, भू–क्षय, महामारी रोगहरू जस्ता कुराहरू अहिले जहाँ तहीँ हेर्न पाइन्छ । विश्वका ठूल्ठूला जंगलहरू आगोको चपेटामा परेर जलीरहेका छन् ।

जंगल जीवजन्तु सखाप भइरहेका छन् । जलमंडल पनि मान्छेले उत्पादन गरेको फोहर मैलाबाट प्रदुषित बन्दै गएका छन् । आजभन्दा ५०–६० वर्ष अघि विश्वको जनसङ्ख्या त्यति धेरै थिएन । पृथ्वीले भार सहन गर्न सक्ने जति जनसङ् ख्या भएकोले प्राकृतिक स्रोत साधनसँग सन्तुलित अवस्था थियो । अहिले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी नै देखिएकाले विश्वमा रहेका प्राकृतिक सम्पदाहरू अतिक्रमित अवस्थामा आइसकेका छन् । वन्यजन्तु तथा वनस्पति मध्ये कतिपय लोप भैसकेका छन् । कतिपय लोप अवस्थामा पुगेका छन् । यसरी जंगल विनाशले गर्दा पानीको अवस्था निकै कमजोर देखिन्छ । हरिया पहाडहरू अहिले उजाड अवस्थामा आइसकेका छन् । डाँडाहरू नाङ् गो देखिन्छ । वर्षायाममा मात्र होइन, सुख्खा समयमा पनि भूस्खलन निरन्तर भैरहेको हेर्न पाइन्छ । नेपालको सन्दर्भमा कुरागर्दा अझ यसको हालत बेहाल देखिन्छ । नेपाल विश्वमा जनतको देश रहेपनि अहिले चारैतिर चिन्तै चिन्ताले भरिएका देश बनेको छ । तराई, पहाड र हिमालले सुसञ्जित यस देशको जलवायु निकै मनोरम थियो । तर अहिले तीब्र जनसंङ्ख्या बृद्धि तथा राम्रो व्यवस्थापनको अभावले गर्दा देश दिनप्रतिदिन दयनीय अवस्थामा झर्दै गएको छ । देश चलाउनेहरू आफ्नै स्वार्थ पूरा गर्न लिप्त छन् ।

एक समय तराईमा भएको उर्बर भूमिले दिएको अन्न पानीले हामी आफ्ना छाक पूरा गरी निर्यात पनि गथ्र्यौ । अहिले न त्यो तराई छ, न त्यो पहाड । पहाडका सुन्दर वन र डाँडाहरू नाङ् गो भएको कारणले दिनप्रतिदिन पहाड र हिमाल पनि प्राकृतिक स्रोत साधनको कमीले गर्दा जनता त्राहिमाम् त्राहिमाम् गर्दै आफ्ना जिन्दगी बिताउन बाध्य छन् । जनसङ्ख्यालाई व्यवस्थापन नगर्दा पहाड र हिमाल खाली हुँदै तराईको उर्बर भूमिलाई आवास क्षेत्रमा परिवर्तन गरिरहेका छन् । केहिवर्ष अघिको भनाइ ‘हरियो वन नेपालको धन’ कहाँ गयो ? अहिले हामी विदेशबाट काठहरू आयात गरिरहेका छौं । नदी÷नालाको त्यस्तै हाल छ । पानीको मुहान सुक्दै गइरहेको देखिन्छ । भोलि विद्युत उत्पादन कसरी गर्ने ? वर्तमान समयमा विजुली विचेर हामी घाटा पूर्ति गर्छौ भने सोचमा छौं । पानीको अभावले विद्युत उत्पादनको अवस्था ठीक रहन्छ की रहँदैन के ठेगान ? सम्पूर्ण गाउँबाट मानिसहरू विस्तारै शहरतिर बसाइँसराइ गरिरहेका छन् । गाउँदेखि सहरसम्मका युवाहरू विदेश पलायन गरिरहेका छन् । देश युवाविहीन बन्दै गएको छ । गाउँदेखि सहरसम्म महिला, बृद्धबृद्धा तथा बालबालिकाहरू मात्र बाँकी छन् । सहरको विस्तारीकरणले गर्दा सहर प्रदूषित हुँदै गएका छन् । उब्जिने जग्गाहरू विस्तारै आवास क्षेत्रमा परिणत हुँदै गएको छ ।

काठमाण्डुलाई मात्र एउटा उदाहरणको रूपमा हेर्दा के काठमाण्डु उपत्यकाले काठमाण्डुका जनसङ्ख्यालाई कसरी पाल्न सक्छ त ? विदेशको पैसाले अन्न वस्त्र, आवश्यक सरसमान त किन सकिएला तर पृथ्वीको सन्तुलन कसरी कायम राख्न सकिएला ? भोलि काठमाण्डूले भार बहन गर्न नसकेर सन्तुलन बनाउन भूइँचालो, भूस्खलन, भूक्षय, महामारी, प्रदूषित नदी, खाने पानी जस्ता कुरालाई कसरी नियन्त्रण गर्न सकिएलान । हुनत हाम्रो देश यस्तै भूकम्पीय क्षेत्रभित्र परेकै छ । हामीले जनसङ् ख्या नियन्त्रण गरेर वातावरणसँग सन्तुलन कायम गरेर अगाडि नबढ्दासम्म यस्ता प्राकृतिक घट्नाहरूको सामना निरन्तर गर्नुपर्ने हुन्छ । यस्ता दुर्दशालाई हटाउने वा नियन्त्रण गर्ने एउटै उपाय छ जनसङ् ख्या र प्राकृतिक स्रोतसाधन बीचको सन्तुलनता । यसका लागि एउटा काठमाण्डु एउटा उदाहरण मात्र हो । यस्ता नेपालमा अनेकौं नगरहरू छन जो यस्ता समस्यासँग जुधिराखेका छन् ।

निष्कर्षमा आउँदा नेपाललाई जोगाउने सबभन्दा उत्तम उपाय जनसङ्ख्या र वातावरण बीचमा सन्तुलन हुनुपर्छ । यसलाई रोक्न बसाइँसराइलाई नियन्त्रण गर्नु पर्छ । चाहे आन्तरिक होस् वा बाह्य बसाईसराइ किन नहोस् ! दुबैलाई जनसङ्ख्या तथा वातावरणविज्ञका अनुसार नियन्त्रण नगरी हामी नेपाललाई जोगाउन सक्दैनौं । तराईलाई जोगाउन चुरिया क्षेत्रलाई सुरक्षित गर्नु पर्ने हुन्छ । पहाड र हिमाललाई जोगाउन पर्यटकहरूलाई व्यवस्थित गर्नु पर्छ । वनजंगलको क्षेत्रलाई विस्तारित रूपमा अगाडि बढाउनु पर्नेहुन्छ । कुन ठाउँमा कति जनसङ्ख्या उयुपक्त हुनेछ त्यतिलाई बसोवासको अनुमति दिनुपर्छ । अहिलेको जथाभावी आवास निर्माणलाई रोक्नै पर्ने हुन्छ । खेतीयोग्य जग्गालाई सुरक्षित गर्नै पर्दछ । पहाडमा फलफूल उत्पादन हुने जग्गालाई सुरक्षित गर्नै पर्दछ । हिमालमा चरणक्षेत्रलाई जोगाउनै पर्दछ । भेडाबाख्रा, चौडीगाई जस्ता पशुहरूका जीवनलाई सुरक्षित गर्नै पर्दछ । यदि यस्ता कुरामा समयभित्रै ध्यान गएन भने भोलिको अवस्था अझ बिग्रनबाट कसैले रोक्न सक्दैन । अस्तु ।

Comment


Related News

Latest News

Trending News