अपडेट 
२०८० श्रावण १९, शुक्रबार १४:१३

नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा गाउँ सेवा दल गठन गर्ने भएको छ ।

स्थानीय नागरिकको सुख, दुःखको सहयात्रीका रुपमा मानवीय सेवाका कामहरु गर्ने उद्देश्यले कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा गाउँ सेवा दल गर्न लागेको हो । केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम सबै स्थानीय तहमा सेवा दल गठन गर्न परिपत्र गरिएको केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

‘देशभर सबै पालिकामा हाम्रो पार्टीको संगठन छ, ती संगठनको मातहतमा रहने गरी गाउँमा रहेका युवाहरूको संलग्नतामा ‘गाउँ सेवा दल’ गठन हुन्छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘ती सेवा दलले त्यस क्षेत्रमा मानवीय सेवाका विभिन्न गतिविधि गर्छन्, जनताको सुखदुखमा साथ दिन्छन् ।’ उनका अनुसार गत साता बसेको केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम ७५३ वटै पालिकालाई त्यस्तो सेवा दल गठन गर्न परिपत्र गरिसकिएको छ ।

गाउँपालिका क्षेत्रमा गाउँ सेवा दल गठन हुने र सहरी क्षेत्रमा भने फरक नाम दिएर सेवा दलहरू सञ्चालन हुने उनले बताए । ‘ठाउँ अनुसार समाजमा विभिन्न समस्या आउँछन् । कतै पहिरो जान्छ, कतै आगलागी हुन्छ । यस्ता प्राकृतिक विपद्‌मात्रै होइनन्, सामाजिकरुपमा समेत विभिन्न समस्याहरू आउँछन्, त्यस्तो समस्याका बेला सेवा दल नागरिकको साथ हुन्छ,’ नेता विश्वकर्माले भने ।

केन्द्रीय कार्यसमिति बैठकले गाउँ, वडा, टोल तहमा मानवीय सेवाका कामलाई व्यवस्थित गर्न सेवा दल गठन गर्ने निर्णय गरेको थियो । सेवा दल गठनबारे कार्यविधि तयार गरेर सबै तहलाई पठाउने तयारी रहेको छ ।

कांग्रेसका विद्यार्थी, तरुण र महिला लगायत दर्जनौं भ्रातृ तथा शुभेच्छुक संस्थाहरू छन् । तर ती भ्रातृ तथा शुभेच्छुक संस्थाहरू समयमा महाधिवेशन नहुने र नेताले चाहेका व्यक्तिको कब्जामा पर्ने परिस्थितिले कांग्रेस गिजोलिएको छ । भ्रातृ तथा शुभेच्छुक संस्था कामविहीन बनेपछि कांग्रेसले जनतासँग जोडिने उद्देश्यले पालिकास्तरमा अर्को संगठन संरचना खडा गर्न लागेको हो ।

Comment


Related News

Latest News

Trending News