
सरकारको लापरबाहीले वैदेशिक रोजगारीमा जाने र फर्किनेहरु बिच्चलीमा पर्ने गरेको आरोप लगाइएको छ ।
जनकपुरधाममा शुक्रबार आयोजित वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको पुनः एकीकरण सम्बन्धी नीतिगत व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालहरुले विदेश जाने श्रमिकहरुलाई सरकारले स्वदेशमै काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । सरकारले विदेश जाने श्रमिकहरुले पठाउने रेमिटान्ससंग मात्र मतलब राखेको र श्रमिकहरुलाई भेडा बाख्रासरह वेवास्ता गर्ने गरेको आरोप विभिन्न संघ संस्थामा आवद्ध वक्ताहरुले लगाए । कुनै कारणवस विदेशमा कुनै श्रमिकको मृत्यु भए, उक्त श्रमिकको लाससमेत फिर्ता ल्याउन राजनीति हुँदै आएको आरोप लगाए । विदेशबाट काम गरी स्वदेश फर्केका श्रमिकहरुलाई स्वदेशमै कृषि अथवा व्यापार गर्ने वातावरणसमेत सरकारले बनाउन नसकेको उनीहरुको आरोप थियो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले विदेश जानेहरुलाई स्वदेशमै रोजगारी दिन संघ, प्रदेश र स्थानीय सरकार बीच समन्वय आवश्यक रहेको बताए । उनले युवाहरु मांसिक रुपमै विदेश जान हौसिएको बताए । वेरोजगारी भन्दा पनि पछिल्लो समय हौसिएर विदेश जान युवा बढी छन्, मन्त्री सिंहले भने,‘नेपाल बस्दा खेतमा काम गर्न नचाहने । तर, विदेशमा ८ घण्टा कडा परिश्रम गर्नेहरु छन् । रहर पूरा गर्न युवाहरु वैदेशिक रोजगारमा जान थालेका छन् ।’ रहर गरेर विदेश जानेहरुलाई स्वदेशमै रोजगारी दिन संघ, प्रदेश र स्थानीय सरकार बीच समन्वय आवश्यक रहेको उनले भने । मन्त्री सिंहले स्थानीय तहमा बेरोजगारी समस्या समाधान गर्न ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेट मास्ने काम मात्रै भएको आरोप लगाए । रोजगारीका लागि आएको बजेट दुरुपयोग गरी बजेट मास्ने काम मात्रै भएकोले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटले सीपमूलक तालिम र शिक्षामा खर्च गर्नुपर्ने उनले बताए । घरेलु उद्योग सञ्चालनका लागि बजेट छरिएर आउँदा बजेट दुरुपयोग भइरहेको उल्लेख गर्दै बेरोजगारलाई रोजगारी दिने कार्यक्रममा एक मुस्ट बजेट राखेर तीन सरकारबीच समन्वय गरी खर्च गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा जनकपुरधाम उप महानगरपालिकाका मेयर मनोज कुमार साहले नेपालमा श्रमिकको परिवारलाई शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति भए विदेश जाने जनशक्ति नेपालमै रोजगारी गर्ने अवस्था आउनसक्ने बताए । नेपालको नीति र नेतृत्वकर्ताको नियतका कारण नेपालमा बेरोजगारी समस्या बढदै गएको उनले बताए । कार्यक्रममा छलफल पश्चात वत्ताहरुले दिएको सल्लाह सुझावहरुलाई संकलन गरी केन्द्रमा बुझाई वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको समस्या समाधान गर्नेतर्फ लाग्ने कार्यक्रम संयोजक सहयोगी समाज नेपालका निर्मा चौधरीले जानकारी दिइन् ।