अपडेट 
२०८० श्रावण २१, आईतवार ०८:४५

मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले जनकपुरधाममा खुडोपनासहितको अनुहारको अन्य समस्याको निःशुल्क उपचार गर्ने स्वास्थ्य संस्थाबाट सबै वर्गका व्यक्ति लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख मिश्रले जनकपुरधामको वडा नं ८ मा नेशनल इन्स्टिच्युट अफ क्रेनोफेसियल सर्जरीसम्बन्धी अस्पतालको शिलान्यास गर्दै जर्मनीका क्लेफ्ट चिल्ड्रेन ईन्टरनेशनल संस्थाको सहयोगमा सञ्चालन हुने उक्त अस्पतालमा सबै वर्गका बालबालिकाहरूको बिग्रेको अनुहारको शल्यक्रिया निःशुल्क उपचार हुनु हर्षको विषय भएको बताए ।

मधेश प्रदेशका बिना विभागीय मन्त्री सुरिता कुमारी साहले यस्ता प्रकारको परोपकारी संस्थाले जनकपुरधाममा शाखा स्थापना गरेर सेवा प्रदान गर्न लागेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा प्रदेश सरकारले सहयोग गर्ने बताइन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राध्यापक डा.अंकुर साहले जनकपुरधाममा खुडोपना तथा अनुहारका अन्य समस्याहरूको शल्यक्रिया तथा उपचार निःशुल्क रुपमा हुनु सुखद भएको बताए ।

सभापतिको आसनबाट अस्पतालका संस्थापक अध्यक्ष डा.सुमित सिंहले संस्थाले पहिलो पटक काठमाण्डुको वसुन्धरामा रहेको अस्पतालमा ३ सय २४ जनाको निःशुल्क परीक्षण गरेर ५२ जनाको निःशुल्क शल्यक्रिया गरेको बताउँदै जनकपुरधाममा संस्थाको अस्पताल खुलेपछि यस ठाउँका आम जनताले ठूलो लाभ पाउने आशा व्यक्त गरे । उनले विश्व विख्यात जर्मन नागरिक क्रेनियोफेसियल प्राध्यापक डा.हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन ईन्टरनेशनलले संस्थालाई सहयोग गर्दै आएको बताउँदै यसमा अनुहार नमिलेको भागहरूको हड्डी काटेर अनुहार मिलाएर चिटिक्क बनाउने भागलाई शल्यक्रिया पनि हुने बताए ।

Comment


Related News

Latest News

Trending News