अपडेट 
२०८० श्रावण २१, आईतवार १८:०३

राजस्व अनुसन्धान विभागले साउन २ गते नियन्त्रणमा लिएको एक क्वीन्टल सुनको अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ । पत्रकार सम्मेलनमार्फत बाँकी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

उनले भने, ‘राजस्व अनुसन्धानका विषयमा अनुसन्धान गर्दै जाँदा योसँग अन्य कानून पनि आकर्षित हुने देखियो । संगठितरूपमा सुनको तस्करी गर्ने तथा व्यापार गर्ने विषय नेपालमा प्रचलित कानूनअनुसार संगठित अपराधसम्बन्धी ऐन आकर्षित हुन्छ । त्यो आकर्षित हुने कानुन र थुप्रै अवयवहरूलाई अनुसन्धानको क्रममा फेला पारेका छौं । योसँग सरोकार राख्ने नेपाल सरकार महान्यायधिवक्ता, नेपाल प्रहरी र विभाग बसेर छलफल गरेपनि यो वृहत् विषय भएकाले यसको अनुसन्धानका लागि नेपाल प्रहरीलाई पनि सामेल गराउँदा बढी यथार्थपरक हुने निर्णय गर्‍यौं ।’

विभागले सो सुनको विषयमा साउन ३ गतेदेखि अनुसन्धान अघि बढाएको थियो । हालसम्म १८ जनालाई विभागले हिरासतमा राखेकोमा एकजनालाई भने चाहिएको बेला शर्तमा छाडिएको छ । अहिले यो प्रकरणमा १४ नेपाली, १ जना चिनियाँ, १ जना भारतीय र १ जना बेल्जियम नागरिक छन् । विभागले गरेको हालसम्मको अनुसन्धान, प्रमाण, हिरासतमा लिएका व्यक्तिको विवरण समेत नेपाल प्रहरीलाई पठाउने निर्णय गरेको छ ।

ढुंगाना भन्छन, ‘ट्रान्सबोर्डरमा भएको अपराधको अनुसन्धानमा संलग्न निकायले यसमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने हामीले महसुस गरेका छौं । त्यसैअनुसार बाँकी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको हो ।’
हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना हो । बूढानीलकण्ठ ठेगाना भएको ‘रेडी ट्रेडर्स प्रालि’ को नाममा विमानस्थल भन्सारले उक्त ब्रेक सु जाँचपास गरेको थियो ।

Comment


Related News

Latest News

Trending News