अपडेट 
२०८० श्रावण २२, सोमबार १६:१४

भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा पुनर्बहाल गरेको छ । आपराधिक मानहानी मुद्दामा दोषी ठहर गर्ने सुरतको अदालतको फैसला भारतीय सर्वोच्च अदालतले बदर गरिदिएपछि भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई सांसद पदमा पुनर्बहाली गर्ने बाटो खुलेको हो ।

सुरत अदालतको आदेशले गान्धीलाई सांसदबाट हटाएको भारतको लोकसभाले आज साेमवार बिहान उहाँको सांसद पद कायम रहेको सूचना निकालेको हो ।

लोकसभाले पद बहाल रहेको सूचना निकालेपछि गान्धी लोकसभा बैठकमा पुग्दा कांग्रेसहित विपक्षी सांसदहरूले उहाँको स्वागत गरेका बीबीसी हिन्दीले जनाएको छ ।

केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य रहनुभएका गान्धीले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) का सांसद पुर्णेश मोदीले सुरतको अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो । त्याे मुद्दामा सुरतको स्थानीय अदालतले गान्धीलाई दोषी ठहर गरेकोमा पुनरावेदन अदालतले पनि सदर गरिदिएको थियो । फैसलाविरुद्ध गान्धीले सर्वोच्च अदालतमा रिट दिएपछि गएको शुक्रवार सर्वोच्चले उहाँलाई सफाइ दिएको हो ।

Comment


Related News

Latest News

Trending News