अपडेट 
२०८० श्रावण २३, मंगलवार ०७:२७

मधेश प्रदेशका आँखा अस्पतालमा दैनिक तीन हजार भन्दा बढी आँखा पाक्ने रोगीहरुको चेक जाँच हुने गरेको छ । मधेश प्रदेशका तीन ठूला आँखा अस्पताल जानकी आँखा अस्पताल जनकपुरधाम, रामप्रसाद महावीरप्रसाद केडिया आँखा अस्पताल परवानीपुर र सगरमाथा चौधरी आँखा अस्पताल लहानमा दैनिक हजार भन्दा बढी आँखा पाक्ने रोगीहरु आउने गरेको सम्वन्धित अस्पतालले जनाएको छ । मनसुन बढेसँगै मौसमी आँखा पाक्ने रोग फैलिएको छ ।

मनसुनसँगै आँखा पकाउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने संक्रमण फैलिएको आँखा विशेषज्ञहरुले बताएका छन् । जनकपुरधाममा जनघनत्व बढी भएकाले समुदायमा आँखा पाक्ने रोग छिटो फैलिरहेको चिकित्सकहरुले बताएका छन् । आँखा पाक्ने रोग मनसुन नसकिएसम्म जारी रहने पनि चिकित्सकले जनाएका छन् । रामप्रसाद महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा दैनिक आउने कुल बिरामीमध्ये ६० देखि ७० प्रतिशत आँखाको संक्रमण भएका बिरामी छन् । उक्त अस्पतालको आकश्मिक कक्षमा दैनिक एक हजार भन्दा बढी नेपाल र भारतका बिरामी आउँछन् । अस्पतालको बहिरंग विभागमा आउने औसत एक हजार भन्दा बढी बिरामीमध्ये ७० प्रतिशत मौसमी आँखा पाक्ने रोगकै रहेका छन् ।

जानकी आँखा अस्पताल जनकपुरधाममा दैनिक औसत ७ सय आँखा पाकेका बिरामी पुगिरहेका अस्पतालले जनाएको छ । अस्पतालमा साउन महिनामा आँखा पाकेका बिरामी बढेका छन् । ‘कतिपय भाइरसले आँखाको समस्या जटिल बनेपछि बिरामी आउन थालेका छन्,’ अस्पतालका सूचना अधिकारी रुदलप्रसाद साहले भने । चिकित्सकका अनुसार ‘ एडिनो’ नामक भाइरस आँखामा प्रवेश गरेपछि आँखा पाक्छ । सो भाइरसको संक्रमण भएपछि आँखा रातो हुने, आँखाबाट रगत मिसिएको आँसु बग्ने, आँखा चिलाउने समस्या हुन्छ । साथै घाँटी दुख्ने, ज्वरो आउने, स्वर भासिने समस्या पनि हुन्छ । संक्रमित बिरामीमा यस्तो समस्या करीब दुई सातासम्म रहन्छ । ‘आँखा पाक्ने संक्रमण मौसमी भाइरसका कारणले देखिन्छ,’ सूचना अधिकारी साहले भने । उनले भने, ‘भाइरसले आँखा पाक्दा चिप्रा नआएको कारण बिरामीहरु झुक्किएका छन् ।’ चिकित्सकका अनुसार मनसुनमा यो भाइरस सक्रिय भएकाले एउटै व्यक्तिमा संक्रमण दोहोरिने पनि गरेको छ । विशेष गरी शरीरमा प्रतिरोधात्मक शक्ति कमजोर भएकालाई संक्रमण दोहोरिने गर्छ ।

एडिनो भाइरसको संक्रमणले दुई सातासम्म रहन्छ । संक्रमण अवधिमा आँखाका नानीमा स–सानो घाउ पनि बनाउँछ । यो घाउ निको भए पनि दाग भने रहिरहन्छ । कतिपयलाई संक्रमणपछि आँखा निको नभएपछि घाममा आँखा हेर्न कठिन हुने समस्या भएका छन् तर यसले दृष्टिमा भने असर गर्दैन । संक्रमणका बेला आँखाको राम्रोसँग हेरचाह नगरे किटाणुको पनि संक्रमण थपिन सक्ने चिकित्सक बताउँछन् । ‘आँखाको संक्रमणको बेला आँखा सफा राख्नुपर्छ र आँखा मिच्नु हुँदैन,’ साहले बताए । रोगको लक्षण देखिएपछि जतिसक्दो छिटो उपचारमा जान चिकित्सकको सुझाव छ । भाइरसको कारण आँखा पाकेको हुनाले यो भाइरस मार्ने औषधि हुँदैन । दुई साता अवधि पुगेपछि आफैं मर्छ । तर सम्बन्धित अन्य संक्रमणबाट बच्ने औषधि भने प्रयोग गर्नुपर्छ ।

आँखामा घाउ बनेको छ भने चिकित्सकको सल्लाहमा औषधि हाल्नुपर्छ । लापरबाही गरेमा आँखामा जटिलता आएर ज्यानैसमेत जान सक्ने चिकित्सकहरु बताउँछन् । ‘बिरामी आफैंले औषधि किनेर प्रयोग गर्नु हुँदैन,’ सूचना अधिकारी साहले भने ‘संक्रमणको असर लामो समय पनि रहन सक्ने हुनाले एक पटकको उपचारपछि पनि पुर्नजाँचका लागि अस्पताल जानुपर्छ । संक्रमणबाट बच्नको संक्रमित व्यक्तिको नजिक नबस्ने, भीडभाडमा नजाने, संक्रमितसँग हात नमिलाउने तथा भिन्नै सामान प्रयोग गर्नुपर्छ । साथै, संक्रमितले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा बेड प्रयोग नगर्ने । औषधि प्रयोग गरेपछि हात धुने र आँखा नछुने तथा चश्माको प्रयोग गर्नुपर्छ । तीनवटै अस्पतालमा नेपाल र भारतका बिरामीहरुको संख्या बराबर रहेको छ ।

Comment


Related News

Latest News

Trending News