
मधेश प्रदेशको ८ जिल्लामा ६०.३८ प्रतिशत धान रोपाइँ भइसकेको छ । मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने माग भइरहेको बेला कृषि विकास निर्देशनालयले ६०.३८ प्रतिशत धान रोपाइँ भइसकेको जनाएको छ । मधेश प्रदेशमा सबैभन्दा बढी रौतहटमा ९० प्रतिशत धान रोपाइँ भइसकेको छ भने भने सबैभन्दा कम २० प्रतिशत धान मात्रै रोपाइँ भएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार पर्सामा ७०, सर्लाहीमा ५७, धनुषामा ३१, सिरहामा ५५, सप्तरीमा ८५ र बारामा ८० प्रतिशत धान रोपाइँ भइसकेको छ ।
स्थानीय जिल्ला प्रशासन कार्यालयहरुले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न गृहमन्त्रालयलाई परिपत्र गरिसकेको अवस्था छ । मधेश प्रदेशका जिल्लाहरुमा बोरिङ्ग, स्यालो ट्युवेलको माध्यमले धान रोपाइँ गरे पनि त्यो धानहरु सुख्ने सम्भावना धेरै रहेको भन्दै सुख्खा क्षेत्र घोषणा गर्नुनै उचित होला भनेर सुख्खा क्षेत्र घोषणाका लागि सिफारिस गरिएको छ । यस विषयमा मुख्यमन्त्री सरोजकुमार यादवले सम्वन्धित जिल्लाका जिल्ला अधिकारी तथा विज्ञहरुसंग छलफलसमेत गरेका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार धनुषा, महोत्तरी र सिरहा जिल्लाले सुख्खा क्षेत्रका लागि गृहमन्त्रालयलाई सिफारिस गरिसकेको छ भने अन्य जिल्लाहरु पर्खाइमा रहेको बताए । मधेश प्रदेशका उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सिँहासन सा कलबारले आठ वटै जिल्लाका जिल्ला अधिकारीहरुसंग कहाँ कहाँ सुख्खा छ त्यसको बास्तविक डाटा माग गरेको बताउँदै एक दुई दिन भित्र डाटा दिने बताए । सम्बन्धित जिल्लाका जिल्ला अधिकारीहरुले दिएको डाटा अनुसार मधेश प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गर्ने उनले बताए । मन्त्री कलवारले मधेश प्रदेशमा सिँचाइ र खानेपानीको मूल समस्या रहेको बताउँदै समस्या रहेको ठाउँमा ट्यांकरबाट पानी वितरण गरिरहेको जानकारी दिए ।