अपडेट 
२०८० श्रावण २३, मंगलवार ०८:१९

रौतहटको गरुडा नगरपालिका अवस्थित श्री राम सुगर मिल्स लिमिटेडको अनाधिकृत रुपमा गरिएको लिलामी टेण्डर खारेज गरी उद्योग संचालनको मागसहित गौरमा प्रदर्शन गरिएको छ ।

सोमबार उखु उत्पादक संघ रौतहटले लिलाम भएको श्री राम सुगर मिल्स गरुडामै संचालन हुनुपर्ने मागसहित गौरमा प्रदर्शन गरेको छ । रौतहटका कृषकहरुको आयस्रोत र समृद्धिसंग जोडिएको श्री रााम सुगर मिल्स लिमिटेडलाई जुनसुकै कम्पनीले लिलाम सकार गरे पनि सो मिल्स गरुडामै संचालन हुनुपर्ने कृषकहरुको माग रहेको नेपाली कांग्रेस रौतहटका नेता दीपक यादवले बताए । केही समय अगाडि नेपाल बैंकले लिलामीमा राखेको श्रीराम सुगर मिल्स लिमिटेडका मेसिनरी उपकरण शिवशक्ति ग्रुपले सकार गरेको छ । गोल्छा र विशाल ग्रुपको लगानी रहेको सो उद्योगका उपकरण शिवशक्ति ग्रुपले रू ४३ करोड ६० लाखमा सकारेको छ । उद्योगका उपकरण किन्न पाँच कम्पनीले बोलपत्र पेश गरेको नेपाल बैंकले जनाएको छ । न्यूनतमभन्दा बढीको प्रस्ताव गरेर शिवशक्ति ग्रुपले ठेक्का सकार गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए ।

कबुल गरेको सबै रकम भुक्तानी गरेर ३५ दिनभित्र उपकरण लैजान बैंकले कम्पनीलाई सूचित गरेको छ । शिवशक्ति ग्रुप अन्तर्गतको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले श्री राम सुगर मिल्सको उपकरण किनेको छ । रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजमा शिवशक्ति ग्रुपसहित त्रिवेणी ग्रुपको समेत लगानी छ । यो उद्योग बारामा छ । श्रीराम सुगर मिल्सका उपकरण अर्को नयाँ मिलमा जडान गरिने शिवशक्ति ग्रुपले जनाएको छ । नेपाल बैंकको अनुसार श्रीराम सुगर मिल्सले नेपाल बैंकसहित राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक (हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंक) समेतबाट विभिन्न शीर्षकमा कर्जा लिएको थियो । तर, कर्जाको रकम लेनदेनसम्बन्धी लिखतमा निर्धारित भाखाभित्र बुझाउनुपर्ने साँवा र त्यसमा लाग्ने ब्याज तथा हर्जनासमेत उक्त उद्योगले बुझाएको छैन । उद्योगको १७ करोड रुपैयाँ ऋणको ब्याजसमेत जोड्दा २६ करोड रुपैयाँ पुगेपछि नेपाल बैंकले गत जेठ ३२ गते उपकरण लिलामीका लागि बोलपत्र आह्वान गरेको थियो । बैंकले साउन ४ गतेसम्म लिलाम बढाबढमा बोलपत्र पेश गर्न भनेको थियो ।

बैंकले न्यूनतम मूल्य ३८ करोड ११ हजार ७५५ रुपैयाँ तोकेर सूचना निकालेको थियो । यता २०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर श्रीराम सुगर मिल्सले उद्योग स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो । कम्पनीले त्यतिबेला २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद घाटा पुगेको उल्लेख गरेको थियो । लगातार नोक्सानमा गएपछि गोल्छा समूहले श्रीराम सुगर बन्द गरेको छ । उक्त उद्योगमा ९१ प्रतिशत शेयर स्वामित्व संस्थापक लगानीकर्ता गोल्छा परिवार र बाँकी ९ प्रतिशत सर्वसाधारणको छ । २०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेशनले स्थापना गरेको श्रीराम सुगरको नाममा ८० बिघा जमिन छ । ०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर स्थायीरूपमा उद्योग बन्द भएको घोषणा गरेको श्रीराम सुगर मिल्सका उपकरणहरू नेपाल बैंकले लिलाम गरेको छ । यता सो मिल्स गरुडामै संचालन नभए विरोध प्रदर्शन निरन्तर चलिरहने उखु उत्पादन संघ रौतहटका अध्यक्ष अशोक यादवले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News