अपडेट 
२०८० श्रावण २३, मंगलवार ०८:४८

गत हप्ताका दुईवटा घटनाहरु विचारणीय छन् । साउन बित्न लाग्दापनि पानी नपरेर खरेडीको भयावह सम्भावनाले सबैलाई चिन्तित तुल्याएको छ । झन् चापाकलहरुमा पानी सुकेर गाउँ, शहर, बजार सबैतिर काकाकुल अवस्था छ । यसै क्रममा धनुषाधामस्थित धनुष मन्दिरमा पाँचसय लीटर दूध चढाइएको समाचार आयो । मन्दिरमा धनुष देउतामाथी पुजारीले दूध चढाइरहेको तस्वीर मिडियाहरुमा प्रमुखताका साथ प्रकाशित भएको थियो । देउतालाई पानी पारिदिन देउतालाई खुशीपार्नका निम्ती दुध चढाउन भनेर वरपरका गाउँका किसानहरुबाट यो दूध संकलन गरिएको थियो । यसरी नै दुई दिन पहिले धनुषा जिल्लाकै एउटा गाउँमा एकजना दास थरकी महिलालाई उसको पति र सौताले बोक्सीको आरोप लगाएर कुटपीट गरेको र घरबाट निकाला गरिदिएको समाचारलेपनि मेरो ध्यान आकृष्ट ग¥यो । यो दुईवटा घटनामा के समानता छ ? भन्नु होला ।

वस्तुतः यी दुईवटा घटनाहरुमा अन्धविश्वासी चेतनाको समानता छ । एउटा घटनाले देउतालाई दूध चढाएमा पानी पर्छ भन्ने र अर्कोले तन्त्रमन्त्र र टुनामुना गरेर मानिसलाई हानि पु¥याउनसक्ने बोक्सीहरु हुन्छन् भन्ने घोर अन्धविश्वासले हाम्रा लोकजीवन नराम्ररी गाँजिएको छ भन्ने देखाउँछ । यी दुई घटनाहरुले हाम्रा सामाजिक चेतनाहरुको अवैज्ञानिकता, अव्यावहारिकता तथा पछौटेपना अभिव्यक्त हुन्छ । पानी किन पर्छ, यस्का कारण के के हुन ? मनसुनी बादल विश्वको कुन भागमा छ ? वर्षा बारेका वैज्ञानिक तथ्यहरु अब अनौठा छैनन् । विद्यालयमा बजाफ्ते यस बारेमा पाठ नै पढाइन्छ । रेडियो, टीभी आदि विविध सूचना सञ्चारले पनि यस बारे पर्याप्त जानकारी सार्वजनिक गरि नै रहन्छन् । अब त शहर र गाउँहरुमा छ्याप्छ्याप्ती पाइने स्मार्ट मोबाइल फोनहरुमा समेत मौसम बारे सटिक जानकारीहरुउपलब्ध छन् । यस्तोमा पनि देउता खुशी पार्न सयौँ लीटर दूध व्यर्थमा बगाउनुले हाम्रो सामाजिक चेतनाको अव्यवहारिकता प्रकट गर्छ ।

यसलाई धेरैले आस्थाको प्रश्न भनेर टार्न सक्छन् । तर जतिबेला मानिसहरु अन्न र पानी नपाएर दुःख पाईरहेका छन्, त्यतिबेला दूध व्यर्थमा बगाउनुलाई अचेतना नै भन्नु पर्छ । बरु यो दूध कुनै मानिसलाई वा कुपोषणग्रस्त शिशुहरुलाई खान दिएको भए सार्थक हुने थियो । पुण्य गर्ने र देउता खुशी नै पार्ने कुरा छ भने यस्ता सार्थक कार्यले दुध खान दिएको मानिस वा शिशुको गरिब आमा र बा खुशी भएपछि देउता बढी खुशी हुने थिए । आखिर उदार धार्मिक उपदेशहरुले पनि ‘परोपकाराय पुण्याय’ भनेकै छ । नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा कविताको पंक्ति छ ः ‘…फर्क फर्क हे जाउ समाउ, मानिसहरुको पाउ÷मलम लगाउ आत्र्तहरुको चह¥याइरहेको घाउ÷मानिसहरु भइईश्वरको त्यो दिव्य मुहार हँसाउ÷ कुन मन्दिरमा जान्छौ यात्री… ।’ हुन त भौतिकवादी र मानवीय हुनु सबैभन्दा राम्रो । तर त्यति हुन नसके र आध्यात्मिक नै भए कुन कर्म सार्थक र विकेकी हो र कुन निरर्थक र अविवेकी हो भन्ने त विचार गर्नु नै पर्छ । निश्चय नै कुनै देउता भनिएको मूत्र्तीमाथी दूध बगाउनुभन्दा कुनै मानिसलाई दूध खान दिनु बढी सार्थक हुनेछ भन्नेमा दुई मत न होला । त्यसरी नै अर्को बोक्सी भनेर आफ्नै पत्नीलाई कुटपीट गरेर घर निकाला गर्नुको घटनामा त अन्धविश्वासको पराकाष्ठा छ ।

एकातिर विज्ञानका खोजहरुले चन्द्रमा र मंगल मात्र होइन, पृथ्वीबाट करौडौँ प्रकाशवर्षको दूरीमा रहेका ताराको खोजीमा अन्तरिक्ष खँगाल्दैछ, चिकित्सा, सूचना सञ्चार लगायत बहुआयमिक क्षेत्रमा भूत र वर्तमानका अनेकौँ रहस्य खोल्दैछ, भने अर्कोतिर हाम्रो लोकजीवन भूतप्रेत र टुनामुना जस्तो अन्धविश्वासी चेतनामा अल्झेको छ । विडम्बना के छ भने सोझा मानिसहरुको यस जड चेतनाको फाइदा उठाएर समाजमा विद्यमान धूत्र्ततत्व धामी र झाँक्रीको नाममा बजाफ्ते धन्दा नै चलाउँछन् र धन कुम्ल्याउने काम गर्छन् । यस अन्धविश्वास र पछौटे चेतनाका आर्थिक, साँस्कृतिक र सामाजिक कारण छन् । यो अन्धविश्वास सबैतिर पाइन्छ, तर तुलना गर्ने हो ग्रामीणक्षेत्र, अशिक्षित र श्रमजीवि जातिय समुदायभित्र बोक्सी लगायतका भूतप्रेत, टुनामुना र तन्त्रमन्त्रका घटनाहरु बढी हुने गर्छ । तपाँईले तुलना गर्ने हो भने आर्थिक र भौतिकरुपमा पछौटेपना तथा विकासको दृष्टिले ठगिने क्षेत्रपनि यो नै हुने गर्छ । बोक्सी र भूतप्रेत बारे मिडियामा आएका समाचारहरुमा अधिकांश राम, सदा र पासवान थर भएका चमार, मुसहर र दुसाध आदि अतिपिछडिएको जातिय समुदायसंग नै जोडिएको हुन्छ । यस लेखको शुरुमा उल्लेख गरिएको देउतालाई खुशी पार्न व्यर्थमा दुध बगाएको सन्दर्भमा पनि जसबाट दूध संकलन गरिएको थियो, ती श्रमजीवि समुदायकै अन्धआस्था भएका हरुनै हुन् । यसो भनिरहँदा, अन्धविश्वास तथा भ्रमित चेतना अशिक्षित समुदायमा मात्र हुन्छ, भन्ने अर्थ निकाल्नु भने गलत हुनेछ । हाम्रो शिक्षा पद्धति तथा ज्ञानार्जनका विधिहरु नै अधिभूतवादी र अवैज्ञानिक आधारभूमिमा रहेको हुनाले शिक्षित र विकसित समुदायभित्रपनि अवैज्ञानिक चिन्तन र अन्धविश्वासी जडता हुन्छ ।

तरगुणात्मक स्कूल, अस्पताल आदि वैज्ञानिक उपायहरुसम्मको सहजको पहुँचको कारणले उनिहरुले वैज्ञानिक विधिको प्रभाव बुझेका हुन्छन् ।शिक्षा र धनको कारण उनिहरु आवश्यकता पर्दा समस्या समाधानमा वैज्ञानिक विधिलाई पहिला उपयोग गर्छन् । र, कुनै उपाय नभएको स्थितिमा मात्र उनिहरु धामी झाँक्री, तन्त्रमन्त्र आदिको शरणमा पुग्ने गर्छन् । यस्को तात्पर्य के हो भने शिक्षित र धनी धर्मभीडूहरु कुनै उपाय नभए सम्म वैज्ञानिक विवेककै प्रयोग गर्छन् । बरु कतिपय चलाक धर्मभीडूहरुले अविवेकी र अशिक्षित अन्धविश्वासी समुदायको पश्चगामी चेतनाको फाइदा उठाएर आफ्ना विविध स्वार्थ पूरा गर्नपनि पछि पर्दैनन्, जस्मा आर्थिक, साँस्कृतिक र राजनीतिक मात्र होइन देह र यौन शोषणसम्मको पशुवत् लालसापनि हुनेगर्छ । अन्धविश्वासी समुदायभित्र कुनै महिलालाई बोक्सी साबितगर्ने भीडभित्र यस्ता चलाक व्यक्तिहरुपनि सक्रिय रहन्छन् । यसको विपरीत अशिक्षित र अविकसित क्षेत्रका निर्धन समुदायमा गुणात्मक स्कूल र अस्पताल पहुँचभन्दा धेरै टाढा हुने गर्छ । यस्तो समाजमा निर्धनताले निरिहता स्वाभावको रुपमा विकास गरेको हुन्छ । समस्या पर्दा सबैभन्दा पहिले तुलनात्मकरुपमा सहज र कमखर्चिलो धामी झाँक्री कहाँ जानु उनिहरुको बाध्यता र स्वाभाविकता दुबै हुनेगर्छ । रोग लागेमा धामी झाँक्री र टुनामुनाले ठीक नभएर साह्रै सिकस्त भएपछि मात्रै उनिहरु अस्पतालसम्म बाध्यतामा जाने गर्छन्, जो अत्यन्त खर्चिलो हुने गर्छ । कयौँ सामान्य रोगहरुर समस्याहरु धामी झाक्रीले दिएको जडी बूटी वा मनोवैज्ञानिक प्रभावबाट ठिक हुने गर्छ, र यस्तो भयो भने उनिहरु भित्र धामी झाँक्री र टुनामुनाप्रतिको अन्धविश्वास झन् पुष्ट हुने गर्छ ।

यिनै धामी झाँक्री नै हुन्, जस्ले भूतप्रेत र बोक्सीको भ्रम छर्छन र सामान्य अशिक्षित महिलाहरुमाथी अमानवीय यातनाका घटनाहरु हुने गर्छ । ०५८ सालमा भाषा साहित्यको निम्ती मैले पारिजात पुरस्कार पाउने बेला साहसी महिलाको रुपमा महोत्तरीकी मरनीदेवी नामक एकजना महिलापनि पुरस्कृत भएकी थिइन् । उनलाई गाउँलेहरुले बोक्सीको आरोपमा निर्मम कूटपीट गरेका थिए र गाउँबाट निष्काषित गरिदिएका थिए । यो खबर फैलिएपछि चौतर्फी दबाबको कारण प्रशासन सक्रिय भएको थियो, उनलाई उत्पीडन गर्नेहरु पक्राउ पर्न थालेपछि उनलाई पुनस्र्थापित गराउन सकिएको थियो । मरनीदेवीले भने अनुसार गाउँका केही प्रभावशाली मानिसहरुको इच्छा विपरीत काम गरेको हुनाले उनलाई बोक्सीको आरोपमा षडयन्त्रपूर्ण योजना बनाएर दुःख दिइएको थियो । ती धूत्र्त तत्वहरुले जनसमुदायको चिन्तनमा बसेको बोक्सी र अन्धविश्वासी चेतना र चिन्तनको फाइदा उठाउँदै आफ्नो योजना सफल बनाउन खोजेका थिए । विडम्बना के छ भने मरनी र उनका छोरा र पतिलाई दुःख दिनेमा उनका आफन्तजनहरुपनि थिए । पछि यस घटनाको देशव्यापी भत्र्सना र निन्दा हुन थालेपछि ती आफन्तजन र गाउँलेहरुले आफूहरुले ठूलो गल्ती गरेको भाव प्रकट गरेका थिए । तर के उनिहरुमा अन्धविश्वास र अविवेकीपना पूर्णरुपमा समाप्त भइसकेको थियो ? अहँ ! वस्तुतः हाम्रो शिक्षाको विषयवस्तु र विधि तथा ज्ञानार्जनका स्रोतहरु नै यस्ता छन्, जस्ले उनिहरुको मनोविज्ञानमा खासै परिवर्तन आउने स्थिति नै थिएन ।

हुनपनि एकातिर जीवन र जगतबारे विज्ञानका पुस्तकहरुमा वैज्ञानिक तथ्यहरु उल्लेखित हुन्छ र अर्कोतिर धार्मिक ग्रन्थहरुमा यसबारे काल्पनिक तथा बेतुकका कुराहरु लेखिएका हुन्छन् । यसरी नै वैज्ञानिक चेतनाले रोगको उपचार औषधि गरे हुन्छ भनेर सिकाउँछ भने अर्कोतिर अन्धविश्वासी चेतनाले देउतालाई भाकल गरेमा, धामीझाँक्रीसंग टुनामुना गरेमा रोग निको हुने भन्छ । समाजमा वैज्ञानिक तथा विवेकी चेतका साहसी उपदेशक र शिक्षक भएन भने हजारौँ वर्षको जड र अन्धविश्वासी चेतना बोकेका सोझा मानिसहरुको निम्ती यस दोधारबाट निस्कन गाह्रो कार्य हो । यस समग्र गन्थन मन्थनको तात्पर्य के हो भने हाम्रो समाजमा चेतनाको अविवेकीपना अझै कायम छ । यस्को स्रोत अशिक्षा, अविकास, निर्धनता तथा अवैज्ञानिक विषयवस्तुमा आधारित ज्ञान हो । हामी गरिब देशका नागरिक हौँ, तर रितिरिवाज, धार्मिकता तथा प्रतिष्ठाको प्रदर्शन गर्न र भोगविलासमा अनावश्यक खर्च गर्नमा हामी कसैभन्दा पछाडी हुँदैनौँ । हामीभित्र जड अविवेकी चिन्तनपद्धति र बानी व्यवहार कतिसम्म छ भने हामी पुण्य र उत्सवको नाममा बेहिसाब खर्च गर्न सक्छौँ, तर भोका, नांगा र गरिबमानिसहरुलाई आर्थिक सहयोगमा हाम्रो रुचि हुँदैन । हामी यसलाई व्यर्थको खर्च ठान्छौँ । जबकि हामीले सार्थक भनेर गरिने खर्च नै निरर्थक हो । अन्धविश्वासी चेतनाहरु यस्तै अवैज्ञानिक पारम्परिकताको उपज हो । देशमा गणतन्त्र आएको छ । यो राजनीतिक परिवर्तन मात्र होइन, सामाजिकता तथा चेतनाको स्तरमा समेत आधुनिक र वैज्ञानिक अग्रगामिताको परिवर्तन हुनुपर्छ ।

सामाजिक परिवर्तनको अनुभवले के देखाएको छ भने जुन समाजले आफ्नो इतिहासको अनुभवहरुको सार्थकता र निरर्थकता बारे व्यापकस्तरमा विमर्श र मन्थन ग¥यो, निरर्थक र अमानवीय चेतना र परम्परासंग सम्बन्धविच्छेद गर्न सक्यो र वर्तमानको आवश्यकता अुनकूल सार्थक चेतनाहरु ग्रहण गर्न सक्यो, त्यो समाज अगाडी बढयो, विकास गर्न सफल भयो । हाम्रो समाजले पनि वैज्ञानिक चेतना तथा मानवीय हितलाई केन्द्रमा राखेर इतिहासले दिएका निरर्थक विरासतलाई थन्क्याएर वर्तमानको चुनौती अनुकूल सार्थक र वैज्ञानिक चेतना र व्यवहार अपनाउन जरुरी छ ।

अर्को अर्थमा हाम्रो समाजमा विचार र व्यवहार दुबैस्तरमा सामाजिक पुनर्जागरण, र यस्को निम्ती राजकीय र सामाजिकता दुबै स्तरमा वैचारिक र व्यावहारिक अभियानात्मक प्रयत्नको आवश्यकता छ । तर यसको निम्ती हाम्रा मिथ, इतिहास र परम्पराभित्रको जड, अवैज्ञानिक चिन्तन पद्धतिप्रति निर्मम आलोचनात्मक हुनु जरुरी छ ।

Comment


Related News

Latest News

Trending News