अपडेट 
२०८० श्रावण २४, बुधबार ०७:०८

नेपाल र भारतबीचको सम्बन्धमा कुनै राजनीतिक हलचल नदेखिए पनि सीमाक्षेत्रमा भएको कडाइले सर्वसाधारणलाई सास्ती भएको छ ।

सीमामा तैनाथ भारत सरकार गृहमन्त्रालय मातहतका सशस्त्र सीमा बल (एसएसबी)ले कडाइ गरेको छ । मूल भन्सार नाका बाहेकका सबै नाकाहरुलाई पूर्णरुपमा बन्द गरेको छ । मानिसको आउजाउमा समेत कठिनाइ भएको छ । सप्तरी,सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लासित भारतको सीमा जोडिएका मूल नाकाहरु बाहेकका साना नाकाहरुबाट चार पांग्रे सवारी साधनको आउजाउमा पूर्ण रोक लगाइएको छ । एसएसबीले साना नाकाहरुमा सडक डिभाइडर, ड्राम, बाँसलगायतका वस्तुहरु राखेर अवरोध गरेको छ । मूल नाकाबाट सीमावर्ती ५ किलोमिटर दूरीसम्मको बजारमा चार पांग्रे नेपाली नम्बरको सवारी साधनलाई जान दिए पनि त्यस भन्दा भित्र जान रोक लगाइएको छ । भारतको ठूला बजारहरुसम्म नेपाली नम्बरको सवारी साधनलाई जान नेपालस्थित भारतीय दूतावास अथवा वाणिज्य दूतावासबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ । स्वीकृति बिना प्रवेश गरेका नेपाली सवारी साधनलाई भारतमा सोझै जफ्त गरिने अधिकारीहरुले जनाएका छन् ।

नेपालबाट भारतीय बजारमा घरायसी सामान किनमेल गर्न पैदल जाने महिलाहरुलाई अनिवार्यरुपमा परिचयपत्र देखाउनु परिरहेको छ । सीमामा तैनाथ एसएसबीले महिलाहरुको परिचयपत्र देखेर मात्र भारतमा प्रवेश गर्न दिइरहेको छ । पछिल्लो २ हप्तादेखि सीमा क्षेत्रमा भएको कडाइले सर्वसाधारणलाई सास्ती भएको छ । सीमावर्ती क्षेत्रका व्यवसायीहरु मारमा परेका छन् । दशगजा क्षेत्र पूर्णरुपमा खाली गराइएको छ । दशगजा क्षेत्रमा टहरा बनाएर स–साना पसल थाप्ने, सवारी साधनहरु पार्क गर्न रोक लगाइएको छ । भारतबाट घरायसी सामानहरु चीनी, तेल, चामल, दाल, साबुन, कपडा ल्याउन पनि रोक लगाइएको छ । १ हजारसम्मको सामान ल्याउन खासै कठिनाइ नभए पनि त्यो भन्दा बढी रुपैयाँको सामान ल्याउदा नेपाली सुरक्षाकर्मीहरुले खोसेर भन्सारमा बुझाउने गरेका छन् । तर नेपाली सुरक्षाकर्मीहरुले भारततर्फ जाने मानिसलाई अवरोध गरेका छैनन् । भारतबाट नेपाल आउने मानिसको सरसमानको मात्र चेकजाँच गरेको देखिन्छ । सीमा क्षेत्रमा दुई तर्फी कडाइ गरिएकाले खुल्ला सीमाको कारण नेपाल र भारतका नागरिकले आउजाउमा सहजता महसुस गर्दै आएका थिए । तर अब कठिनाइ भएको छ ।

भारत बिहार राज्यको सीतामढी जिल्लाको श्रीखण्ड भिठ्ठाका मोहन झाले मोटरसाइकल लिएर जान पनि नेपालमा समस्या भएको बताउँदै छोरीलाई भेट्न साइकलमा जानु परेको दुखेसो पोखे । ‘बनौलीमा रहेकी छोरीलाई भेंटन साइकलमा जानु पर्दा सास्ती भइरहेको छ ’उनले भने, भारत र नेपाल दुबैतर्फका सुरक्षाकर्मीहरुले व्यवहारिक पक्षलाई वेवास्ता गरेका छन् । गत हप्ता वाणिज्य दूतावास र भारतीय राजदूतावासको बिना स्वीकृति भारतीय क्षेत्रमा नेपाली नम्बरको सवारी साधन प्रवेशमा पूर्ण रोक लगाइएको थियो । तर त्यसमा हाल सहजीकरण गरिएको छ । मूल भन्सार नाकाबाट नजिकैको बजारसम्म नेपाली सवारी साधनलाई सीमामा दर्ता गराएर आउजाउ गर्न दिएको छ । खुला सीमाको नजायज फाइदा उठाउँदै अनधिकृत रुपमा मानिसहरुको आवागमन बढेपछि सुरक्षालाई दृष्टिगत गरी चेकजाँच बढाइएको भिठ्ठामोडस्थित एसएसबी कम्पनी इञ्चार्ज एलपी रठौरीले बताए । ‘राष्ट्रिय सुरक्षाको सबालमा सीमा क्षेत्रमा ढिलाइ गर्न सकिदैन्’ उनले भने, आम नागरिकलाई चेकजाँच गरिए पनि आउजाउमा समस्या भएको छैन्’ उनले भने, दुई देशबीचको कतिपय सहमति र भारत सरकारको सीमा सम्बन्धी कानुनलाई कार्यान्वयन गरिएको मात्र हो । नेपाल र भारतका नागरिकलाई कुनै प्रकारले अनावश्यक दुख दिने उद्देश्य नरहेको उनले बताए ।

सीमा क्षेत्रमा काँडाले घेर्नुपर्ने माग नेपालमा बेलाबखत उठ्ने गरेको छ । भारतले सीमा क्षेत्रमा तारबार लगाउने पक्षमा नदेखिए पनि सबै नाकामा कडाइ गरेको छ । घरायसी सामान नेपालमा ल्याउनमा भारतीय एसएसबीले ढिला दिए पनि नेपाली सुरक्षाकर्मीहरुले खोस्न थालेका छन् । सीमा क्षेत्रमा गरिएको कडाइले तत्काल केही समस्या देखिए पनि त्यो सामान्य हुँदै जाने नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्व सभापति कमलेश मण्डलले बताए । ‘निर्वाध रुपमा हुने आउजाउमा अवरोध भएपछि केही असहजता महसुस भएको छ ’उनले भने, तर जाँच गराएर जानुपर्ने अथवा थोरै सामान मात्र ल्याउने बिस्तारै बानी परेपछि सहज नै लाग्नेछ ।

गत जुलाई महिनामा पाकिस्तानी महिला सीमा हैदर अवैध रुपमा नेपाली मार्ग भएर भारतमा छिरेपछि सीमाक्षेत्रमा निगरानी बढाइएको छ । सीमा क्षेत्रमा भएको कडाइले तस्करी, लागूऔषधको कारोबार, मदिरा तस्करीलगायतका अवैध कारोबारमा पनि कमी आउने पत्रकार मण्डलले बताए । सीमा क्षेत्रमा कडाइ गरिए पनि नेपाल र भारतबीच चल्ने बस सेवा, पर्यटक बोकेका साना, ठूला सवारी साधन, इन्धन बोक्ने टैंकर, एम्बुलेन्सका आउजाउमा कुनै प्रभाव नपरेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News