अपडेट 
२०८० श्रावण २५, बिहीबार ०९:०९

पछिल्लो केही दिनदेखि भइरहेको अविरल वर्षासँगै रौतहटको प्रायः सबै नदीको जलस्तर बढेको छ । लगातारको वर्षाले जिल्लाको बागमती, लालबकैया, झाँझ, चाँदी लगायतका सबै नदी तथा खोलाहरुमा बाढी आएको छ ।

जिल्लाका नदी तथा खोलाहरुमा लगातार पानीको सतह बढ्दै गएपछि विभिन्न गाउँ बस्ती डुवानमा पर्ने खतरा बढ्दै गएको छ । बागमती र लाबकैयाँ नदीको बाढीले दर्जनौ गाउँ डुवानमा परिसकेको छ भने उक्त नदीहरुमा अझै पानीको सतह बढ्दै जादा थप गाउँहरुमा बाढीको पानी पसेर क्षति पु¥याउन सक्ने जोखिम बढेको छ । जिल्लाको मध्यभागमा बग्ने झांझखोला र पश्चिम भेगबाट बग्ने लालबकैया नदीको बाढीको पानी सदरमुकाम गौरमा पस्न थालेको छ । बुधबार दिउँसोदेखि सदरमुकाम गौरको विभिन्न भाग डुवानमा परेको छ । अहिले गौर बजारमा कतै कतै मूल सडकमा १ फिटदेखि ३ फिटसम्म पानी जमेको छ । लालबकैया नदी र झाँझ नदीको बाढीको पानी क्रमशः बढ्दै गएकाले बिहीबार विहानसम्म गौर बजारमा पानी बढ्ने अनुमान गरिएको छ ।

त्यसैगरी,गौर चन्द्रपुर सडकखण्डको सबगढा स्थित लच्का माथि लालबकैया नदीको बाढीको पानी बग्न थालेपछि यातायात सेवा प्रभावित भएको छ । अविरल वर्षा र लालबकैयाँ नदीमा आएको बाढीको पानी छिरेपछि गौर बजारभन्दा करीब २ किलोमिटर उत्तर सबगढा चोकस्थित लच्का (पुल) डुबानमा परेको छ । पश्चिमतर्फबाट वर्षा र बाढीको पानीको दबाब बढेको कारण चन्द्रपुर गौर सडकखण्ड अन्तर्गत सबगढा नजिकको लच्का डुबानमा परेको हो । लच्का डुवानमा परेकोले आवतजावतमा समस्या भइरहेको छ । उक्त लचका माथिबाट लाबकैयाँ नदीको बाढीको पानी तीव्र गतिमा बहाव सुरु गरेपछि साना सवारी साधनहरुको आउजाउ प्रभावित बनेको छ । बरहवा तालमा बाढीको पानी भरी भराउ छ,गौरको बरहवा छेउका केही बस्तीहरु पानीको घेरामा परेको छ । गौर भन्सारको पश्चिमतर्फ रहेको दलीत बस्तीमा बाढीको पानी पसेको छ । बाढीको पानी पसेपछि सो वस्तिको जनजीवन प्रभावित भएको छ ।

त्यस्तै,लालबकैया नदीमा आएको बाढीको पानीले जिल्लाको दुई ठाउँमा सडक कटान गरेको छ । राजपुर नगरपालिका वाड नम्बर ९ बैरीया टोलमा लाल बकैया नदीको पानीले सडक कटान गरेपछि अहिले सो सडक भएर आवतजावत पूर्णरुपमा बन्द भएको छ । त्यस्तै,लालबकैया नदीकै बाढीले मौलापुर स्थित रहेको पुलको छेउमै पूर्वतर्फबाट सडक कटान गर्न सुरु गरेको छ । रौतहटको मध्य तथा दक्षिण भेग बाट वीरगञ्ज आउन जान दैनिक सयौं सवारी र हजारौ व्यक्तिले प्रयोग गर्ने देवाही मौलापुर कलैया वीरगञ्ज सडक नै लालबकैया नदीले कटान गर्न थालेपछि स्थानीयहरु चिन्तित भएका छन् । त्यसैगरी,लालबकैयाको बाढीको पानी पसेर ईशनाथ नगरपालिका– १ बन्जरहा र औरैया गाउँ डुबानमा परेको छ भने बागमती नदीको बाढीले दुर्गा भगवती गाउँपालिकाको बडहर्वा लगायतका गाउँ डुवानमा परेको छ । जिल्लाका सबैजसो नदी तथा खोलाहरुमा आएको बाढीको पानीले जिल्लाका अधिकांश भू–भागहरु जलमग्न भएको देखिएको छ । बाढीको पानीले हजारौँ विघा धानबाली पूर्णरुपमा डुवानमा परेपछि किसानहरु चिन्तित भएका छन् । दुई तीन दिन अझै बाढीको पानी यस्तै रहयो भने धानबाली पूर्णरुपमा सखाप हुने किसानहरुले चिन्ता व्यक्त गरेका छन् । अविरल वर्षा र बाढीको पानीले जिल्लाको १८ वटै स्थानीय तहका कच्ची बाटो हिलाम्मे भएको छ । जिल्लाको प्रायः सबै ग्रामीण भेगको बस्तीहरूमा पानी पसेको छ भने कयौं घरसमेत डुबानमा परेको छ ।

Comment


Related News

Latest News

Trending News