अपडेट 
२०८० श्रावण २६, शुक्रबार ०७:४०

केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआइबी’ले चलाएको अप्रेशन ‘ फोक्सट्रोट चार्ली’ अन्तर्गत सांसद समेत रहेका डा. सुनील शर्मासहित ५ जनालाई बिहीबार साँझसम्म पक्राउ गरेको छ ।

सीआइबीले पक्राउ गरेकाहरु मध्ये एकजना महिला डाक्टरसमेत रहेकी छन् । सीआइबीले डा.शर्मासँगै डा.रामबाबु यादव, डा.एरिना यादव, डा.अमृत चौधरी र डा.रञ्जित कुमार यादवलाई पक्राउ गरेको छ ।डा.शर्मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद छन् । उनले विराटनगर र काठमाण्डुमा मेडिकल कलेजसमेत सञ्चालन गरिरहेका छन् । उनी मोरंग जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसको टिकटमा निर्वाचित भएका प्रतिनिधि सभासदस्य छन् । डा.अमृत चौधरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत्त रहेका छन् । अन्य डाक्टरहरु विभिन्न अस्पतालमा कार्यरत रहेका छन् । उनीहरु सबैको कक्षा १२ को सर्टिफिकेट नक्कली रहेको पुष्टि भएपछि पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जनाएका छन् ।

पक्राउ परेकाहरु मध्येका रञ्जित कुमार यादव महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको वडा नम्बर ३ का वासिन्दा रहेको सीआइबीले जनाएको छ । उनको पनि १२ कक्षाको सर्टिफिकेट नक्कली र भारतीय भएको खुलेको प्रहरीको दाबी छ । ‘यस प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ’उनले भने,सबैले प्रमाणपत्र किर्ते गरेर डाक्टर बनेको उजुरी परेपछि छानबिनमा दोषी देखिएका छन् ।

मेडिकल व्यवसायीसमेत रहेका प्रतिनिधिसभा सदस्य डा.सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । बेलबारी–९ मोरङ स्थायी ठेगाना भएका उनले भारतबाट कक्षा १२ उत्तीर्ण गरेको प्रमाणपत्र नक्कली पाइएको सीआइबीले जनाएको छ । सोही प्रमाणपत्रका आधारमा उनले त्यसपछिको अध्ययन गरेको सीआइबीको दाबी छ ।

सीआइबीले गरेको लामो अनुसन्धानपछि उनको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको पाइएको थियो । त्यसपछि प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो । अनुसन्धानका क्रममा भारतबाट उनले लिएको प्रमाणपत्र नक्कली भएको जवाफ प्राप्त भएसंगै किर्ते प्रकरण पुष्टि भएको सीआइबीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता डीआइजी कुवेर कडायतले सांसद शर्मालाई किर्ते अभियोगमा पक्राउ गरिएको पुष्टि गरे । सीआइबीले संसद् सचिवालयलाई सांसद सुनील शर्मा पक्राउ सम्बन्धी जानकारी दिउँसो गराएको छ । सीआइबीका एसपी नवराज अधिकारी शर्माले पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र संसद् सचिवालय सिंहदरबारमा बुझाएका छन् । सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्था अनुसार सीआइबीले शर्मालाई पक्राउ गरे लगतै जानकारी गराएको थियो । अहिले संसद् चलिरहेको अवस्था छ । सीआइबीको टोलीले उनलाई काठमाण्डुस्थित गोल्फुटार निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेका सबै जनाको कक्षा १२ को सर्टिफिकेट भारतीय र नक्कली रहेको सीआईबीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लाजिम्पाटस्थित नेपाल ट्रस्ट रहेको भवनमा राखिएको छ । सीआईबीको कार्यालय महाराजगन्जमा भए पनि सीआईबीले भाडामा लिएर सो स्थानबाट पनि कार्य गर्दै आएको छ । केही वर्ष पूर्व सीआइबीले चलाएको अप्रेशनको क्रममा कक्षा १२ को नक्कली सर्टिफिकेटको आधारमा चिकित्साशास्त्र अध्ययन गरेका दर्जन बढी डाक्टरहरुलाई पक्राउ गरेको थियो । तर उनीहरु हाल चिकित्सा पेशामा फर्किसकेका छन् । यद्यपि सरकारी सेवामा उनीहरुले स्थान पाएका छैनन् । कक्षा १२ को नक्कली सर्टिफिकेटको आधारमा चिकित्सक बनेका अन्य कयौं रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News