
मधेश प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहतका लागि प्रदेशका ८ वटै जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयहरुलाई १०/१० लाख रुपैयाँ पठाउने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको वैठकले बाढी पीडितलाई तत्काल राहत दिने उद्देश्यले प्रदेशका प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई १० लाखको दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मदले जानकारी दिए । प्रदेशका बाढी कारण प्रदेशका ८ वटै जिल्ला प्रभावित भएको उल्लेख गर्दै मन्त्री मोहम्मदले भने,‘ ती समस्यालाई मध्यनजर गरी तत्काललाई प्रमुख जिल्ला अधिकारी अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई राहत वित्तरणको लागि उक्त रकम उपलब्ध गराउने निर्णय भएको हो ।’ त्यसैगरी, यस वाहेक बाढी पीडितलाई राहत संकलन गरी राहत वितरण गर्न मन्त्री मोहम्मदले प्रमुख जिल्ला प्रशासन कार्यालयलाई आग्रहसमेत गरेका छन् । उनले बाढी पीडित र डुवानमा परेकाहरुलाई तत्काल राहत र उद्धार कार्य प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।