अपडेट 
२०८० श्रावण २८, आईतवार १४:४५

गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएपछि केही उडान ‘डाइभर्ट’ भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले ‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको नयाँ दिल्लीबाट आएको एअर इन्डियाकाे जहाज बनारस ‘डाइभर्ट’ भएको छ भने चीनको तियान्फूबाट आएका एअर चाइना र सिचुआन एअरलाइन्सका जहाज उतै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाण्डाैबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाण्डाै–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । यस्तै बुद्ध एअरकाे काठमाण्डाै–पोखरा रुटका तीन वटा र बुद्ध एअरकै काठमाण्डाै–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सि मङ्गलवारसम्म देशभर वर्षा भइरहने अनुमान छ ।

Comment


Related News

Latest News

Trending News