अपडेट 
२०८० श्रावण २९, सोमबार १४:५३

सर्लाहीको हरिवन–४ स्थित लखन्देही पुलमुनि बिहीबार बिहान टाउको फेला परेका युवकको शरीर दुई दिनपछि झन्डै ७ किलोमिटर परको जंगलमा फेला परेको छ ।

टाउकोबाट अलग्गिएको युवकको शरीर शनिबार साँझ लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर जंगलमा फेला परेको हो । पूर्व–पश्चिम राजमार्गबाट करिब २५ मिटर दक्षिणबाट युवकको शव फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले जंगलमा टाउको नभएको फेला परेको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको बताए । टाउको फेला परेपछि शव खोज्नका लागि यस क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो ।

टाउको सहितको शव भने भारतको सीतामढी जिल्ला मनियारी बस्ने २३ वर्षीय गोलु भनिने अभिषेख राज रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोलु साउन २० गते आफ्ना ४ जना साथीसँग नेपाल घुम्न र रमाइलो गर्न आएका थिए । गोलुसँग आएका चारै जना युवक भने फरार छन् । उनीहरुको भारतीय प्रहरीको सहयोगमा खोजतलासको काम भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा गोलुको हत्या सँगै आएका साथीहरुले गरेर फरार भएको प्रहरीको भनाइ छ ।

यता पाँचैजना भने भारतको ग्याङस्टारहरु रहेको खुलेको छ । हत्या भएका युवकसहित उनीसँगै आएका चार जनामाथि भारतमा हत्या लगायतका अभियोग दर्ता रहेको प्रहरी उपरीक्षक सुवेदीले बताए । उनका अनुसार पाँचैजना भारतीय प्रहरीको ‘वान्टेड’को सूचीमा छ । हत्या भएको युवक गोलु पनि केही दिनअघि मात्र भारतमा एक व्यक्तिलाई गोली हानेर फरारको सूचीमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ । यसअघि फेला परेको गोलुको टाउको भने पोष्टमार्टमका लागि काठमाडौं पठाइएको छ ।

Comment


Related News

Latest News

Trending News