
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीलाई उर्तीण गराउन उत्तरपुस्तिका साटेको आरोपमा पर्सा प्रहरीले २ जनालाई रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ठाकुरराम बहुमुखी क्याम्पसका परीक्षा शाखाका पूर्व प्रमुख मोहन यादव र त्रिजुद्ध मावि परीक्षा केन्द्रका परीक्षा प्रमुख विनोद स्वर्णकार रहेका छन् । उनीहरूले ७००१५१८८७ सिम्बल नम्बर भएको ठाकुरराम क्याम्पसमा अध्ययनरत बिमा कुमारी यादवलाई उत्तीर्ण गराउन उत्तरपुस्तिका साट्न लागेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको थियो । आज परीक्षाको अन्तिम समयमा ठाकुर राम क्याम्पसका पूर्व परीक्षा शाखाका प्रमुख यादवले छात्रा बिमा कुमारी यादवसँग भएको उत्तरपुस्तिकाको सट्टा बाहिरबाट उत्तर लेखिएको अर्को उत्तरपुस्तिका ल्याई त्रिजुद्ध माविका परीक्षा केन्द्र प्रमुख स्वर्णकारलाई राख्न दिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदुर सिवाकोटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।
ठाकुरराम बहुमुखी क्याम्पसको बीबीएस दोस्रो वर्षको परीक्षा वीरगञ्जस्थित त्रिजुद्ध मावि परीक्षा केन्द्रमा भइरहेको छ । बुधबार अङ्ग्रेजी विषयको परीक्षा रहेको थियो । यसअघिका विषयहरूमा समेत उत्तर पुस्तिका साट्ने चलखेल भएको त्रिजुद्ध माविका कर्मचारीले बताएका छन् । त्रिजुद्ध परीक्षा केन्द्रका एक कर्मचारीका अनुसार यादव र स्वर्णकारले सो बापत प्रति विधार्थीसंग ३०–३५ हजार रकम लिँदै आएको खुलेको छ । उत्तरपुस्तिका साटेर विधार्थीहरुलाई उत्तीर्ण गराउने काम भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी टोलीलाई परीक्षा केन्द्रमा खटाइएको थियो ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए । पक्राउ परेका अभियुक्तलाई शिक्षा ऐन–२०२८ को दफा १७ अनुसार मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी उपरीक्षक शाहले बताए । शिक्षा ऐन–२०२८ को दफा १७ मा प्रश्न पत्रको गोपनीयता भङ्ग गरेमा वा अरूको पर ीक्षा दिएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा त्यसमा संलग्नलाई कसुरको मात्रा हेरेर १ लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुबै सजाय हुनसक्ने उल्लेख गरिएको छ ।