अपडेट 
२०८० भाद्र १, शुक्रबार ०७:१८

केही दिन यता माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबबीच दुरी बढ्दै गएको छ । गौर घटनालाई लिएर सरकारले छानबिन गर्ने भएपछि जसपाका अध्यक्ष यादव र प्रधानमन्त्री दाहाल बीच दुरी बढ्दै गएको छ । गौर घटनाका पीडितसँग सरकारले पाँच बुँदे सम्झौता गरेपछि सो घटनामा मुछिएका जसपाका अध्यक्ष उपेन्द्र यादवसहित अन्य नेताहरु कारबाहीमा पर्ने सम्भावना देखिएको छ । जसका कारण साउन २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएपछि प्रधानमन्त्रीको सचिवालयबाट जसपाका अध्यक्ष यादवलाई बैठकका लागि खबर गरिएको थियो । तर आफू मधेशमा भएको कारण देखाउँदै अध्यक्ष यादवले आफ्नो पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमनलाई बैठकमा पठाएका थिए ।

साउन २९ गतेको बैठकमा अनुपस्थित अध्यक्ष यादवलाई साउन ३१ गते बस्ने बैठकमा पनि बोलाइएको थियो । त्यो बैठकमा पनि उनले वरिष्ठ नेता श्रेष्ठ र प्रवक्ता सुमनलाई नै पठाएका थिए । यी दुई वटा बैठकमा सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थिति थियो तर जसपाका अध्यक्ष यादव आफैँ उपस्थित नभएर आफ्ना पार्टीका अन्य नेताहरुलाई पठाएका थिए । बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सहभागी हुन नचाहेका जसपाका अध्यक्ष यादव भारतको ७७ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा प्रेम लस्सकरी अध्यक्ष रहेको नेपाल–भारत मैत्री समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भने जनकपुरधामबाट काठमाण्डु पुगेका थिए ।

सोल्टी होटलमा आयोजित सो कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायतको उपस्थिति थियो । यसले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल र जसपाका अध्यक्ष यादवबीच दुरी बढेको प्रस्ट देखिन्छ । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थनमात्र होइन, सरकारमै सहभागी भए पनि गौर घटना छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णयपछि अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डसँग बोलचालसमेत बन्द गरेका छन् । गृह मन्त्रालयले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग साउन २३ गते सम्झौता गरेको थियो । सम्झौता भएकै भोलिपल्ट जसपाका अध्यक्ष यादव कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

गौर घटनाको सम्बन्धमा भएको सम्झौताको बारेमा तीनै जना नेताले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए । त्यसका जवाफमा प्रचण्डले छानबिन होस्, त्यसपछि सल्लाह गरौँला भन्ने जवाफ दिएका थिए । स्रोतका अनुसार चित्त बुझ्दो जवाफ प्रधानमन्त्री प्रचण्डबाट नआएपछि जसपाका अध्यक्ष यादव असन्तुष्ट भएर बालुवाटारबाट बाहिरिएका थिए । त्यसपछि साउन २५ गते पनि अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डसँग भेट्न चाहेका थिए । तर समय अभावका कारण भेट्न पाएका थिएनन् । त्यही दिन पार्टीमा उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएर गौर घटनाको बारेमा उनले छलफल गरेका थिए ।

जसपामाथि ठूलो षड्यन्त्र भएको भन्दै सरकार र पीडित पक्षका बीचमा भएको सम्झौतालाई स्वीकार नगर्ने निर्णय बैठकले गरेको थियो । त्यसको भोलिपल्ट जसपाले पत्रकार सम्मेलन गरेर गौर घटनाको बारेमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको थियो । तर त्यो पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादव आफैँ उपस्थित भएनन् । त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादव मधेश झरे । जसपा बारा जिल्लाको विस्तारित बैठकमा सहभागी भएपछि मधेशमै केही समय रहने गरी विभिन्न कार्यक्रम बनाएर उनी जनकपुरधाममा बस्न थाले । यता, काठमाण्डुमा बसेको गठबन्धनको बैठकमा उपेन्द्र यादवको खोजी हुन थाल्यो । तर गौर घटनालाई लिएर असन्तुष्ट रहेका उनी प्रधानमन्त्री प्रचण्डसँग दुरी बनाउन थाले । संसदीय राजनीतिमा आएदेखि सानोतिनो खटपट बाहेक दुवै जनाको बीचमा राम्रो दोस्ती थियो तर यसपटक जसपाका अध्यक्ष उपेन्द्र यादवले दाहालसँग चित्त दुखाएका छन् ।

गठबन्धनको बैठकमा मात्र होइन, प्रचण्डसँग फोन संवाद, भेटघाटसमेत उनले बन्द गरेका छन् । जसपाका एक नेताले भने, ‘हाम्रो अध्यक्षज्यूले बालुवाटार जाने इच्छा नै देखाउनु भएका छैन, बैठक वा छलफलका लागि खबर आयो भने पार्टीका अन्य नेतालाई पठाउनु हुन्छ ।’ जसपाका अध्यक्ष यादवको निष्कर्ष माओवादी नेतृत्वको सरकारले षड्यन्त्रपूर्वक जसपालाई फसाउने काम गरेको भन्ने नै छ । १७ वर्ष पुरानो राजनीतिक घटनालाई यतिबेला उठाइएकोमा पनि उनी सशंकित छन् । सरकार र गौर घटनाका पीडितबिच भएको सम्झौता ‘षड्यन्त्रपूर्वक’ आएको भन्दै उनले यसमा माओवादी केन्द्रकै मुख्य भूमिका रहेको उनको बुझाइ छ । अध्यक्ष यदाव र प्रधानमन्त्री दाहाल बीच बढेको दुरीको फाइदा भने कांग्रेसले उठाउन चाहेका छन् ।

कांग्रेसका नेताहरु दाहाल नेतृत्वको सरकारलाई ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउने योजना बनाइ रहेका छन् । कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले २०८४ मा शेरवहादुर देउवा नेतृत्वको सरकारले आम निर्वाचन गराउने बताएका छन् । त्यस्तै नेता शेखर कोइरालाले समेत नेकपा एमालेका अध्यक्ष केपी ओली संग कुराकानी गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । कांग्रेसले जसपा र माओवादी केन्द्र बीच बढेको दुरीलाई सदुपयोग गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने योजना बनाइ रहेको स्रोतको दावी छ । केपी ओली संग यस बिषयमा गोप्य रुपमा कुराकानी समेत भएको स्रोतको दावी छ । नेकपा एमालेले माओवादी केन्द्रलाई छाडेर सरकार बनाउन सुझाएका छन् ।

Comment


Related News

Latest News

Trending News