अपडेट 
२०८० भाद्र १, शुक्रबार ०७:३१

नेपाली कांग्रेसका सह– महामन्त्री महेन्द्र यादवले कांग्रेसीजनलाई पार्टी प्रति प्रतिबद्ध हुन आग्रह गरेका छन् । खास गरी निर्वाचनको समयमा पार्टी भित्र हुने आन्तर्घातका कारण पार्टी प्रति दिन प्रतिदिन जनताको विश्वास खस्कीदै गएका कारण नेताहरुलाई पार्टी प्रतिप्रतिवद्ध हुन आग्रह गरे ।

नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं २ को प्रथम क्षेत्रीय समेलनलाई सम्वोधन गर्दै सह–महामन्त्री यादवले मधेश नेपाली कांग्रेसको राजनीतिक विर्ता रहेपनि अन्तर्घातकै कारण पार्टी दिनप्रतिदिन कमजोर हुँदै गएको बताए । उनले पर्सा जिल्लाका नेता तथा धनुषा जिल्लाका नेता बीच घनिष्ठ सम्बन्ध रहेको बताए । नेपाली कांग्रेसको हरेक प्रजातान्त्रिक लडाइमा पर्सा जिल्लाका नेता तथा धनुषा जिल्लाका नेता अग्रसरता रहेर लडेको स्मरण गरेका थिए । ३५ वर्ष पहिला देखि पर्सा जिल्लाका नेताहरु सगं भावनात्मक सम्बन्ध रहेको बताउँदै उनले अबको चुनावमा अन्तर्घात नगर्न सम्पूर्ण नेपाली कांग्रेसका नेतालाई प्रतिवद्ध हुन आग्रह गरे । सो कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सचिव तथा बीरगञ्ज महानगरपालिकाका उप–मेयर इम्तियाज आलमले पार्टीको निर्णय अध्यक्ष शेर बहादुर देउवाले मात्र लिने गरेको प्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले केन्द्रिय निर्णयहरु सम्पूर्ण केन्द्रिय समितिले लिनुपर्ने विचार व्यक्त गरेका थिए ।

स्थानीय चुनावमा नेपाली कांग्रेसले गरेको गठबन्धन आफू नेपाली कांग्रेस पार्टीले दिएको आदेशको रुपमा लिएको बताए । स्थानीय चुनावमा बीरगञ्ज महानगपालिका मेयर र उप–मेयरको मतपत्र मा १० हजारले फरक आउनु गठबन्धनमा धोका भएको बताए । कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले वीरगञ्जस्थित नारायणी अस्पतालमा बिरामीको शल्यक्रिया (अप्रेसन) पनि निःशुल्क गराउने घोषणा गरेका छन् । वीरगञ्जमा बिहीबार आयोजित नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै काङ्ग्रेसको केन्द्रीय सदस्यसमेत रहेका चौरसियाले यस्तो घोषणा गरेका छन् । सांसद चौरसियाले नारायणी अस्पतालमा उपचारका लागि आउने पर्सा जिल्लाको बिरामीको शल्यक्रियासमेत निःशुल्क गराउनका लागि आफू लागिरहेको बताए । उनले भने, ‘यसका लागि मैले स्वास्थ्य मन्त्रीसँग कुरा गरिसकेको छु । यदि स्वास्थ्य मन्त्रालयले मानेनन् भने म आफ्नो संसदीय विकास कोषबाट एकदेखि डेढ करोड रुपैयाँ नारायणी अस्पताललाई दिन्छु ।’ सांसद चौरसियाले पर्साको विन्दवासिनीमा वृद्धा आश्रम र अनाथ बालबालिकाको लागि सुविधा सम्पन्न विद्यालय निर्माणका लागि पनि आफूले प्रक्रिया थालिसकेको जानकारी गराए ।

यस्तै क्षेत्र नम्बर २ का दुई स्थानमा २५ शय्याको अस्पताल निर्माण गर्ने आफ्नो योजनाका बारेमा पनि उनले सुनाए । पर्सा जिल्ला र समग्र मधेसका जनताको समस्याका बारेमा आफूले संसद् मार्फत पटक–पटक आवाज उठाउँदै आएको पनि उनले बताए । एक फरक प्रसङ्गमा बोल्दै चौरसियाले वर्तमान सरकार काङ्ग्रेसलाई बदनाम र कमजोर बनाउने षडयन्त्र गरिरहेको आरोप लगाए । भ्रष्टाचारको फाइल खोल्ने बहनामा सरकारले काङ्ग्रेसका नेताहरूलाई छानिछानी झुटा मुद्दा लगाएर थुन्ने काम गरिरहेको उनको भनाइ थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नै नरहेका काङ्ग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई झुटा आरोप लगाएर सरकारले फसाइएको उनले बताए । कांग्रेसका क्षेत्रीय सभापति मोहम्मद शाहाबुद्धीनको अध्यक्षता र कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्ययतामा भएको सम्मेलनलाई मधेश सरकार पूर्व मन्त्री ओमप्रकाश शर्मा, काङ्ग्रेसका जिल्ला सभापति एवम् प्रदेशसभा सदस्य जनार्दनसिंह क्षेत्री, प्रदेशसभा सदस्य श्याम पटेल, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमलगायतका नेताले आ– आफ्नो मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News