
जनकपुरधाममा रहेका कृषिसंग सम्बन्धित सहकारी संस्थाहरुले कृषि तथा पशुपंछी शाखा संचालनमा ल्याउन माग गरेका छन् । सहकारी संस्थाहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै उपमहानगरमा कृषि तथा पशुपंछी शाखा संचालनमा ल्याउन माग गरेका हुन् ।
आफूहरुको माग एक साता भित्र पूरा नभए चरणवद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने श्री सुन्दर कृषी सहकारी संस्थाका अध्यक्ष रामसुखित यादवले चेतावनी दिए ।
उपमहानगरका नगर उपप्रमुख किशोरी साहलाई ज्ञापन पत्र बुझाउँदै सहकारी संस्थाका संचालकहरुले कृषि शाखा संचालन गरेर सम्बन्धित क्षेत्र अनुसारको कर्मचारी व्यवस्थापन गर्नुपर्ने, कृषकहरुका लागि उपमहानगरबाट हुने सम्पूर्ण कार्यक्रम सार्वजनिक गर्नुपर्ने, पालिका अन्तर्गतका कृषि सहकारी संस्थाका संचालकहरुसंग समन्वय हुनुपर्ने लगायतका माग गरेका हुन् ।
सहकारीका संचालकहरुको तर्फबाट बुझाइएको ज्ञापन पत्र बुझ्दै उपप्रमुख साहले उपमहानगरमा कृषि शाखा रहेपनि कर्मचारी अभावमा समस्या भईरहेको बताए । यद्यपि यो समस्या समाधानका लागि उपमहानगरबाट पहल गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।