अपडेट 
२०८० भाद्र ४, सोमबार ०७:१७

जनकपुर चुरोट कार खाना लिमिटेड (जचुकालि)को ४८ वटा ट्रेडमार्क नवीकरण गर्ने तयारीमा सरकार जुटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जचुकालिको ट्रेडमार्क सुरक्षित गरिदिन भन्दै पत्राचार गरेपछि उद्योग विभागले नवीकरण गर्न लागेको छ ।

मन्त्रालयले एक महिनाअघि गरेको पत्राचारमा कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । विभागको औद्योगिक सम्पत्ति शाखाले जचुकालिको ट्रेडमार्क ४८ वटा उत्पादनको नवीकरण गर्न लागेको जनाइएको छ । मन्त्रालयले चुरोट कारखानाको ट्रेडमार्क सुरक्षित गर्न मन्त्रालयबाट पत्र आएको र यो नवीकरण गर्नका लागि प्रतिट्रेडमार्क एक हजार रुपियाँ लाग्ने विभागका एक कर्मचारीले बताए । उनले भने, ‘जनकपुर चुरोट कारखानाको ४८ वटा ट्रेडमार्क छन् । यी सबै ट्रेडमार्कको सुरक्षा गरि दिनको लागि पत्रमा भनिएको छ ।’ जनकपुर चुरोट कारखानाका उत्पादनहरुमध्ये तत्कालीन समयमा याक ब्राण्डको चुरोट निकै लोकप्रिय थियो ।

तत्कालीन राजा महेन्द्र शाहको कार्यकालको समयमा सोभियत संघको अनुदान तथा तत्कालीन अर्थमन्त्रीसमेत रहेका समाजसेवी रामनारायण मिश्रको प्रयासबाट २०१७ सालदेखि जचुकालि निर्माण कार्य सुरू भएको थियो । विसं. २०२१ पुस २९ देखि संचालनमा जचुकालि ४ करोड ८० लाख ३७ हजारको लागतमा निर्माण भएको थियो । कम्पनी ऐन, २०२१ अन्तर्गत जनकपुरमा स्थापित यो उद्योगमा सरकारको सतप्रतिशत स्वामित्व छ । जचुकालि बन्द हुँदा हजारौंको रोजगार गुमेको थियो ।

तत्कालीन खिलराज रेग्मीको सरकारले २०७० असार २० गतेदेखि कर्मचारीलाई पे–अफ गर्दै कारखाना बन्द गर्ने निर्णय गरेको थियो । कारखाना बन्द भएको बखत जचुकालिमा करिब साढे ७ सय स्थायी र करार तथा ज्यालादारीमा गरी एक हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका थिए । यद्यपि कारखानाको उत्पादन भने २०६८ चैतदेखि नै बन्द भएको थियो । जनकपुरधामको मिल्स एरियामा ३४ विघा क्षेत्रफलमा रहेको कारखानासहित कार्यालय भवनको ठूलो भौतिक संरचनामा हाल प्रदेश सरकारको कार्यालय, मन्त्रालय, मन्त्री निवास सञ्चालनमा रहेको छ । उद्योगभित्रका भवनहरु जीर्ण अवस्थामा छन् । प्रदेश सरकारले ती भवनको मर्मत सम्भार गरी प्रशासनिक कार्यालय सञ्चालन गरिरहेका छन् । जचुकालिलाई पुनः सञ्चालनमा ल्याउन तत्कालीन समयका कर्मचारीदेखि स्थानीयले पहल गरे पनि सरकार उदासीन देखिएको छ । उद्योग बन्द भएपछि त्यसको जग्गा तथा सम्पत्ति हिनामिना र दुरुपयोग हुँदै आएको छ ।

हाल जचुकालिमा स्थायी कर्मचारी नरहे पनि उद्योगको सुरक्षाको लागि भन्दै करारमा १३ जना कर्मचारी राखिएको छ । उद्योग मन्त्रालयले २०७७ सालमा पूर्वसचिव दीपक सुवेदीको संयोजकमा रुग्ण उद्योगसम्बन्धी अध्ययन समिति गठन गरेको थियो । सो समितिले उद्योगको ट्रेडमार्क बिक्री गरी निजी क्षेत्रलाई सञ्चालन गर्न सक्ने विकल्प दिएको छ । उद्योग पुनः सञ्चालन गर्ने भन्दै तत्कालीन उद्योगमन्त्री लेखराज भट्टले प्रक्रिया थालेका थिए । त्यसपछिका उद्योगमन्त्रीले सोही कुरा बोल्दै आएका छन् । दिलेन्द्रप्रसाद बडूले पनि उद्योग सञ्चालनका निरीक्षण गरे पनि प्रक्रिया अघि बढाएन । अहिलेका उद्योग मन्त्री रमेश रि जालले पनि जनकपुर चुरोट कारखाना सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । कारखानाको जनकपुरमा मात्र नभइ नेपालभरि २६ छुट्टाछुट्टै शहरमा जग्गा र दुई ठाउँमा निर्मित कार्यालय भवन प्रयोगविहीन रहेका छन् । बुटवल र नारायणगढमा स्थापना गरिएको क्षेत्रीय कार्यालयको भवन हाल प्रयोगविहीन अवस्थामा रहेको छ ।

धनुषा, महोत्तरी, विराटनगर, उदयपुर, वीरगञ्ज, पोखरा, नारायणघाट, नेपालगञ्ज, सुर्खेत, दिपायल, सिन्धुली, धनगढीमा अहिले पनि कारखानाको अर्बौं मूल्यका जग्गा रहेका छन् । तीमध्ये जग्गा थुप्रै बिक्री भइसकेका छन् भने बाँकी रहेका पनि चौरका रूपमा प्रयोगविहीन रहेको छ । ‘तत्कालीन तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव उद्योगमन्त्री छँदा कर्मचारीको बक्यौता रकम भुक्तानी गर्नेमा नाममा काठमाण्डुको बानेश्वरस्थित अर्बौको जग्गा कौडीको भाउमा बेचेका थिए । कर्मचार ीको बक्यौता रकम भुक्तानीको नाममा जग्गा बेचिएपनि अवकाश पाइसकेका अझै ९ सय ६० कर्मचारीको तलब सहित उपदान रकम करिब साढे सात करोड रुपैया कारखानाले भुक्तान गर्न बाँकी छ ।

त्यसैगरी भारतीय सूर्ति आपूर्तिकर्ता, स्थानीय आपूर्तिकर्ता लगायतलाई करिब १ अर्ब रुपैयाँ तिर्नु बाँकी रहेको पूर्व कर्मचारीहरुको भनाइ छ । जनकपुर चुरोट कारखाना बन्द भएपछि हाल देशमा सूर्य नेपाल प्रालिले चुरोटको बजार मा एकलौटी व्यापार गर्दै राम्रो मुनाफा आर्जन गर्दै आएका छन् । निजीस्तरमा संचालित सुर्य नेपाल प्रालि. ले नै ट्रेड युनियन सहित कारखाना भित्र रहेका विभिन्न राजनीतिक भातृ संगठनलाई उचालेर जचुकालि बन्द गराएको आरोप लाग्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News