अपडेट 
२०८० भाद्र ४, सोमबार ०७:३२

विगत ३६ बर्ष भन्दा लामो इतिहास बोकेको सप्तरीको इटहर्वा बजारको विवादित जग्गामा भूमाफियासंग कर्मचारीहरुको साँठगाँठ भएको पाइएको छ ।

अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको वडामा दर्ता नभएको जग्गा अर्को वडा कार्यालयबाट मालपोत रसिद काटेपछि भूमाफियासंग कर्मचारीको साँठगाँठ रहेको तथ्य खुलासा भएको छ । बजारको सार्वजनिक जग्गा जालझेल गरेर व्यक्तिले कब्जामा लिएपछि उक्त जग्गा विवादमा थियो । विवाद उत्कर्षमा पुगेपछि वडा कार्यालयले उक्त जग्गा दर्तामा रोक लगाएको थियो । स्थानीय तहले अनलाइन दर्ता गर्दा छुटेको जग्गाको मालपोत रसिद भने अर्कै वडाबाट काटेपछि कर्मचारीहरुको समेत मिलेमतोमा सार्वजनिक सम्पत्ति कब्जा हुने गरेको पुष्टि भएको छ । विगत ६ बर्षदेखि २ नम्बर वडा कार्यालयबाट रसिद काट्न छुट भएको उक्त जग्गाको सोही गाउँपालिकाको वडा नम्बर ४ र ५ बाट काटेको भेटिएको छ ।

२०७९ माघ १० गते वडा नम्बर ४ बाट सोही वडामा कार्यरत कर्मचारी प्रवीण कुमार यादवले आव २०७८/०७९ को मालपोत रसिद काटेका छन् भने वडा नम्बर ५ बाट सोही वडामा कार्यरत कर्मचारी रञ्जना कुमारी चौधरीले २०८० श्रावण ११ गते २०८०/०८१ को रसिद काटेको पाइएको छ । उक्त रसिदमा जग्गा धनीको ठेगानामा समेत झुठो विवरण राखिएको छ । जग्गा धनी भनिएका सत्रुधन कुमार ठाकुर धनुषा बासी भए पनि अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ भनी रसिदमा झुठो विवरण उल्लेख छ । अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले वडामा दर्ता नै नभएको जग्गाको रसिद काट्नुमा ठूलै चलखेल भएको हुनसक्ने आशंका गरे । जग्गाको चारकिल्ला प्रमाणितका लागि सिफारिस माग्न आएपछि आफूले अर्कै वडाबाट रसिद लिएको थाहा पाएको उनले बताए । उनले वडामा दर्ता नै नभएको जग्गाको रसिद काट्ने कर्मचारीहरुमाथि छानबिन गरी कारबाही हुने बताए । बजार ब्यबस्थापन समितिले हाल बजार लागेको जग्गा २०४४ सालमा तत्कालीन सगरमाथा अञ्चलाधीश सूर्य बहादुर सेन ओलीले बजारको उद्घाटन गरेको जनाउँदै जग्गा बजारको भएको दाबी गरेको छ । ३६ बर्ष भन्दा लामो इतिहास बोकेको बजारको जग्गा राजेश्वर प्रसाद सिंहबाट नामसारी गरी २०७२ जेठ २२ गते राजविराजका राजेश दासले लिएका थिए ।

एक बर्ष नवित्दै राजेश दासले राजविराज कै फुरकन अहमद खाँको नाममा २०७२ चैत २ ९ गते नामसारी गरेका छन् । खाँले २०७४ असार ६ गते धनुषाका सत्रुधन कुमार ठाकुर लाई जग्गा नामसारी गरेको छ । ३६ बर्ष अघि तत्कालीन जग्गा धनी देबी नारायण सिंहले बजारलाई तत्कालीन सीतापुर गाविस वडा नम्बर ७ ( क) कित्ता नम्बर ६५५ भएको १ बिधा २ कठ्ठा १७ धुर जग्गा दान गरेपछि बजारकालागि आश्यक पूर्वाधारहरु निर्माण ग्रामीण विकास केन्द्रले गरेर बजार लागेको बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीले बताए । उनका अनुसार तत्कालीन श्री ५ ऐश्वर्य राज्य लक्ष्मी देबी शाहको ३९औं जन्मोत्सव अवसर पारेर २०४४ सालमा तत्कालीन अञ्चलाधीश सूर्य बहादुर सेन ओलीले बजारको उद्घाटन गरेका थिए । उनले बजार लाग्दै गरेको जग्गा बजारको ऐतिहासिक आधारमा पनि बजारकै भएको दाबी गरे । उनले भूमाफियाहरुले जग्गा हडप्नको लागि विभिन्न जालझेल गरेपछि जग्गाधनी भई बजार विस्थापित गर्न खोजेको आरोप लगाए । आर्थिक प्रलोभनमापरि कर्मचार ीहरुले भूमाफियाहरुलाई सघाएको बताउदै अध्यक्ष चौधरीले सार्वजनिक जग्गा कब्जामा संलग्न कर्मचारीहरुलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।

Comment


Related News