अपडेट 
२०८० भाद्र ५, मंगलवार ०७:२२

आएल सावन मास झुला झुलु सरकारझुला झुलिलिये लाले फुलवरियामे (अर्थात साउन महिना पिङ खेल्नु, पिङ खेल्छन् फूलबारीमा सरकारले) अहिले जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा यस्ता लोकगीत र लोक धुनसँगै झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाएको पाइन्छ । प्रत्येक वर्ष साउन शुक्ल तृतीयादेखि मिथिलाञ्चलसहित तराई– मधेशका जिल्लामा रहेका मठ मन्दिरहरूमा मनाइने झुलनोत्सव पर्वको रमझम जनकपुरमा सुरु भएको छ । आइतबार साँझ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको बाह्र बिघा रङ्गभूमि मैदानमा मणिपर्वविधि सम्पन्न भएपछि प्रत्येक राति झुलनोत्सव पर्व मनाइने गरिन्छ ।

साउन शुक्ल तृतीयाबाट सुरु भई पूर्णिमासम्म १५ दिन मनाइने यस पर्व साउनमा अधिकमास परेकाले ढिलो सुरु भएको हो । तिथिको हिसाबले भने त्यही रहेको संस्कृतिविद् बताउँछन् । जनकपुरधामको जानकी मन्दिरसहित अन्य मठ मन्दिरमा हिजोदेखि झुलनोत्सव सुरु भएको छ । भगवान् श्रीरामजानकीसहितका देवीदेवतालाई झुलामा सजाएर राखी झुलाउँदै भजनकिर्तनसहित प्रत्येक साँझ मठमन्दिरमा पूजाआराधना गरी यो पर्व मनाइन्छ ।

मिथिलाञ्चलमा कृषि रोपाइँ सकिने बितिकै झुला उत्सवको रौनक सुरु हुन्छ । यस क्रममा प्रत्येक मठमन्दिरमा कजरी र मलार जस्ता गीतको स्वर लहरी सुनिन्छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोसन दास बैष्णवले झुलनोत्सव पर्व मिथिलाञ्चल क्षेत्रसहित भारतको विहार राज्यको तिरहुत, जनकपुरको जानकी मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठलगायत धनुषा, महोत्तरी, सर्लाही, सिरहा, रौतहट, सप्तरी, पर्सा, बाराका विभिन्न मठ मन्दिरमा धुमधामका साथ मनाइने धार्मिक परम्परा रहेको बताउनुभयो । गाउँले लोकजीवन, हावापानी र माटोसँग प्रत्यक्ष सम्बन्ध राख्ने झुलनोत्सव मैथिली परम्पराको मौलिक संस्कृति रहेको उनले बताउछन् ।

यस पर्वको अवसरमा प्रत्येक मठ मन्दिरमा मणिपर्वत पर्व हर्षोल्लासका साथ सम्पन्न गरिन्छ । पर्व सुरु हुनुभन्दा अगाडि मठ मन्दिरबाट लावालस्कर बाजागाजा तथा मङ्गलगानसहित धार्मिक जुलुस निकाली पर्वको सुरुवात गरिन्छ । मणिपर्वत पर्व भगवान् राम र सिताको शुभविवाह कै पालादेखि मनाइँदै आइएको पण्डित इन्द्रकान्त झा शास्त्रीले बताउनुभयो । उहाँका अनुसार झुला उत्सवको पहिलो दिनलाई मणिपर्वतको झुला भनिन्छ । उक्त दिन जनकपुरधामका ५२ कुटीबाट डोलामा रामसीताका मूर्ति राखि रङ् गभूमिमा ल्याएपछि जानकी मन्दिरका महन्तद्वारा उत्सवको शुरुवात गरिन्छ ।

मणिपर्वत झुला उत्सवका दिन जानकी मन्दिर, राममन्दिर र लक्ष्मण मन्दिरका मूर्तिलाई एकै ठाउँमा राखी झुलाउने गरिएको शास्त्रीले जानकारी दिनुभयो । उहाँका अनुसार यसदिन टाढा टाढाबाट श्रद्धालुहरु झुलामा आउने भएकाले यहाँ मेला लाग्ने गर्दछ । झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि भएको मानिन्छ । “सन्त खुला चौरमा अथवा कुनै रुखको छहारीमा बास बसे पनि झोलामा श्रद्धासाथ ल्याइएका शालीग्रामलाई आसनमा राखि झुलाउने गर्दथे”, शास्त्रीले भन्नुभयो, “यो परम्परा त्यसैबेलादेखि सुरुवात भएको विश्वास गरिन्छ ।” उहाँका अनुसार सीताको माइतीमा दाइजोका रुपमा प्राप्त मणि महलमा राख्ने ठाउँ नपाएर बाहिर राख्दा पहाड नै भएको थियो । सोही स्मृतिस्वरुप झुला उत्सवको प्रारम्भमा रङ्गभूमिमा सोमबार पनि मणिपर्वत मनाउने परम्परा रहेको उनले बताए । “त्रेतायुगमा भगवान् राम र सीताको शुभविवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले आयोध्यावासीलाई उपहारस्वरुप दिएको सुनचाँदी तथा मणिको भार मिथिलाको राजधानी जनकपुरधामको रङ्गभूमि मैदानमा थुपारिएको रामायण तथा धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार यो पर्व प्राचीन समयदेखि रहिआएको जनविश्वास छ”, शास्त्रीले भन्नुभयो ।

राधा, कृष्ण, सीता र रामको मन्दिरमा पूजापाठ गरी भगवानका प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुल्याउने भएकाले यस पर्वलाई झुलनोत्सव भनिएको उहाँले जानकारी दिनुभयो । यस पर्वमा भक्तजनले रातभरि भजनकीर्तन र नाचगान गरेर मनाउने गर्दछन् । मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरि झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् सम्पन्न गर्ने धार्मिक परम्परा रहेको धनुषा महेन्द्रनगरका पण्डित तथा शिक्षक लालबाबु झाले बताउनुभयो । उहाँका अनुसार झुला पर्व त्रेतायुगदेखि प्रारम्भ भएको मानिन्छ । सांस्कृतिक परम्पराका रुपमा प्राचीन राजधानी जनकपुरधामलगायत प्रायः अन्य मठमन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाका लागि सिङ्घासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखि झुलाउने परम्परा रहेको छ ।

Comment


Related News