अपडेट 
२०८० भाद्र ५, मंगलवार ०७:५८

परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय तहलाई भौतिकरूपमा सुविधा सम्पन्न बनाउन सकिए जनताले पनि सहजरूपमा सेवा पाउने बताएका छन् ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा सोमबार मन्त्री साउदले जनताको सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय तह जति सुविधा सम्पन्न भए जनताले त्यति नै सहजरूपमा सेवा सुविधा पाउने बताए । स्थानीय तहलाई भौतिकरूपमा सम्पन्न बनाउन सङ्घीय सरकारले सहयोग गर्ने उल्लेख गर्दै मन्त्री साउदले भौतिक पूर्वाधारको विकाससँगै सेवा प्रवाहमा पनि सुधार आवश्यक रहेको बताए । शिक्षा नै मुलुकको मेरुदण्ड भएकाले शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको औँलयाउँदै उनले शिक्षा प्रणालीमा सुधार ल्याउन विद्यालयमा देखिएको शिक्षक अभावलगायतको समस्या समाधानका लागि सरकारले शिक्षा क्षेत्रको बजेटमा वृद्धि गरेको उल्लेख गरे । उनले विद्यालयहरूमा कक्षा कोठासँगै प्रयोगशालाको व्यवस्थापनमा ध्यान दिनु जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री र नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले स्थानीय सरकारले भौतिक विकाससँगै जनताको जीवनस्तर उकास्ने योजना बनाउनुपर्ने सुझाव दिए । सो अवसरमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा दान दिएका स्थानीय समाजसेवी मनोज चौधरीलाई मन्त्री साउदले दोसल्ला ओढाएर सम्मान गरे । कूल छ करोड नौ लाखमा निर्माण हुने प्रशासकीय भवनमा कार्यालयसँगै, सभाहललगायतका भवन निर्माण हुने गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले जानकारी दिए । सो भवन अगामी दुई वर्षमा निर्माण गरी निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गर्ने सहमति भएको अध्यक्ष चौधरीले बताए ।

Comment


Related News

Latest News

Trending News