अपडेट 
२०८० भाद्र ५, मंगलवार १५:३८

सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ । आज मङ्गलवार सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजाे सोमवार बोलाउनुभएको सर्वदलीय बैठकमा सरकार सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखक र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहनुभएको कार्यदललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो । त्यही जिम्मेवारीअनुसार आफूहरूले मस्यौदा तयार पारेको र अब केही बेरपछि बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।

प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी प्रकरणकाे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गएकाे साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएकाे छ । हिजो बसेको बैठकमा भने सत्तापक्ष उच्चस्तरीय समिति बनाउन सहमत भएपछि दलहरूले त्यसको मस्यौदा तयार पार्न कार्यदल नै गठन गरेका थिए ।

अब बस्ने सर्वदलीय बैठकले उच्चस्तरीय समितिकाे प्रारम्भिक मस्यौदामाथि छलफल गरी समितिको कार्यादेश र संरचना टुङ्गो लगाएपछि संसद् बैठक शुरु हुने नेताहरूले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News