अपडेट 
२०८० भाद्र ६, बुधबार ०८:१८

सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ बथनाहा बस्ने एक दम्पती विरुद्ध नागरिकता सम्बन्धी कसुरमा परेको जाहेरी उपर अनुसन्धान सुरु भएको छ ।

झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै विजय कुमार मण्डल र उनका पत्नी अम्बिका विरुद्ध सोही वडाका भिखारी मण्डलले तीन दिन पहिला जिल्ला प्रशासन कार्यालय सप्तरीमा जाहेरी दरखास्त बुझाए पछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा लेखी पठाए पछि मंगलवार देखि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । “प्राप्त जाहेरी उपर आवश्यक अनुसन्धान थालिएको छ , एक प्रहरी अधिकारीले भने ।” जाहेरी दरखास्तमा भारत बिहार राज्य, जिल्ला मधुवनी, प्रखण्ड खजौली मुख्यग्राम चंद्रडिह पंचायत वडा ८ का ४५ वर्षीय अम्बिका कुमारी मण्डलले झुटो विवरण पेश गरी २०६३ साल चैत्र २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट बंशजको (ना.प्र.नं १६३०८६/४२५) नागरिकता प्राप्त गरेको उल्लेख गरिएको छ ।

जाहेरीकर्ता भिखारी मण्डलका अनुसार अम्बिका अहिले पनि भारतको चंद्रडीह ग्रामपंचायत वडा ८ स्थित सरकारी नव सृजित प्राथमिक विद्यालयमा शिक्षिकाको रुपमा कार्यरत छन् । भारत विहार राज्यको निर्वाचन आयोगद्वारा जारी २०२३ को मतदाता सूचिमा अम्बिकाको मतदाता क्रम संख्या २६४, गृहसंख्या २५ र पिनकोड ८४७२२८ रहेको छ । यस्तै पतिको नाम विजय कुमार मण्डल तथा बुवाको नाम सीता राम मण्डल उल्लेख छ । तर अचम्मको कुरा के छ भने अम्बिकाले नेपालबाट प्राप्त गरेको नागरिकतामा श्रीमानको नाम विजय कुमार मण्डल रहेपनि बुवाको नाम अन्तराम मण्डल उल्लेख छ ।

एउटै व्यक्तिले भारतमा अर्कै र नेपालमा अर्कै बुवाको नाम राखी झुटो विवरण पेश गरी नागरिकता लिएको दाबी गर्दै भिखारीले यसको सूक्ष्म अनुसन्धान गरिए सबै सत्य तथ्य बाहिर आउने जाहेरी दरखास्तमा उल्लेख गरेका छन् । भिखारीले प्रमाणका रुपमा अम्बिकाले भारत सरकारबाट प्राप्त गरेको मतदाता परिचय पत्र तथा अन्य कागजातहरु पेश गरेका छन् । यस्तै उनका श्रीमान विजयले पनि झुटो विवरण पेश गरी भारत र नेपाल दुबै देशको नागरिकता लिएको जाहेरीमा उल्लेख गरिएको छ । भिखारीले प्रमाणका रुपमा विजयले पनि भारत सरकारको निर्वाचन आयोगबाट प्राप्त गरेको परिचय पत्र जाहेरी संगै पेश गरेका छन् ।

उक्त परिचय पत्रमा विजय कुमार मण्डलको ठेगाना भारत विहार राज्य, जिल्ला मधुवनी, प्रखण्ड खजौली, मुख्यग्राम चन्द्रडीह पंचायत वडा नं ८, मतदाता क्रम संख्या ९४ गृहसंख्या २३ र पीनकोड ८४७२२८ रहेको उल्लेख छ । विजयले २०४४ साल चैत ८ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट प्राप्त गरेको नागरिकता (ना.प्र.न १७२१२६९५) मा ठेगाना सप्तरीको तत्कालिन औरही गा.वि.स.५ (हाल डाक्नेश्वरी नगरपालिका ६)उल्लेख छ । जाहेरी दरखास्त मार्फत झुटो विवरण पेश गरी अम्बिकाको नेपाली नागरिकता निकाल्ने क्रममा नक्कली बुवा बनेर सघाएका डाक्नेश्वरी नगरपालिका ६ का ७५ वर्षीय अन्तराम मण्डल माथि समेत नागरिकता कसुर सम्बन्धी मुद्दा चलाउन अनुरोध गरिएको छ । जाहेरीमा मण्डल दम्पती भारतीय नागरिक रहेको दाबीका साथ झुटो विवरण पेश गरी नागरिकता निकाल्ने कार्यमा संलग्न तीनै जना माथि नेपालको नागरिकता ऐन २०६३ को दफा १० (१) १२ र १४ मा भएको कानुनी व्यवस्था अनुसार कारबाही प्रकृया अघि बढाउन माग गरिएको छ ।

भिखारीले जाहेरी झुटा ठहरिए कानुन बमोजिमको सजाय भोग्न समेत तयार रहेको उल्लेख सहित प्रहरी अनुसन्धान वा अदालतमा मुद्दा चल्दा खोजेको बखत उपस्थित हुने जाहेरी दरखास्तमा उल्लेख गरेका छन् । डाक्नेश्वरी नगपालिका भारतीय सीमासंग जोडिएको नगरपालिका हो । एक महिना अघि मात्र नेपाल र भारत गरी दुबै देशको नागरिकता लिएको आरोपमा सो नगरपालिकाकी उपमेयर मीरा कुमारी यादव र उनका श्रीमान महेन्द्र प्रसाद यादव पक्राउ परेका थिए । नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ परेकी उप प्रमुख मिरा २३ दिनको प्रहरी हिरासत पश्चात अहिले सप्तरी जिल्ला अदालतको आदेशले १ लाख धरौटी बुझाई तारेखमा रिहा भएकी छन् भने उनका श्रीमान महेन्द्र पुर्पक्षका लागी अहिले पनि राजविराज कारागारमा छन् ।

Comment


Related News

Latest News

Trending News