अपडेट 
२०८० भाद्र ६, बुधबार ०९:०३

आधुनिक जनकपुरधाम निर्माणमा रामस्वरूप साह र रामसागर साहको भूमिका प्रमुख रहेको कुरा कसैबाट लुकेको छैन । वहाँ दुबै भाइको योगदानलाई वहाँहरूकै छोराहरू निरन्तरता दिदै आएका छन् । त्यसैमध्येका रामचन्द्र साह प्रमुख पात्र थिए ।

वहाँको जन्म वि.स. १९८० मा रामनवमीका दिन पिता रामस्वरूप साह तथा माता श्रीमति लालो देवीको कोखबाट जन्मेका थिए भने वहाँको मृत्यु भदौ १ गते शुक्रवार विहान भएको थियो । ९५ वर्षसम्म बाँचेर समाजलाई प्रदान गरेका असल कुराहरूले सधैं अमर रहनु हुनेछ । रामनवमीका दिन जन्मेका हुनाले वहाँको नाम रामचन्द्र राखिएको हुनुपर्छ । वहाँको अर्की माताको नाम श्रीमति रामसती देवी थियो । वहाँ निःसन्तान हुनुहुन्थ्यो । वहाँ साँचै नाम अनुसारको काम गर्दै आउनु भयो । शिक्षातिर हेर्दा वहाँ वाणिज्यमा स्नातकोत्तर र कानुनमा स्नातक (एलएलबी) उपाधि पाएर पनि सादा जीवन र उच्च विचारसँग आफ्नो जीवनलाई सधैं स्थापित गरिराख्नु भयो । वहाँमा घमण्ड भने कुरा रतिभर पनि थिएन । सामान्य बच्चादेखि बृद्धबृद्धासम्मका मानिसहरूसँग एकनासको व्यवहारले सबैले वहाँलाई समान रूपले आदर गर्थे । रामचन्द्र साहले आफ्ना पिता र काकाले स्थापित गरेका बाटोलाई कहिले पनि छाड्नु भएन ।

वहाँको परिवारले शिक्षा, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, खानेपानी तथा सामाजिक कामलाई निरन्तरता दिन एउटा ‘धर्म संस्था’ नाम गरेका संस्थालाई ट्रस्टको रूपमा स्थायी रूपले स्थापित गरेका छन् । यस संस्थामा जिन्सी, नगदी, सम्पूर्ण आम्दानी र खर्च वहाँका परिवारले दान गरेका जग्गा जमीन तथा नगदबाट परिपूर्ति गरिन्छ । वहाँका परिवारको विभिन्न क्षेत्रमा ठूलो लगानी देखिन्छ । शिक्षामा त नेपालमा मात्र होइन, भारत विहारको मधुबनी जिल्लामासमेत लगानी गरी दातामध्ये अगुवाइ गर्ने महान व्यक्तित्वको रूपमा परिचित हुनुभयो । शिक्षाको क्षेत्रमा जनकपुरधाम अन्तर्गत सरस्वती मा.वि., सकल भवन कन्या मा.वि., रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, मुजेलिया स्थित मा.वि., विहार, मधुवनी जिल्ला अन्तर्गत महिनाथपुरको संस्कृत महाविद्यालय, बेङ्गाडाबरका विद्यालय जस्ता अनेकौं विद्यालय निर्माण गर्नु भयो । यस्तै सरस्वती मा.वि., कन्या मा.वि. र मुजेलिया मा.वि. का सम्पूर्ण जग्गा र पूर्वाधार तयारमा लाग्ने खर्च समेत बेहोर्नु भएको थियो । उच्च शिक्षाका लागि, रा.रा.ब. क्याम्पसको सुरुआती अवस्थामा ७५ विघा जग्गा दान र सुरुआती कालमा सम्पूर्ण संरचना निर्माण गरी जनकपुरधामको क्षेत्रमा शिक्षाको व्रmान्ति नै ल्याएका थिए ।

त्यस्तै स्वास्थ्यतिर हेर्दा अहिलेको मधेश चिकित्सा शिक्षा प्रतिष्ठानको सुरुआती अवस्थामा चाहिने जति भौतिक पूर्वाधार तयार गरी स्वास्थ्य सेवा शुरू गर्न सहयोग गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्र वहाँको लगानी छैन ? धार्मिक क्षेत्रमा पनि उतिकै लगानी छ । धार्मिक क्षेत्रतिर जाँदा जनकपुरधामको शिवचोक स्थित विशाल शिव मन्दिर, गंगासागर घाट तथा धर्मशाला निर्माण, जटहीमा जमुनी नदीमा पुल र त्यहाँ स्थापित महादेव मन्दिर, मुजेलियामा धर्मशाला र मन्दिर निर्माण, रत्नसागर पोखरीको उत्तरवारी डीलमा मन्दिर निर्माण, तुलसी स्मारक निर्माण, धनुषाको कुशमाहा सतोषर स्थित मन्दिर निर्माण जस्ता महत्वपूर्ण योगदानले वहाँलाई मिथिलावासी सधैं स्मरण गरिरहने छ । यतिमात्र कहाँ हो र ! यसकासाथै यस क्षेत्रको कुशमाहा, गम्हरिया, पर्सा, बगरा सहितका ठाउँमा अहिलेसम्म ३ सय ४२ विघा जग्गा दानगरी समाजका लागि शिक्षाका मन्दिर, धर्मशाला, धार्मिक मठमन्दिर स्थापना गरेका ट्रस्टका संचालक उपसभापति र सभापति हुँदै ४२ वर्षदेखि परिवारमा अभिभावकीय भूमिका प्रदान गर्दै आएका साह जनकपुरधामलाई सदाका लागि छाडेर जानु भएकोमा यहाँका सम्पूर्ण मानिसहरू स्तब्ध छन् । जनकपुरधामको शिवचौकमा स्थापित शिव मन्दिर निर्माणको सिलसिलामा काठका लागि जिल्ला विकास समिति धनुषामा उहाँ जाँदा उहाँभन्दा केही समय पहिलेदेखि म पनि त्यहीं बसेको थिएँ ।

वहाँ नआइदिएको भए मलाई स्थानीय विकास अधिकारीले स्कूलका लागि उपलब्ध ७१३ क्यू.फी. काठ दिने थिएन होला । तत्समयमा म (लेखक) धनुषा जिल्ला स्थित हरिने गा.वि.स. अन्तर्गत नि.मा.वि. टेढाका प्रधानाध्यापकको रूपमा कार्यरत थिए । त्यस स्कूलले पनि जिल्ला विकास समितिबाट ७१३ क्यू. फीट काठको अनुमति पाएको थियो । अनुमति लिन जाँदा स्थानीय विकास अधिकारीले स्कूल निर्माण गर्न बैंकमा कति रकम छ ? उत्तरमा मेरो जबाब थियो बैंकमा जिरो बैलेन्स छ । वहाँले फेरि प्रतिप्रश्न गर्नु भयो कि तपाईं कसरी विद्यालय निर्माण गर्ने त ? मैले उत्तरमा जबाब दिए–चन्दाद्वारा । वहाँले चन्दाद्वारा निर्माण हुने कुरामा विश्वस्त हुनु भएन् र मलाई काठका लागि स्वीकृति–पत्र दिन रोक्नु भयो । म एकछिन अकमकमा परेर त्यही बसि रहें । त्यसैबेला रामचन्द्रबाबु शिव मन्दिरका लागि काठको अनुमति लिन त्यहाँ चर्चा चलाउनु भयो । म हेर्दै रहे ! स्थानीय विकास अधिकारी ज्यूले जिल्ला सभापतिसँग फोनमा कुरा गर्नु भयो कि रामचन्द्रबाबु काठको अनुमति–पत्र लिन आउनु भएको छ । हजुरले पास गर्नु भएको छ कि सम्बन्धित कुरा निर्माण गर्न बैंकमा रहेका रकम हेरी मात्र काठको अनुमति पत्र दिनु । रामचन्द्र बाबुलाई म कसरी सोध्ने कि तपाईको बैंकमा कति रकम छ ? मन्दिर निर्माण कसरी गर्नु हुन्छ ? वहाँत धनको कुवेर नै हुनुहुन्छ । त्यसबेला सभापति बलरामसिंह कार्की (बाबा) हुनुहुन्थ्यो । वहाँको जबाब आयो अनुमति दिइहाल्नु ।

म त्यतिबेलासम्म त्यहीं बसेर यी सबै कुरा हेर्दै थिएँ । एक छिनका लागि म पनि मनमनै सोची राखेको थिए कि रामचन्द्रबाबुलाई काठको अनुमति दिँदा मेरो पनि दिनुपर्ने हो किनभने कानुन सबैका लागि समान हुन्छ । मलाई त्यो मौका नदिइ मलाई काठको अनुमति पत्र दिनुभयो र त्यही अनुमति–पत्रको आधारमा सर्लाहीको रानीगंज जंगलबाट ७१३ क्यू.फीट काठ ल्याएर नि.मा.वि. टेढाका लागि ८० हातलामो घर निर्माण गराएको थिएँ । काठ बाहेक बाँकी सबै कुरा चन्दाबाट पूरा गराएको थिए । यसरी संयोगले वहाँ नआई दिएको भए मैले पाउने काठ अनुमति पत्र एलडीओले झमेला गरी दिने थिएन होला । यो कुरा २०४४– ४५ सालतिरको हो । ारमा मान्छेको स्वभाव दुई प्रकारका हुँदा रहेछन् । पहिलो प्रकारका मानिसहरू कसैलाई मद्दत गर्न वा संघसंस्थालाई दान गरेर आनन्दित भएका हुन्छन् भने अर्को प्रकार दान लिने कुरामा आनन्दिन भएका हुन्छन् । रामचन्द्रबाबु पहिलो समूहका व्यक्ति हुनुहुन्थ्यो । एक चोटीको घटना हो म दरभङ्गाबाट आइरहेको थिएँ । पिपरौनको बस स्टैण्डमा बसबाट झर्दा एक जना राराबकै अर्को शिक्षक भेंट हुनुभयो । वहाँ र म एउटा रिक्शामा चढेर जमुनी नदी पार गर्दा रामचन्द्रबाबुलाई पैदलै हिडेर जटहीको बस स्टैण्डतिर जाँदै देख्यौं । हामी दुबै शिक्षकले सोच्न थाल्यौ कि रामचन्द्रबाबु जो राराबका दाता हुनुहुन्छ, वहाँ पैदल हिडदा हामी कसरी रिक्सामा चढेर अगाडि बढ्ने हो ? हामी दुई जना रिक्शाबाट ओर्लेर रामचन्द्रबाबुलाई सादरपूर्वक आग्रह गर्न थाल्यांै कि तपाईं यसै रिक्शामा बस्नुस् । हामी अर्को रिक्सा मिलाउँछौं ।

वहाँलाई जति आग्रह गरे पनि मान्नु भएन । वहाँ पैदलै हिड्न लाग्नु भयो । हामी लज्जित भएर पनि के गर्ने ? अर्को विकल्प पनि थिएन । वहाँले के सोचेको हुनुपर्छ भने मैले वहाँहरूले तीरेको रिक्शामा कसरी चढ्ने ? अर्को कुरा यो पनि हुन सक्छ कि वहाँ हाम्रै क्याम्पसका गुरुहरू छन् । वहाँहरूलाई दुःख दिएर म रिक्शामा कसरी चढ्ने ? यस्ता विचारलाई हेर्दा हामी सोच्न लाग्यौं कि वास्तवमा वहाँ सादा जीवन र उच्च विचारका मानिस हुनुहुँदो रहेछ । हुनत वहाँको परिवार बारे पहिलेदेखि अलिकति जानकारी सुगानिकास निवासी शिवदयाल साहजीबाट पनि पाएको थिएँ । म विद्यार्थी हुँदा बाबुजीसँग मूर्ति बनाउन जान्थें । यसै सिलसिलामा सुगानिकासमा शिवदयाल साहजी कहाँ १०–१२ वर्ष जति दुर्गा भगवतीको मूर्ति बनाउने मौका पाएको थिएँ । शिबदयालजी पनि एउटा सामाजिक कार्यकर्ता हुनुहुन्छ । त्यस बेला त विद्यार्थी नै हुनुहुन्थ्यो । वहाँको के भनाइ थियो भने मेरो परिवारका लागि पनि मुजेलियाका रामस्वरूप रामसागरका परिवार आदर्श हुन् । त्यसैबेलादेखि म पनि यस परिवारसँग साक्षात्कार भएर नजिक हुन चाहन्थे तर त्यस्तो संयोग मिलेन । रामचन्द्रबाबु साँचैकै दानवीर हुनुहुन्थ्यो । वहाँ दान दिन जान्दथे, लिन त कुरै भएन । म राराबमा कार्यरत रहेकै बेला वहाँको चचेरा भाइ फुलगेन साहको देहावसान हुँदा श्राद्ध कार्यक्रमको अन्तिम दिनमा विशाल भोजको योजना थियो । त्यस भोजमा हामी राराबका तमाम शिक्षक कर्मचारीहरूलाई आमन्त्रण थियो ।

त्यहाँ पुग्दा गेटमा मोटो अक्षरले के लिखेको थियो भने यस भोजमा कुनै किसिमको नगदी वा जिन्सी दान गर्न मनाही छ । मैले विचार गरे श्राद्ध क्रियामा जाँदा चुमाउनमा जति अतिथि उपस्थित हुन्छन् सबैले सक्दो नगदी र चादर दिने चलन रहेछ । यसै चलन अनुसार म पनि ५००।– जति नगदी खल्तीमा राखेर गएको थिएँ तर त्यो पनि खल्तीमा फिर्ता आयो । यसरी कतिपय जाँचको ठाउँमा वहाँ वास्तविक दानवीर हुनुहुन्थ्यो भने कुरामा खरो उत्तर्नु भएको थियो । यहाँ संततुलसी दासको एउटा दोहा सान्दर्भिक देखिएकोले उल्लेख गरिन्छ ः तुलसी पक्षीको थिए, घटेना सरिता नीर । धर्म किए धन ना धटे, जो सहाय रघुवीर ।। दानवीर रामस्वरूप रामसागर साहको परिवारका ज्येष्ठ सुपुत्र रामचन्द्र साहको विहिबार राति मिल्स एरिया स्थित निवासमा निधन भएको थियो । वहाँको रत्नसागर स्थित पैतृक श्मशान घाटमा अन्तिम संस्कार गरिएको थियो । वहाँको जेठा छोरा ताराचन्द्र साहले आगो प्रज्वलन गरी दागवत्ती दिनु भएको थियो । वहाँको जेठा छोरा अविवाहित हुनुहुन्छ । माहिला छोरा ई. प्रकाशचन्द्र साह जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुनुहुन्छ भने यसका साथै विभिन्न संघसंस्थासँग आबद्ध हुनुहुन्छ । कान्छा छोरा सुभाषचन्द्र साह नेपाल दुरसञ्चार संस्थानमा निर्देशक पदबाट निबृत हुनुहुन्छ ।

वहाँको निधनमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका साथै पूर्व उपप्रधानमन्त्रीहरु, वर्तमान सांसदहरु, प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरु लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो । निष्कर्षतिर लाग्दा जनकपुरधामले एउटा सच्चा समाजेवी तथा अभिभावक गुमाएको छ । यसबाट जनकपुरधामका तमाम बासिन्दाहरू निकै स्तब्ध भएका छन् । जनकपुरधामबासी वहाँको मृत्यु सुनेर वहाँको आत्मालाई चिरशान्ति मिलोस् र परिवारलाई यस शोकमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्ने सुमेच्छा प्रकट गरेका छन् । हुनत वहाँको परिवारले निजी ट्रस्ट बनाएर दानवीरको निरन्तरता सधै कायम रहोस् भने सोचले अगाडि बढेको देखिन्छ । भविष्यमा पनि दानवीरबाट पछि हट्नु हुन्न भने विश्वास साथ आजको सातौं दिनको पुण्यतिथिमा वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वहाँको मृत आत्मामा कोटी कोटी नमन । इतिश्री ।

Comment


Related News

Latest News

Trending News