अपडेट 
२०८० भाद्र ७, बिहीबार ०७:२२

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले ट् याक्टर खरिदमा व्यापक अनियमितता गरेको पाइएको छ । वीरगञ्ज महानगरले साढे ५ लाख भन्सारमा पर्ने ट्याक्टर साढे ९ लाखमा खरिद गरेको छ ।

वीरगञ्ज महानगरले फोहोर संकलनका लागि ३२ वटै वडाका लागि गत वैशाखमा ३२ वटा ट्याक्टर र टेलर खरिद गरेको थियो । एउटा ट्याक्टरका लागि महानगरले ९ लाख ५० हजार र टेलरको २ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको छ । पहिलो पटकको बोलपत्र आह्वान हुँदा ५ वटा कम्पनीले आवेदन दर्ता गराएका थिए । तर, प्राविधिक कारण देखाउँदै महानगरले उक्त बोलपत्र रद्द गरेको थियो । ट्याक्टर खरिदका लागि महानगरले दोस्रो पटक बोलपत्र आह्वान गर्दा एउटा मात्र कम्पनीले आवेदन दिएको थियो । त्यही कम्पनीबाट महानगरले ३ करोड ९२ लाखमा ३२ वटा ट्याक्टर र टेलर खरिद गरेको छ । बजार मूल्य ६ लाख ६० हजार पर्ने ट् याक्टर महानगरले ३ लाख बढी मूल्यमा खरिद गरेको पाइएको छ ।

महानगरको यान्त्रिक शाखाका अनुसार फोहोर संकलनका लागि २४ एचपीको २४२ मोडलको आइचर कम्पनीको एक सिलिन्डरको ट्याक्टर खरिद गरिएको छ । महानगरले खरिद गरेको उक्त ट्याक्टर वीरगञ्ज भन्सार विन्दुमा जाँचपास भइसकेपछि ५ लाख ५१ हजार रुपैयाँ मूल्य पर्ने गरेको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार भारतबाट आयात भएको उक्त मोडलको आइचर ट् याक्टरको मूल्य आयातकर्ताले ३ लाख १६ हजार ८ सय ३५ भारु घोषणा गरेका छन् । एउटा ट्याक्टरको भन्सार विन्दुसम्मको ढुवानी भाडा र बीमा गरी १३ हजार ७५ भारु उल्लेख गरिएको छ । आयातमा लाग्ने ५ प्रतिशत भन्सार महसुल दाखिला गरी आयातकर्ताले ३ लाख ४४ हजार ८८० भारु ( ५ लाख ५१ हजार रुपैयाँ ) मा ट्याक्टर जाँचपास गराएको भन्सारको तथ्यांकमा देखिन्छ ।

ट्याक्टर खरिदका लागि महानगरपालिकाले पहिलो पटक गत असोज २६ मा बोलपत्र आह्वान गरेको थियो । ओमनी अटो मोबाइल्स, अर्थ आटोबिल्स, तुलस्यान ट्याक्टर, नेपाल ट्रेड एण्ड सर्भिस लिंक र खेसारी चन्द्र वणवालले आवेदन दर्ता गराएका थिए । बोलपत्र मूल्यांकन समितिले प्राविधिक कारणले सबैको आवेदन खारेज गरेको थियो । करिब ६ महिना पछि दोस्रो बोलपत्र आह्वान गरियो । एउटा मात्र, विना एग्रो इन्टरप्राइजेज प्रालिको आवेदन दर्ता भयो । मूल्यांकन समितिले उसकै बोलपत्र सदर गरेको थियो । विना एग्रो प्रालि पहिलो पटक बोलपत्र आह्वान हुँदा आवेदन दिएको थिएन । महानगर स्रोतका अनुसार पहिलो बोलपत्रमा ‘आर्थिक मिलेमतो’ हुने सम्भावना नदेखिएपछि प्राविधिक कारण देखाएर रद्द गरिएको थियो ।

पहिलो बोलपत्रमा आवेदन दर्ता गराएका एक अटोमोबाइल व्यवसायीले महानगरले मिलेमतोमै ट्याक्टर खरिद गर्ने देखिएपछि दोस्रो पटकको बोलपत्रमा सहभागी नभएको प्रतिक्रिया दिएका छन् । ‘आफू निकटका व्यवसायीलाई नै ट्याक्टरको ठेक्का दिने मनसाय बुझेपछि हामीले दोस्रो पटकको बोलपत्र खरिद नै गरेनौँ,’ उनले भने, ‘पहिलो बोलपत्रमा न्यूनतम नाफा राखेर बोलपत्र आवेदन दर्ता गराएका थियौं ।’ बोलपत्रमा ३ सिलिन्डरको ट्याक्टर माग हुँदा प्रति ट्याक्टर मूल्य १३ लाख २५ हजार राखिएको थियो भने दोस्रो पटक टेलरसहित १ सिलिन्डरको ट्याक्टरको बोलपत्र आह्वान गर्दा १२ लाख ५० हजार रुपैयाँ मूल्य राखिएका थियो ।

बिना एग्रोले टेलरसहित १२ लाख २५ हजार रुपैयाँमा दर्ता गराएको आवेदन स्वीकृत भएको छ । प्रति ट् याक्टरको ९ लाख ५० हजार र टेलरको २ लाख ७५ हजार रुपैयाँ बिना एग्रोले भुक्तानी लिएको छ । ६ लाख ६० हजार रुपैयाँसम्ममा पाइने एक सिलिन्डरको ट्याक्टर महानगरले किन ९ लाख ५० हजार रुपैयाँमा खरिद गरेको भन्ने प्रश्नमा यान्त्रिक शाखा प्रमुख मनोज कर्णले ‘बजार मूल्य तलमाथि भइराख्ने र नगदमा खरिद गर्दा केही छुट पाइने हुनाले केही अन्तर देखिएको हुनसक्छ’ भनि प्रतिक्रिया दिए । ‘सबभन्दा सस्तो र इन्धन कम खपत हुने ट्याक्टर खरिद गरेका छौँ,’ उनले भने, ‘कुनै प्रक्रिया लुकाएर गरेका छैनौं ।’ विना एग्रोका एकजना सेल्सम्यानले सर्वसाधारणले खरिद गर्दा र स्थानीय तहले खरिद गर्दा छुट्टाछुट्टै मूल्यको बिल बन्ने गरेको बताए । ती सेल्सम्यान भन्छन्, ‘सर्वसाधारणले खरिद गर्दा कसैलाई कमिसन चाहिदैन । तर, जब पालिकाको लागि ट् याक्टर खरिद हुन्छ, त्यसमा हाकिम, लेखा, खरिद समिति, प्रमुख र उपप्रमुख सबैलाई कमिसन छुट् याएर बिल बनाउनुपर्छ ।’ ट्याक्टर भारतबाट आयात गरी आपूर्ति गरेको बिना एग्रोले टेलर भने स्थानीय व्यवसायीबाटै बनाउन लगाई महानगरलाई उपलब्ध गराएको छ । व्यवसायीका अनुसार टेलरमा समेत बढीको बिल बनाएर चलखेल गरिएको छ । फोहोर संकलनका लागि बनाइएको ती टेलरहरुको बिलमा पनि प्रति टेलर ५० हजार रुपैयाँ बढी अनियमितता भएको छ ।

Comment


Related News

Latest News

Trending News